दुर्घटनाको फितलो छानबिन र सरोकारवाला उदासीन



नेपाली जनताले सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना साटासाट गर्न नपाउँदै नयाँ वर्षको पहिलो दिन आइतबार बिहान ९ः२० बजे लुक्लामा समिट एयरको जहाज दुर्घटना भयो । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा (एन–एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा भएको दुर्घटनामा समिट एयरका को–पाइलट सुदीप ढुंगाना र नेपाल प्रहरीका असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो भने अर्का असई रुद्रबहादुर खड्काको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भयो ।

लुक्लामा पर्यटक छाडेर रामेछाप फर्किने क्रममा धावनमार्गमै समिट एयर चिप्लिएको थियो । उक्त जहाजले मनाङ एअरको हेलिकोप्टरलाई ठक्कर दिँदा समिट एयरका रविनाथ रोकाय र मनाङका पाइलट टीबी गुरूङ घाइते भई ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ । आइतबार समिट एयरको जहाज दुर्घटना भएसँगै नेपाली हवाइ इतिहासमा ९५ औँ दुर्घटना भएको छ । यसअघि फागुन १६ मा भएको कहालीलाग्दो हेलिकप्टर दुर्घटनामा नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित राष्ट्रलाई योगदान गरिरहेका वरिष्ठ व्यक्ति तथा सरकारी कर्मचारीसमेत सात जनाले ज्यान गुमाएका थिए ।

सन् १९४६ देखि हालसम्म ७३ वर्षे अवधिमा नेपालमा ९५ वटा साना ठूला हवाई दुर्घटना भएको पाइन्छ । यीमध्ये ५४ वटा दुर्घटनामा चालक दलका सदस्य वा यात्रुले आफ्नो ज्यान गुमाएका छन् । नेपालमा पहिलो हवाई दुर्घटना सन् १९४६ मे ७ तारिखमा भएको थियो । १४ जना सैनिकसहित २ जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज नेपालमा पहिलोपटक दुर्घटनामा परे पनि मानवीय क्षति भने भएको थिएन ।

त्यसपछि सन् १९५५ देखि हालसम्म ७६८ जनाले हवाइ दुर्घटनामा ज्यान गुमाएका छन् । केही व्यक्तिको उपचारको क्रममा पनि मृत्यु भएकाले हवाई दुर्घटनामा हालसम्म ज्यान गुमाउनेको संख्या ८०० भन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँ आएको यूएस बंगलाको विमान त्रिभुवन विमानस्थलमै दुर्घटना हुँदा ५२ जनाको मृत्यु भयो भने १९ जना घाइतेले पुनर्जीवन पाए ।

विगत एक वर्षको अवधिमा मात्रै नेपाली आकासमा नौ हवाइ दुर्घटना भएका छन् । ०७५ वैशाख ६ गते त्रिभुवन विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना भयो । तर, मानवीय क्षति हुन पाएन । यस्तै, जेठ २ गते मकालु एयरको कार्गो विमान हुम्लाको बाहुनखर्कमा दुर्घटना हुँदा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भयो ।

यस्तै, जेठ २ गते जुम्ला एयरपोर्टमा तारा एयरलायन्सको विमान, असार ३ गते पोखरा विमानस्थलमा यति एयरलायन्सको विमान, असार १६ मा ग्राण्डी अस्पतालमा सिम्रिक एयरको विमान र भदौ १६ गते त्रिभुवन विमानस्थलमा यति एयरको विमान दुर्घटना भए पनि चारवटै दुर्घटनामा मानवीय क्षति हुन पाएन । यस्तै, गोरखाको सामागाउँमा अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाए भने एकजना बाँच्न सफल भए । यस्तै, एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथिभरामा दुर्घटना हँुदा पर्यटनमन्त्रीसहित सातजनाले ज्यान गुमाए ।

नेपालमा हवाई दुर्घटनापछि हुने फितलो छानविन र त्यसको कार्यान्वयनमा सरोकारवाला उदासीन बन्दा दुर्घटना पुनरावृत्ति हुने गरेको छ । दुर्घटनापछि कतिपय प्रतिवेदन सार्वजनिक गर्नु त परै जाओस् सरोकारवालासम्म पनि नपुग्ने अवस्थाले एयरलायन्स कम्पनीका कमजोरी सार्वजनिक हुन सकेका छैनन् । एक वर्षमै नौ वटा हवाई दुर्घटना हुँदा पनि प्रतिवेदन तयार नहुनु लाजमर्दो कुरा हो ।
– रामचन्द्र पोख्रेल, पाल्पा ।

भर्ना अभियान सफल बनाऔं
नयाँ वर्ष २०७६ सालको नयाँ आगमनसँगै विद्यालयहरुमा भर्ना अभियान शुरू भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई आकर्षित गर्न आफ्ना विशेषता दर्शाएर प्रचारप्रसार गरिरहेका छन् । संस्थागत विद्यालयका अभिभावक तथा विद्यार्थीले शैक्षिक नतिजा हेरेर विद्यालय छनोट गरिरहेका छन् । सामुदायिक विद्यालयहरुले विद्यार्थी टिकाउने सूत्र फुराउँदै छन् । जसले जे योजना बनाइरहे पनि यो विद्यार्थी भर्नाको मौसम हो । सरकारले यस वर्ष पनि तामझामपूर्वक भर्ना अभियान चलाउँदै छ । तर, विडम्बना ! अझै पनि ५ देखि १२ वर्ष उमेर समूहका करिब ५ लाख बालबालिका विद्यालयबाहिरै छन् ।
नेपालको संविधान २०७२ ले हरेक बालबालिकालाई शिक्षाको नैसर्गिक अधिकारको प्रत्याभूति दिलाएको छ । संविधानले विकट बस्तीदेखि सहरबजार जहाँसुकैका बालबालिकालाई शिक्षाको हक सुनिश्चित गरेको छ ।

सोहीअनुसार आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर, संविधानप्रदत्त अधिकार नीति निर्माण तहले कार्यान्वयन गर्न सकिरहेका छैनन् ।
यसवर्ष सरकारले ‘हाम्रो नगर हाम्रो गाउँ ः सबै बालबालिकालाई विद्यालय पठाऔँ’ भन्ने आकर्षक नारासहित देशभरका ७७ वटै जिल्लाका शिक्षा कार्यालयमार्फत् भर्ना अभियान सुरू गरेको छ । सरकारले हरेक वर्ष भर्ना अभियान सञ्चालन गर्दै गर्दा विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय पु¥याउन र शैक्षिक वर्षभरि टिकाइराख्न के कस्तो योजना र अभियान सञ्चालन गर्ने भन्ने सम्बन्धमा सरोकारवाला नै अनभिज्ञ छन् ।

एकाधबाहेक अहिले अधिकांश सामुदायिक विद्यालय गरिब र विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयका रुपमा दर्ज भएका छन् । अभिभावकहरुमा संस्थागत विद्यालयतर्फको मोहले गर्दा आर्थिक क्षमता नहुँदा नहुँदै पनि संस्थागत विद्यालयमा महँगो शुल्क तिरेर बालबालिका पढाउने होड चलिरहेको छ । सरकारले शिक्षामा अरबौँ रुपैयाँ लगानी गरेको छ तर सामुदायिक विद्यालयप्रति अभिभावकमात्रै होइन स्वयम् शिक्षक पनि विश्वस्त छैनन् । सरकारी विद्यालयमा पढाउने अधिकांश शिक्षकका बालबालिका संस्थागत विद्यालयमै पढ्छन् । जसका कारण सरकारी विद्यालयमा शैक्षिक स्तर राम्रो हुँदैन भन्ने गलत सन्देश शिक्षक–शिक्षिकाबाटै प्रभावित भइरहेको छ । बालबालिकाको वास्तविक समस्या पहिचानगरी प्रभावकारी प्याकेजसहित विद्यालय पठाउने व्यवस्था मिलाउनु आवश्यक देखिएको छ ।
– प्रशान्त कार्की, रोल्पा ।

प्रतिक्रिया दिनुहोस्