एशओएसमा पहिलो नेपाली आमाः ‘हेल्मुट कुटिन अन्तर्राष्ट्रिय पुरस्कार’बाट सम्मानीत हुँदै



नेपाल समाचारपत्र, काठमाडौं ।
कुनैपनि घरमा एउटी आमाले आफ्नो जीवनकालमा छोराछोरी, नाति नातिनी र पनाति पनातिनी गरि कति जनासम्म केटाकेटी हुर्काउन सक्लान ? सबैको जवाफ हुन्छ बढीमा १५ जना ।

तर एसएओएस वालग्राम गण्डकी, रामबजार पोखराकी ‘आमा’ चन्द्रकला थापाले आफ्नो ६० वर्षको उमेरमा एउटा घरमा ३५ जना छोराछोरी हुर्काएर आम नेपालीलाई मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमै सबैलाई चकित पारिदिएकी छिन ।

तीनै आमा चन्द्रकला थापालाई एसओएस अन्तर्राष्ट्रिय वालग्रामका निवर्तमान अध्यक्ष एवम् वर्तमान मानार्थ अध्यक्ष हेल्मुट कुटिनद्वारा ५ वर्षअघि स्थापित ‘हेल्मुट कुटिन अन्तर्राष्ट्रिय पुरस्कार २०१९’ प्रदान गर्ने निर्णय गरिएको छ । विश्वभरका १ सय ३४ मुलुकका वालग्राममा उत्कृष्ट कार्य गर्ने कर्मचारी, आमा, काकी, सहयोगीलाई पुरस्कृत गर्ने गरि सो पुरस्कार सन् २०१४ मा स्थापना गरिएको हो ।

जन्मदिने बाबुआमा र परिवार गुमाएका वालवालिकालाई एसओएस वालग्राम गण्डकी लगायत नेपालका १० वटा वालग्राममा चन्द्रकला थापा जस्तै सयौं आमा र काकीले हेरचाह गर्दै आएका छन । विश्वभर १ सय ३४ देशमा एसओएस वालग्रामले सन् १९४९ देखि वालसंरक्षणको कार्य गर्दै आएकोे छ ।

२० वर्ष उमेर पुग्दा नपुग्दै २०३६ सालदेखि एसओएस वालग्रामका छोराछोरी स्याहार गर्ने ‘आमा’ को पदमा जागीर खान शुरु गरेकी चन्द्रकला आफ्नो उमेर हदका कारण यसैवर्ष अर्थात डिसेम्बरदेखि सेवा निवृत्त हुँदैछिन ।

वालग्राम गण्डकीमै हाल ९ जना छोराछोरी हुर्काइरहेकी चन्द्रकलाले यसअघि २६ जना छोराछोरीलाई हुर्काएर वयस्क बनाइसकेकी छिन भने कतिजना छोराछोरी घरजम गरि समाजमा पुर्नस्थापित समेत भईसकेका छन् ।

आफ्नो ६० वर्षे सेवाअवधिमा उनको वात्सल्यमा अहिले हुर्किरहेका ९ जना वालवालिकासहित २२ छोरा र १३ छोरी गरि ३५ जनालाई वालग्रामको सिद्धान्त उचित अनूरुप स्याहारसुसार, रेखदेख, हेरचाहको साथै उनीहरुलाई शिक्षित बनाउन आमा चन्द्रकलाले गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै २०१९ को ‘हेल्मुट कुटिन अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने घोषणा गरिएको हो ।

यो वर्ष हेल्मुट कुटिन अन्तर्राष्ट्रिय पुरस्कार पाउने चन्द्रकला थापा नेपालको पहिलो ‘आमा’ हुन भने सिरीयाको आन्तरिक द्वन्दमा परेका वालवालिकालाई संरक्षण गरेवापत सिरीयाकी आमा सलाम खलाफलाई पनि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
एसओएस बालग्राम अन्तर्राष्ट्रियका वर्तमान अध्यक्ष सिद्धार्थ कौल तथा हर्मन माइनर एकेडेमीका बोर्ड अध्यक्ष काय भोर्वकद्वारा संयुक्तरुपमा जारी गरिएको विज्ञप्तीमा उक्त अन्र्तराष्ट्रिय पुरस्कारको कुरा उल्लेख गरिएको छ ।

अष्ट्रियाको भियनास्थित एसओएस वालग्राम अन्तराष्ट्रियको मुख्यालयमा आगामी १ देखि ३ जुलाईसम्म आयोजना हुन लागेको एसओएस वालग्रामको अन्तर्राष्ट्रिय वैठक ‘कम टुगेदर २’ मा एक विशेष समारोहका वीच प्रदान गरिने एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताउनुभयो ।

सो वैठकमा नेपालको तर्फबाट एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा. ज्योतिरत्न धाख्वा र राष्ट्रिय निर्र्देशक इश्वरीप्रसाद शर्माको साथमा आमा चन्द्रकला थापा अष्ट्रिया जाँदै हुनुहुन्छ ।

आमा चन्द्रकला थापालाई प्रदान गर्न लागिएको सो अन्तर्राष्ट्रिय पुरस्कारले एसओएस वालग्राम नेपालले विगत ४५ वर्षदेखि अभिभावक र परिवार गुमाएका वालवालिकाको स्याहार र संरक्षणमा नेपालले गरेको योगदानको ‘उच्च सम्मान’ भएको पनि राष्ट्रिय निर्र्देशक शर्मा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्