पर्यटन वर्ष २०२० सफल पारौं



पर्यटन वर्ष २०२० को औपचारिक सुरुवात पोखराबाट गरिएको छ । २० लाख आन्तरिक पर्यटक भित्र्याउने महत्वकांक्षी परियोजनासहित सुरु गरिएको भ्रमण वर्षको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले उद्घाटन गरे । उनले पर्यटनमार्फत आर्थिक सम्मृद्धि हासिलको लक्ष्यमा यो अभियानलाई पहिलो कदम भएको बताए । सरकारले आउँदो अंग्रेजी वर्षलाई नेपाल पर्यटन वर्ष घोषणा गरी त्यसै अनुरुपका गतिबिधिहरु संचालन गर्ने सिलसिलामा यो कार्यक्रम आयोजना भएको हो ।

सरकारले पर्यटन वर्ष घोषणा त गर्ने तर काम भने केही पनि नगर्ने भन्दै निजी क्षेत्रले आलोचना गरिरहँदा भएको घोषणाले अब त केही हुन्छ कि भन्ने आशा पलाएको छ । यता, यो घोषणाले आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरेको गण्डकी प्रदेश सरकारलाई पनि भरथेग गरेको छ । आन्तरिक भ्रमण वर्ष घोषणासँगै गण्डकी सरकारले घरबास कार्यक्रमलगायतका केही पूर्वाधारको क्षेत्रमा लगानी गरे पनि घोषणाजस्तो काम भने भएको छैन ।

नेपालको पर्यटन उद्योगको इतिहास लामो छैन । खासगरी बिटल्स ब्याण्डका जोन लेननको भारत यात्रापछि हिम्पीहरु भारततिर ओइरिए । मोक्षको खोजीमा हिँडेका उनीहरु भारतको गर्मी छल्न नेपाल छिरे । नेपालको हावापानी र प्राकृतिक सुन्दरताले उनीहरुलाई मोहनी लगायो । यहाँको वातावरणमा रमाएका उनीहरुले नै नेपालको प्रचार गरिदिए । विभिन्न देशका पर्यटकहरु नेपाल भित्रने क्रमले तीव्रता पायो ।

अर्कोतर्फ सन् १९५० को दशकबाट सुरु भएको नेपालको आरोहण गतिबिधिले पनि पर्यटक बढाउन योगदान दियो । पर्यटन व्यवसायीहरुका अनुसार जनस्तरबाट नेपालको जति प्रचार भएको छ, त्यति राज्यले गर्न सकेको छैन । नेपाल आउने पर्यटकहरुमध्ये झण्डै आधाजतिले पटक–पटक नेपाल भ्रमण गर्ने गरेको तथ्यले पनि सरकारले नेपाललाई विश्वमा चिनाउने काम गर्न नसकेको पुष्टी हुन्छ ।

नेपालबाट फर्केकाहरुले आफ्ना साथीभाई र आफन्तलाई नेपालबारे सुनाउँदा प्रभावित हुनेहरुले पनि नेपालको पर्यटनलाई भरथेग गरेका छन् । पछिल्लो समयमा नेपालले पर्यटन मन्त्रालय र पर्यटन प्रवद्र्धनको लागि नेपाल पर्यटन बोर्ड गठन गरी पर्यटन प्रवद्र्धनको काम गर्दै आए पनि त्यसको गति सुस्त रहेको छ । अहिले पनि संसारका धेरै नागरिकले नेपालबारे जानकारी राख्दैनन् । चिन्दै नचिनेको ठाउँमा को पो जान्छ र ? अहिलेको संसार भनेको प्रवद्र्धनको हो । जसले प्रवद्र्धन गर्न सक्छ, जसको विज्ञापन बढी हुन्छ, त्यही ठाउँमा पर्यटक जान्छन् ।

अर्कोतर्फ पर्यटकहरु भनेका पैसा खर्च गर्न आउने पाहुना हुन् । उनीहरुले मनोरञ्जन, सुरक्षा र सजिलो खोज्छन् । हामीकहाँ पर्यटकले चाहेजस्तो पूर्वाधार बनेका छैनन् । अझ, विलासी पर्यटकहरुका लागि त हाम्रा पूर्वाधारहरु लाजमर्दा छन् । आरोहणले मात्र पर्यटन धानिँदैन । भ्रमण वर्षको घोषणा गर्दा सरकारले पर्यटकको सुरक्षा, पर्यटकीय पूर्वाधारमा लगानी र ब्यापक प्रचारको अभियान थाल्नुपर्छ ।

पर्यटकहरु भनेको घुमन्ते हुन् । उनीहरु सजिलो र मन परेको ठाउँमा यात्रा गर्छन् । प्रकृतिको काखमा रमाउन चाहनेहरुलाई आकर्षित गर्न पनि प्रचारमा त ध्यान दिनैपर्छ । मुखले घोषणा गर्दैैमा पर्यटक आउँछन् भन्ने भ्रममा परियो भने नेपाल भ्रमण वर्ष नाममा मात्र सीमित रहन्छ भन्ने यथार्थलाई सरकार र सरोकारवाला निकायले बेलैमा बुझ्नुपर्छ ।
– सम्झना वाग्ले, काठमाडौं ।

गैंडा संरक्षण खोई ?
दस वर्षे सशस्त्र द्वन्द्वको समयताका चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा संरक्षणमा सबैभन्दा ठूलो चुनौती नै चोरी सिकारीलाई मानिएको थियो । त्यस समयमा एक महिनामै दसवटासम्म गैँडा मारिने गरेको अवस्था थियो । केही वर्षयता चोरी सिकारीबाट गैँडा मर्नेक्रम रोकिएपछि शून्य चोरीसिकार वर्ष पनि मनाइँदै आइएको थियो । तर, अहिले प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि संरक्षणकर्मीलाई चिन्ताको विषय बनेको छ । विगत तीन वर्षयता चितवनमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि संरक्षणमा अर्को चुनौती थपिएको छ ।

निकुञ्जको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनाको अन्तरालमा मात्रै ४१ गैँडा कालगतिले मरेका छन् । छ वर्षको तथ्यांकले पनि गैँडा मर्ने क्रम क्रमशः बढ्दै गएको देखाएको छ । यसले गैँडाको संरक्षणमा जुटेकालाई गैँडा बचाउने चुनौती थपेको छ । पछिल्लो समय प्राकृतिक कारणले गैँडाको मृत्यु जसरी भइरहेको छ, त्यो स्वाभाविक मान्न सकिँदैन ।

गैँडा गणनायता चितवन निकुञ्जमा ११० गैँडा मरेका छन् । पछिल्लो समय गैँडा बूढो भएर, बिरामी परेर, एकापसमा जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर, दलदलमा फसेर, गोहीले हानेर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका पाइएका छन् । अहिले विश्वव्यापीरुपमा वन्यजन्तु तस्करी नियन्त्रणमा चुनौती बढिरहेको छ । नेपालमा चोरीसिकारका कारण गैँडाको मृत्यु लगभग नियन्त्रणजस्तै देखिए पनि प्राकृतिक मृत्युका कारण गैँडा मर्न थालेपछि त्यसको अनुसन्धान जरूरी भएको हो ।

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडाको उर्वरभूमि चितवनमा भटाभट गैँडा मर्नु हामी सबैका लागि उत्तिकै चिन्ताको विषय हो । गैँडा सिकारविरूद्ध समुदायको जागरूकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढेपछि निकुञ्जले केही वर्ष शून्य सिकार वर्ष मनाउन सफल पनि भयो । निकुञ्जमा सुरक्षा पोस्टसँगै प्रविधिको उच्चतम प्रयोगले गैँडाको चोरीसिकारमा सहयोग पुग्दै आएको छ । अब समयमै गैँडाको मृत्युका कारण पहिचान गरी गैँडा मर्नेक्रम न्यूनीकरण गर्नुपर्छ ।

पछिल्लो समय जल, जमिन र जंगलसमेत प्रदूषित बनिरहेका छन् । गैँडा बूढो भएर मर्नु त नियमित प्रक्रिया हो । अन्य कारणले मर्ने श्रृंखला रोक्न सरोकारवालाले ध्यान दिनैपर्छ । अझैसम्म कति गैँडा बाढीले बगाएर मरे वा बगेर भारत पुगे भन्ने यकिन तथ्यांक छैन । हालसम्म १० वटा गैँडाको उद्धार गरिए पनि केही गैँडा भारतमै रहेको बताइन्छ । निकुञ्जले बाढीमा बगेर भारत पुगेका गैँडा ल्याउन पहल पनि गर्नुपर्छ । नेपालमा पर्यटन वर्ष मनाउँदै गर्दा गैँडाको मृत्यु प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभाव, बिषविषादीको प्रभावजस्ता जुनसुकै कारण भए पनि यसबारे व्यापक अध्ययन, अनुसन्धान गरी समयमै गैँडा मर्ने कारण पत्ता लगाउनु जरूरी भएको छ ।
– रचना कार्की, भरतपुर–१२ ।

प्रतिक्रिया दिनुहोस्