भूकम्पलाई गाली होइन माया गरौं



२०७२ वैशाख १२, भूकम्पले बेसरी हल्लाएको दिन । चार वर्षपछि आज त्यही दिन परेको छ । साँच्चै भन्ने हो भने त्यो दिनको सम्झनामा मैले धेरै रुनुपर्नेथ्यो । किनभने मेरो त झन्डै अस्तित्व नै समाप्त भाथ्यो । तै तै थोरै भए पनि रहेर आजसम्म काठमाडौं उपत्यकाकै सही हेरविचार गरेर जनतालाई सुसूचित गराउन पाएको छु । त्यसैमा मख्ख छु ।

हिजो बिहान झन्डै सात्तो गाथ्यो । एकाबिहानै पूरै काठमाडौं हल्लियो । जनताको होस हवास उडेको त देखियो । तर मेरो होस हवास उडेको देख्ने कोही भएन । ४–४ वर्ष भइसक्यो मेरो पुनर्निर्माणले गति लिन सकेको छैन भन्ने चिन्ता भने छ है । यस्तै ठूलो भूकम्प ८० वर्ष पहिले आथ्यो ।

त्यति बेला मेरो आधाउधी ढाड भाँचियो । तैरिन तैरिन बचेखुचेका भाग जोडजाड पारेर राखिदिएका थिए र यसो राजधानी नियाल्न सक्ने भाथें । तर ७२ को भूकम्पले झन्डै पूरै मासिएको थिएँ । बचेखुचेको जोडजाड पार्ने ठाउँ नभएपछि अर्कै बनाउने हल्ला ग¥या छन् । हल्लै हो कि बनाउँछन् पनि हेर्न बाँकी नै छ ।

अहिलेसम्मको अवस्था हेर्ने हो भने मेरो पुनर्निर्माण गर्लान् जस्तो लाग्दैन । राजनीतिक खिचातनीले कसरी बनाउने कसले बनाउने भन्दै ४ वर्ष बिताइदिए । बनाएनन् भने त मेरो पूरै अस्तित्व सकिन्छ । अनि जनता जनार्दनलाई यसो सम्झाउने बुझाउने कोही नहोला कि भन्ने पिर प¥या छ भन्या ।

भूकम्प आउनु दैवको खेल होइन भनेर त वैज्ञानिकले बताएकै छन् । यो नियमित प्रक्रिया पनि होइन । कहिले आउँछ र कहिले जान्छ, पत्तो नहुने अतिथि पनि त होइन । अनि माग्ने पनि त होइन नि । तपाईंको घरदैलोमा आएर केही मागेको छ र ? किन यसको सत्तोसराप गर्नु भन्या । यसलाई आउन दिनोस्, आउँछ आफ्नै बाटो जान्छ । उसले केही बिगार ग¥याजस्तो त मलाई लाग्दैन । तपाईं हामी नै अटेर गरी जमिनले थेग्नै नसक्ने संरचना बनाउँछौं अनि नभत्केर के गरोस् त ।

हाम्रै देशका राउटेलाई सोध्नोस् त किन घरजम गरेर नबसको भनेर ? उनीहरु कति बाठा, होइन त ? भौतिक संरचना नै नबनाएपछि त्यो भत्केर मार्छ कि भन्ने पिरै रहेन । अब तपाईंहरु पनि सानो छाप्रो बनाएर बस्नोस्, भूकम्प आओस् कि जाओस् कुनै मतलवै हुँदैन । अनि भूकम्पलाई सत्तो सराप गर्न पनि पर्दैन । कि कसो पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्