युक्रेनको राष्ट्रपति चुनावमा हास्य अभिनेता जेलेन्स्की बिजयी



 

किभ (एजेन्सी) युक्रेनको राष्ट्रपति चुनावमा हास्य अभिनेता वोलोदिमिरि जेलेंस्की अत्यधिक मतले जित हासिल गरेका छन् । चुनावी नतिजामा उनले ७० प्रतिशत भन्दा धेरै मत हासिल गरेको बताइएको छ ।

जेलेन्स्कीले बर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई चुनौती दिएका थिए । यसबीच पोरोसेन्कोले हार स्विकार गरेका छन् । राजधानी किभमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै पोरोसेन्कोले राजनिति नछोड्ने आश्वासन दिए ।
जित हासिल गरेका जेलेस्कीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने– म कहिल्यै पनि तपाईहरुको विश्वास तोड्ने छुइन ।

उनले भने– म अहिले औपचारिक रुपमा राष्ट्रपति होइन तर युक्रेनका एक नागरिका रुपमा सोभियत कालपछि सबै देशसँग भन्न सक्छु कि हामीलाई हर्नुस, सबै सम्भव छ ।

उनको यो बयान छिमेकी देश रुस प्रति लक्षित देखिन्थ्यो, जहाँ भ्लादिमिर पुटिन २० बर्ष देखि सत्तामा रहेका छन् । युरोपेली तथा अन्य देशहरुबाट जेलेन्स्कीलाई बधाई प्राप्त भइरहेको छ ।

सोमबार जारी करिब पुर्ण आधिकारीक परिणाम अनुसार ४१ बर्षिय हास्य कलाकार जेलेंस्कीले ७३ दशमलव ३ प्रतिशत मत प्राप्त गरी बर्तमान राष्ट्रपति पोरोसन्कोलाई पराजित गरेको हो । पोरोसेन्कोले मात्र २४ दशमलव ४ प्रतिशत मत हासिल गरेको छ ।

तीन हप्ता अगाडी मतदानको पहिलो चरणमा उनी सबैभन्दा अगाडी थिए । त्यतिबेला चुनावी मैदानमा ३९ उम्मेदवार थिए । त्यतिबेला जेलेन्स्कीले सबैभन्दा बढी ३० प्रतिशत मत हासिल गरेका थिए भने दोस्रो स्थानमा रहेका राष्ट्रपति पोरोसेन्कोले १५ दशमलव ६ प्रतिशत मत हासिल गरेका थिए ।

हास्य अभिनेता जेलेन्स्कीसँग कुनै राजनितिक अनुभव छैन । राजनितिक भुमिकाका रुपमा जेलेन्स्की एक टेलिभिजन कार्यक्रममा राष्ट्रपतिको भुमिका निभाएका थिए । सर्भेन्ट अफ द पिपल नामको यस धारावाहिकमा उनी दुर्घटनावश अर्थात एकाएक उदय भएर युक्रेनको राष्ट्रपति बनेको भुमिकामा देखिएका थिए ।

उनले आफनो उक्त कार्यक्रमकै नाममा बनेको राजनितिक पार्टीबाट राष्ट्रपति चुनाव लडेको हो । यो जितपछि उनले अन्तराष्ट्रिय समुदायबाट बधाई पाइरहेका छन् ।

चुनाव अभियानमा यसलाई असाधारण परिणामका रुपमा लिएको छ । यस क्रममा सुरुवात ठट्टाका रुपमा भएपनि पछि मतदातालाई आफुसँग जोड्न उनी सफल भए ।

मतदाता सामाजिक अन्याय, भ्रष्टाचार र रुस समर्थक देशको पुर्वी हिस्सामा पृथक्तावादीसँगको युद्धबाट आजित भइसकेका थिए । अब टेलिभिजन सृंखला ‘सर्भेन्ट अफ पिपल‘का स्टार अब ४ करोड ५० लाख आवादी भएको देशको बागडोर सम्हाल्ने छ ।

युक्रेनका राष्ट्रपतिको देशको सुरक्षा, रक्षा विभाग र विदेश नितिमा विशेष प्रभाव हुने गर्छ ।

बर्तमान राष्ट्रपति पोरोसेन्को त्यतिबेला राष्ट्रपतिमा निर्वाचित भएका थिए जुन बेलो युक्रेनमा भएको प्रदर्शनपछि रुस समर्थक राष्ट्रपतिलाई पद छोड्नु परेको थियो ।

यस पटकको चुनावको एक्जिट पोलको नतिजा जारी भएपछि पोरोसेन्कोले भने– चुनावको नतिजाले हामीलाई अनिश्चितता र भ्रममा दोहोर्याउने छ ।

प्रतिक्रिया दिनुहोस्