१३ वर्षीय बालकलाई ब्लड क्यान्सर, परिवारमा आर्थिक संकट



उत्तम नेपाल, भद्रपुर ।
न्यून आर्थिक अवस्था भएका झापाका एक परिवारमा सन्तानलाइ ब्लड क्यान्सर देखापरेपछि आर्थिक सङ्कटले छोपेको छ । साविक जलथल–७ हाल हल्दीबारी– ४ अधिकारी चोकमा बसोवास गर्दै आएका दङ्गाल परिवारमा यतिबेला उपचार गर्ने रकम अभावले समस्या बढ्दै गएको छ ।

भीष्मकुमार र भौमादेवीमायाका १३ वर्षिय बालक गोपिचन्द्र(सुगम)लाइ ब्लड क्यान्सर देखा परेपछि परिवारमा सङ्कट छाएको हो । दुइमहिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विमिरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौ स्थित कान्ती बाल अस्पतालमा परिवारले लगेका थिए ।

चेकजाँचमा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि परिवार आश्चर्यमा परेका थिए । तीन महिना अघि नाकमा मासु पलाएको भन्दै भद्रपुरको ओमसाइ पाथिभरा हस्पीटलमा उनको शल्यक्रियासँगै एकलाखभन्दा बढी उपचारमा खर्च भएको थियो । विरामी हुने दङ्गाल परिवारका पहिलो सन्तान हुन भने १० वर्षिया छोरी दोस्रो सन्तानका रुपमा रहेकी छन् ।

आर्थिक अवस्था कमजोर भएका सो परिवारका भीष्म वैदेशिक रोजगारीको लागि पटक – पटक गएपनि विफल भएर आएको उनका भाइ मनकुमारले बताए । वनिबुतो गरेर जिवीकोपार्जन गर्दै आएका दाजुको परिवारमा यस्तो बज्रपात आइलागेपछि गाउँ नै स्तब्ध भएको उनले जनाए । बालक स्थानीय चिल्ड्रेन गार्डेन माध्यामिक विद्यालय कक्षा – ६ मा अध्ययन गर्दै आइरहेको उनले जनाए । सामान्य घरबाहेक अन्य सम्पत्ती केही नभएको उनले बताए । यसभन्दा अघिपनि गाउँमा दुइजनालाइ ब्लड क्यान्सर लागिसकेको उनले जानकारी दिए ।

बालकलाइ रोग देखा परेपछि चैत १८ गते स्थानीय भेलाबाट तुलसीप्रसाद मीश्रको संयोजकत्वमा १३ कार्यसमिति र १७ जना सल्लाहाकार सहितको गोपीचन्द्र दङ्गाल(सुगम) बल्ड क्यान्सर बचाउ अभियान समिति गठन गरिएको छ । गठित समितिले दशदिनको अवधिमा घर–दैलो कार्यक्रमबाट ४ लाख ४७ हजार रकम जम्मा गरिसकेको संयोजक मीश्रले बताए ।

सवै क्षेत्रबाट सहयोग रकम उठाउदै आइरहेको उनले जनाए । विरामीको बारेमा जानकारी पाएर झापा कारागारका सम्पूर्ण कैदीबन्दीले समेत मङ्गलबार बालकको उपचारका लागि २१ हजार नगद सहयोग गरेको उनले जानकारी दिए । अभियान समितिलाइ कारागार परिसरमा नै बोलाएर एकमुष्ट नगद सहयोग गरेको उनले बताए ।

छोरालाइ उपचार गराइरहेको विरामीका वावु भीष्मले टेलिफोन मार्फत जानकारी दिए । हालसम्म ९ लाखभन्दामाथि खर्च भइसकेको उनले बताए । ४४ महिनासम्म उपचार गर्नुपर्ने चिकित्सकले बताएको उनले सुनाए । अनुमानित ४० लाख रुपैया उपचारमा खर्च हुने चिकित्सकले जानकारी दिएको उनले बताए ।

आफन्तबाट ७ लाख रुपैया सापटी लिएको र बाँकी अभियान समितिले रकम पठाउदै आएको उनले जनाए । हल्दीबारी गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने बचन दिएको उनको भनाइ छ । सङ्क्रमकबाट जोगाउन विरामीलाइ अस्पतालको निगरानीमा सुरक्षित स्थानमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्