प्रहरीको सलाम खाँदै गाँजा तस्करी !



हेटौंडा ।
अवैध गाँजा निकासी गर्न लागेको कारको नम्बर प्लेटमा ‘भारतीय सचिव’ लेखिएको पाइयो । ‘सचिव’ लेखिएकोले प्रहरीले सजिलैसँग भारतीय भीआईपी भनेर बुझे । केही प्रहरीले भीआईपी भनेर सलाम पनि ठोके ।

तर, बुझ्दै जाँदा गाँजा ओसार्ने शैली परिवर्तन गरिएको जानकारी पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

फरक तरिकाले गाँजा निकासी गर्न लागेको तथ्य थाहा पाएपछि ‘भारतीय सचिव’ लेखिएको कार प्रहरी नियन्त्रणमा आयो । यसअघि कतिपटक गाँजा ओसार्ने क्रममा चौकीपिच्छे प्रहरीले सलाम खाएर गाँजा निकासी गरे होलान् भनेर अहिले पो थाहा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी बताउँछन् ।

मकवानपुरका बिकट गाउँमा उत्पादित गाँजा भारत निकासी गर्दा तस्करले फरक शैली प्रयोग गर्न थालेका यसले प्रष्ट पारेको छ । एकपछि अर्को शैली परिवर्तन गर्दै गाँजा निकासी गर्ने गरिएको रहस्य हेटौंडामा खुलेको हो ।

पछिल्लो समय भारतीय साना गाडीबाट मकवानपुर प्रहरीले गाँजा बरामद गर्दै आएको छ । तर, ती सबै शैली फरक देखिएका छन् । हेटौंडा–१९, तीनताप्केमा प्रहरीले ४८ केजी ८ सय ग्राम गाँजा बरामद गर्ने तस्करले आफू ‘सुरक्षित’ हुन फरक शैली अपनाएको पाइएको छ ।

भारतीय बीआर ३१ एम ५०५१ नम्बर कारमा फल्स बटम बनाएर गाँजा निकासी गर्ने क्रममा एक भारतीय पक्राउ परे । भारतको बिहार जिल्ला वैशालीग्राम हसिकैवल वडा नम्बर–५ बस्ने ३२ वर्षीय अमरजित सिंहले भारत निकासी गर्न लागेको गाँजा बरामद गर्न प्रहरी सफल भयो ।
तीनताप्केस्थित सडकखण्डमा जाँचका क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको कार जाँच गर्दा कारचालक सिंह, गाडी र गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । कारको सिटमुनि फल्स बटम बनाएर लुकाइराखेको अबस्थामा ८ वटा पोकामा ४८ किलो ८ सय ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

आठ केजी गाँजा सहित एक पक्राउ
रातोमोटेबाट प्रहरीले ८ केजी गाँजासहित अर्का एक जनालाई पक्राउ गरेको छ । हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गरेको ना. ५ ख ३९५२ नम्बर यात्रुबाहक बस जाँच गर्ने क्रममा बसका यात्री बाराको प्रसौनी गाउँपालिका–५ बस्ने २२ वर्षीय पप्पु रायबाट आठ केजी गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । उनको झोला खानतलासी गर्दा झोलाभित्र चारपाटे आकारका २ वटा पोकामा राखिएको लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

माइक्रोमा लागुऔषध
रातोमाटेबाट प्रहरीले विभिन्न प्रकारका लागुऔषधसहित एक जनालाई पक्राउ गरेकोे छ । बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ज १७३९ नम्बर यात्रुबाहक माइक्रो जाँच गर्ने क्रममा हेटौंडा–८, कमाने बस्ने वर्ष २६ का यात्री रुपक राईलाई पक्राउ गरिएको हो ।
उनको शरीर खानतलासी गर्दा लागुऔषध नाइट्रोभेट ४ पत्तामा ६० ट्याबलेट फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्