भित्री सडकमा मनलाग्दी



भित्रि सडकहरुमा नियमित गुड्ने ठूला तथा साना सवारीसाधनका चालकले निजी सवारी साधनलाई बाटो नदिने, साइड दिन नमान्ने र ट्राफिक नियमको उल्लंघन गर्दै आफूखुशी गाढी कुदाएकोे गुनासो बारम्बार आउने गरेको छ । विशेषगरि, भित्रि सडक खण्डमा नियमित गुड्ने बस तथा ठूला सवारीसाधनले साना सवारी साधनलाई हम्मेहम्मे बनाउने गरेको गुनासो निरन्तर आइरहेको छ । भित्रि सडकमा गुड्ने बसहरुले साना गाढीहरुलाई बाटो नदिई पेलेर कुद्दा साना गाढीहरुलाई समस्या परेको छ ।

विशेषगरि, स्थानिय सवारी चालकहरुले उक्त सडकखण्डमा मनोमानि तरिकाले सवारीसाधन गुडाउदा दुर्घट्नाको संभावना बढ्दै गएको छ । साईड दिन नखोज्ने र तिव्र गतिमा सवारीसाधन कुदाउँदा जिल्लाका भित्रि सडकखण्डहरुमा साना सवारीसाधनलाई समस्या देखिएको छ । उक्त विषयमा कुरा उठाउँदा स्थानिय चालकहरुले उल्टै ठूलो स्वर गर्ने र हातपात समेत गर्न खोजेको गुनासो बढ्दो छ । भित्रि सडकखण्डहरुमा ठूला सवारीसाधनको हेपाहा प्रवृत्तिले दुर्घट्नाको संभावना बढाइरहेको छ । त्यसैले, जिल्ला ट्राफिक कार्यालय लगायत सम्बन्धित निकायले यो समस्याका सामधान गर्न विशेष कदम चाल्नुपर्ने देखिन्छ ।

सडक सबैको साझा सम्पत्ति हो । सडकको प्रयोग गर्न पाउनु सबैको अधिकार हो । त्यसैले, कसैले पनि अरुको अधिकार हनन् गर्दै सडकमा साना तथा बाहिर ठाउँका गाढीहरुलाई साईड नै निदई पेलेर हिड्न पाउँदैन । तसर्थ, जिल्लाका ग्रामीण लगायत भित्री सडकखण्डमा स्थानिय चालकहरुको दम्भलाई निरुत्साहित गर्न नियमनकारी निकाय गम्भिर हुन आवश्य छ । त्यसैगरि, सवारीचालकले पनि ट्राफिक नियमको पालना गर्न स्वयं सचेत हुनुपर्ने देखिन्छ । अतः आगामी दिनमा कुनै अप्रिय दुर्घट्ना हुन नदिन सम्बन्धित सबै पक्ष सजक हुन आवश्यक छ ।
– सञ्जीत केसी, पोखरा ।

भेरी–बबई डाइभर्सनजस्तै सबैमा काम हुनुपर्छ
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम निर्धारीत समयभन्दा एक वर्षपहिले नै सम्पन्न भएको छ । करिब १२ किलोमिटर लामो सुरुङ तीन वर्ष्भित्र अर्थात् ०७६ चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, ०७५ चैतमै सुरुङ निर्माण छिचोलियो । नयाँ वर्ष ०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपस्थित गराएर सुरुङ छिचोलिएको छ । लक्ष्य भन्दा एक तिहाइ कम समयमा सम्पन्न हुनु भनेको धेरै नै सुखद पक्ष हो । यस मानेमा प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीलाई धन्यवाद दिएका छन् । नेपालका सन्दर्भमा भेरी–बबई बहुउद्देस्यीय आयोजना धेरै प्रकारले नमुना योग्य हो ।

अहिलेसम्म एउटा जलाधार क्षेत्रको पानी अर्को जलाधार क्षेत्रमा ल्याएर आयोजना निर्माण गरिएको थिएन । तर, यो आयोजनामा कर्णाली जलाधार क्षेत्रको पानी बबई जलाधार क्षेत्रमा खसालिएको छ । मुलुकमा अहिलेसम्म सिंचाइ र जलविद्युत् उत्पादनमा उत्तिकै प्रतिफल आउने गरी बहुउद्देश्यीय आयोजना निर्माण गरिएको थिएन । तर, यो आयोजनाले ४८ मेगावाट अर्थात् वर्षको करिब तीन अर्ब रुपैयाँ बराबरको बिजुली उत्पादन गर्नेछ भने बाँँके तथा बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइको सुविधा पुग्नेछ । सिँचाइको सुविधाबाट प्राप्त हुने प्रतिफल वार्षिक चार अर्ब रुपैंया बराबर अनुमान गरिएको छ । वार्षिक ७ अर्ब रुपैयाँ बराबरको प्रतिफल दिने यो आयोजनाको लागत २५ देखि ३० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिफलको हिसाबले पनि यो आयोजना नेपालका अहिलेसम्मका विकास आयोजनाभन्दा धेरै नै आकर्षक देखिएको छ । यसैगरी, यो आयोजनाको सुरुङ निर्माण टिबिएम मेसिनमार्फत गरिएको हो । अमेरिकी प्रविधिद्धारा चीनमा निर्माण गरिएको टिबिएम मेसिन यो आयोजनाको सुरुङ निर्माणमा प्रयोग गरिएको हो । यो मेसिन नेपालमा पहिलोपटक प्रयोगमा आएको हो । परम्परागत प्रविधिबाट सुरुङ निर्माण गर्दा दैनिक २ मिटर काम हुन्थ्यो भने टिविएम मेसिनमार्फत सुरुङ निर्माण गर्दा दैनिक २० मिटर काम सम्पन्न भएको छ ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निकै आकर्षक प्रतिफल दिने गरी निर्माण सम्पन्न हुन लाग्नु आफैँमा सुखद पक्ष हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको नारालाई वास्तवमै व्यवहारमा उतार्ने हो भने यस्तै आयोजनालाई प्राथमिकता दिनुपर्छ । यस्तो सम्भावना भएका अरु तीन वटा आयोजना पनि नेपालमा छन् । पहिलो आयोजना हो, ‘सुनकोसी–कमला डाइभर्सन ।’ दोस्रो आयोजना हो–‘ कालीगण्डकी–तिनाउ डाइभर्सन ।’ तेस्रो आयोजना हो, ‘राप्ती–चन्द्रौटा डाइभर्सन ।’ यी तीनवटा आयोजना सम्पन्न गर्ने हो भने नेपालको सम्पूर्ण तराई क्षेत्रमा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध हुन्छ । विद्युत् पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ ।

भेरी–बबई डाइभर्सनको सुरुङ निर्माणमा प्रयोग भएको मेसिन सुनकोसी–कमला डाइभर्सनको सुरुङ निर्माणका लागि प्रयोग गर्ने तयारीमा सरकार रहेको समाचार आएको छ । तर, यो समाचार सुन्दा मात्रै सुखद लाग्छ । किनकी टिबिएम मेसिन जडानका लागि भौतिक पूर्वाधार निर्माणको काम गर्न कम्तीमा एक वर्ष लाग्छ । तर, सुनकोसी–कमला डाइभर्सन निर्माणको पूर्व तयारी अहिलेसम्म सुन्य छ । भेरी–बबई डाइभर्सनको सुरुङ निर्माण ०७५ चैतमा सम्पन्न हुँदैछ भन्ने प्रक्षेपण ६ महिनाअघि नै गरिएको थियो । यो अवधिमा सुनकोसी–कमला डाइभर्सन आयोजनामा डिबिएम मेसिन जडान गर्ने भौतिक पूर्वाधार निर्माण गर्न केले छेकेको थियो ?

भेरी नदीको पानीलाई बबई नदीमा खसाल्ने योजना सम्पन्न हुने चरणमा पुग्दै गर्दा भेरी नदीको मुख्य सहायक नदी उत्तर गंगाको पानीलाई गण्डकी जलाधार क्षेत्रमा खसाल्ने गरी अर्को जलविद्युत आयोजना निर्माण गर्ने निर्णय नेपाल विद्युत प्राधिकरणले गरेको समाचार आएको छ । कर्णाली जलाधार क्षेत्रको पानी गण्डकी जलाधार क्षेत्रमा खसाल्दा भेरी–बबई डाइभर्सन आयोजनाका लागि पानी घट्ने संभावना के कस्तो छ ? गण्डकी जलाधार क्षेत्रमा खसेको पानीमा नेपालको हक रहन्छ कि ? गण्डक संझौता अनुसार भारतको हक हुन्छ ? भन्ने कुरामा पनि ध्यान पुर्याउनु पर्ने हुन्छ ।
– नवीन शर्मा, गल्कोट ।

प्रतिक्रिया दिनुहोस्