रुकुममा ७५ करोड बढी रकम बेरुजु



धनवीर दाहाल,रुकुम ।
रुकुममा ७५ करोड बढी रकम बेरुजु देखिएको छ । रुकुम पुर्व ३ स्थानीय तह र रुकुम पश्चिमका ६ स्थानीय तहले अनियमित तवर खर्च गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ मा ७५ करोड बढी बेरुजु देखाएको हो ।

महालेखा परीक्षकको ५६ औैं प्रतिवेदन अनुसार सो बेरुजू देखिएको हो । रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताको नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी स्थानीय सरकारको बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सबै भन्दा बढी बेरुजु रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा देखिएको छ ।

आठबिसकोट नगरपालिकामा १४ करोड बढी रकम बेरुजु देखाएको हो । त्यस्तै मुसिकोट नगरपालिकामा ९ करोड, चौरजहारी नगरपालिकामा ८ करोड, बाँफिकोट गाउँपालिकामा ६ करोड, सानीभेरीमा ७ र त्रिबेणी गाउँपालिकामा ८ करोड बढी रकम बेरुजु देखिएको छ ।

यसै गरी नयाँ जिल्ला बनेको रुकुम पूर्वमा सबैभन्दा बढी पुथा उत्तरगंगा गाउँपालिकमा १२ करोड बढी रकम बेरुजु देखिएको छ । त्यस्तै भूमे गाउँपालिकामा ५ र सिस्ने गाउँपालिकामा ६ करोड बढी रकम बेरुजु देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्