श्रीलंकाली बम आक्रमणमा विदेशी हातको आशंका



कोलम्वो,(एजेन्सी)
श्रीलंकामा आइतवार २ सय ९० जना मानिसको ज्यान जानेगरी भएका श्रंखलावद्ध बम विस्फोटनमा एउटा अन्तर्राष्ट्रिय संजालको सहयोग रहेको सोमवार सरकारी अधिकारीहरुले बताएका छन् । सरकारले यस घटनाका लागि यसअघि त्यति चर्चामा नरहेको स्थानिय जिहादी समूह नेसनल थोहिद जमाथ ( एनटिजे ) लाई दोषारोपण गरेपनि अहिलेसम्म कुनै पनि समूहले यस बमकाण्डको जिम्मेवारी लिएको छैनन् ।

थुप्रै चर्च र होटलहरुलाई लक्षित गरी भएको सो आक्रमणमा अन्य ५ सय जना घाइते भएका छन् । थुप्रै स्थानमा छापा मारेर प्रहरीले यस घटना सम्बन्धमा २४ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । राष्ट्रपति कार्यालयले राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

सोमवार मध्यरात देखि लागु हुन लागेको यस संकटकालले प्रहरी तथा सेनालाई विना पक्राउ पुर्जि कुनै पनि आशंकित व्यक्तिलाई हिरासतमा लिने र सोधपुछ गर्ने अधिकार प्रदान गरेको छ । सोमवार पनि राजधानी कोलम्वो नजिकको एउटा चर्च नजिकको सडकमा अर्को बम विस्फोट भएको छ ।

प्रहरीले आक्रमणकारीहरुले प्रयोग गरेको सवारी साधनमा राखिएको विस्फोट पदार्थलाई निष्क्रिय पार्न खोज्दा सो विस्फोट भएको थियो । यस घटनामा भएको क्ष्तिको विवरण आएको छैन । पत्रकार सम्मेलनमा संसदका प्रवक्ता सेनारत्नेले नेसनल थोहिद जमाथले दुई साता अघि नै श्रीलंकारी सरकारलाई बम आक्रमणको धम्की दिएको जानकारी दिएका छन् ।

तर उनले सो चेतावनीबारे प्रधानमन्त्री रनिल विक्रमसिंघे र उनको मन्त्रीमण्डलाई जानकारी नगराएको पनि बताएका छन् । विक्रमसिंघेले सुरक्षा सेवालाई यसको पुर्व जानकारी भएपनि सुचनाको आधारमा आवशयक सतर्कता नअपनाइएको बताएका छन् ।

सेनारत्नेले विदेशी समूहको सहयोग विना देश भित्रकै केहि समूहले यत्रो ठूलो घटना घटाउन नसक्न ेबताएक छन् । एउटा सरकारी विज्ञप्ति मार्फत राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले आक्रमणकारीहरुको अन्तर्राष्ट्रिय सम्बन्ध पत्ता लगाउनका लागि विदेशी सहयोग मागिने जनाएका छन् ।

राष्ट्रपति कार्यालयले गुप्तचर सेवाको प्रतिवेदनमा स्थानिय आतंककारी पछाडि विदेशी आतंककारी संघसंस्थाको साथ रहेको उल्लेख भएको जनाएको छ । मंगलवार राष्ट्रिय शोक मनाउने कार्यक्रम रहेको छ भने सोमवार राति १० बजेदेखि मंगलवार बिहान ४ बजेसम्म कफ्र्यु जारी गरिएको छ ।

श्रीलंकाको राष्ट्रिय सुरक्ष परिषदले ‘ शर्तपूर्ण संकटकाल ’ आतंकवाद प्रति माथि मात्र लक्षित रहेको तथा अभिव्यक्ति स्वतन्त्रता माथि कुनै आँच नआउने जनाएको छ । अमेरिकी विदेश विभागले एउटा जरुरी सूचना जारी गर्दै आतंककारी समूहहरुले संभावित आक्रमणको योजना बनाइरहेको हुन सक्ने भएकाले श्रीलंका भ्रमणमा जाने आफ्ना नागरीकहरुलाई थप सतर्कता हपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्