सुप विश्वविद्यालयः कांग्रेस निकट निमित्त उपकूलपति नआउँदा गरिएको तालाबन्दी



पार्टीको चाबी, विद्यार्थीको ताल्चा
मनोज भट्ट, महेन्द्रनगर ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । गत २७ चैत्र देखि विश्वविद्यालयमा तालाबन्दी हुँदा प्रशासनिक कामकाज ठप्प परेका छन् ।

गत वर्षको पुस महिनामा विश्वविद्यालयका उप–कूलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टलाई कुलपति अर्थात प्रधानमन्त्री कार्यालयबाट विश्वविद्यालयको कुनै पनि कामकाज नगर्न भन्दै जिम्मेवारी बिहिन बनाएको थियो ।

उप–कुलपति, सेवा आयोगको अध्यक्ष वा रजिष्ट्रारले आफ्नो पद अनुरुपको जिम्मेवारी पूरा नगरेको, इमानदारीपूर्वक काम नगरेको वा निजले पद अनुकूलको आचरण नगरेको भनी सभामा तत्काल रहेका एक चौथाई सदस्यहरुले निजलाई पदबाट हटाउन कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिले सभाको कुनै सदस्यको अध्यक्षतामा विश्वविद्यालय अनुदान आयोगको सदस्य र शिक्षा मन्त्रालयको सचिव रहेको तीन सदस्यीय एक छानबिन समिति गठन गर्नेछ । उक्त गठित छानबिन समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी तीस दिनभित्र आफ्नो प्रतिवेदन कुलपति समक्ष पेश गर्नु पर्नेछ । प्रतिवेदन प्राप्त भएपछि कुलपतिले सो प्रतिवेदन सभा समक्ष पेश गर्नेछ ।
त्यस पश्चात पेश भएको प्रतिवेदन उपर छलफल हुँदा सभाले उप–कुलपति, सेवा आयोगको अध्यक्ष वा रजिष्ट्रारलाई पदबाट हटाउन निर्णय गरेमा कुलपतिले त्यस्तो उप–कुलपति, सेवा आयोगको अध्यक्ष वा रजिष्ट्रारलाई पदबाट हटाउनेछ । कुनै पदाधिकारी उपर छानबिन शुरु भएमा त्यसको अन्तिम निर्णय नभएसम्मको लागि निजले आफू बहाल रहेको पदको काम गर्न नपाउने व्यवस्था सुदूर पश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ मा उल्लेख गरिएको छ ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय ऐन अनुसार जिम्मेवारीबाट बञ्चित गरिएका उप–कूलपति श्रेष्ठ र रजिष्ट्रार भट्टले गरेको आर्थीक, प्रशासनिक तथा नैतीक अनियमितताको छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनलाई सभामा पेश गर्नका लागि समेत विश्वविद्यालयको उपकूलपतिले सभाको बैठक बसाल्नु पर्ने हुन्छ । त्यसै अनूरुप कुलपतिले कायम–मुकायम उपकूलपति र रजिष्ट्रार नियुक्त गर्न सक्ने व्यवस्था छ ।

पार्टी निकट निमित्त उपकूलपति नआउँदा
जिम्मेवारी बिहिन उपकूलपति श्रेष्ठ र रजिष्ट्रारले लगातारको तीन महिना सम्म पनि सफाई अथार्त पुर्ण कारबाहीमा नपरेपछि कुलपति कार्यालयले गत २३ चैत्रमा विज्ञान तथा प्रविधि संकायका डीन डा.पुर्णबहादुर चन्दलाई कायम–मुकायम उपकूलपति र यहि २ बैशाखमा शिक्षा संकायका डीन डा.गोविन्द सिंह बिष्टलाई कायम–मुकायम रजिष्ट्रारमा नियुक्ति पत्र पठायो ।

नेपालकै इतिहासमा एउटै विश्वविद्यालयमा दुई÷दुई ओटा उपकूलपति र रजिष्ट्रार चयन गरेको भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालबन्दी हो । सरकारले विश्वविद्यालयको स्वतन्त्रतामाथी नै ठाडो हस्तछेप गरेको नेवि संघका नेता किशोर जाशीले बताए । झण्डौ दुई हप्ता देखिको तालाबन्दीले दैनिक प्रशासनिक कार्यसम्पादन गर्न कठिनाई भएको कायम मुकायम रजिष्ट्रार बिष्टले बताए ।

केन्द्रीय क्याम्पसका २÷४ जना विद्यार्थीहरुलाई एकत्रीत पारेर आफ्नो प्रभुत्व जमाउन र समय अनुसार ‘बार्गेनिङ’ गर्ने माहोल मिलाउन विभिन्न कारण सृजना गर्दै तालाबन्दी गर्ने परिपार्टी सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका केहि विद्यार्थीहरुमा रहेको स्रोतले बताएको छ । अहिले पनि कांग्रेस निकट उपकूलपतिलाई जिम्मेवारीबाट बञ्चित गरिए पछि कम्युनिष्ट निकट व्यक्तिलाई कायम–मुकायम उपकूलपति र रजिष्ट्रार दिएको भन्दै नेवि संघका केहि अनुहारहरुले मात्रै तालाबन्दीको कार्य गरेको उक्त स्रोतको दाबि छ ।

आंगिक क्याम्पसले १० महिनादेखि तलब पाएनन्
सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन भएका १४ आंगिक क्याम्पसका शिक्षक तथा कर्मचारीले १० महिनादेखि तलब पाएका छैनन् । गत साउनदेखि तलब नपाउँदा सुदुरपश्चिम विश्व विद्यालयका १४ आंगिक क्याम्पसका ३३४ शिक्षक तथा कर्मचारी समस्यामा परेका सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए ।

विश्वविद्यालयका पदाधिकारीको गैर जिम्मेवारीका कारण आफूहरु समस्यामा परेको शिक्षक तथा कर्मचारीले आरोप लगाएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आन्तरिक विवादमा फसिरहेको अवस्थामा आंगिक क्याम्पसमा दिनुपर्ने रकम निकासा गर्न सकेको छैन् । क्याम्पसले समयमा रकम नपाउँदा शिक्षक र कर्मचारी समस्यामा परेका छन् ।

सुदूरपश्चिम प्रदेशका जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडी, पाटन बहुमुखी क्याम्पस बैतडी, मणिलेक क्याम्पस मेलौली बैतडी, दार्चुला बहुमुखी क्याम्पस दार्चुला, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला, जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ,बाजुरा क्याम्पस बाजुरा, बडिमालिका क्याम्पस बाजुरा, जनता बहुमुखी क्याम्पस बयलपाटा अछाम, त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढा डडेल्धुरा, सीताराम बहुमुखी क्याम्पस उच्चाकोट डोटी, सेतीमहाकाली बहुमुखी क्याम्पस घण्टेश्वर डोटी, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरीया कैलाली र टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलालीमा कार्यरत शिक्षक तथा कर्मचारीले १० महिनादेखि तलब पाएका छैनन् ।

युजिसीबाट रकम निकासा भइसके पनि केन्द्रीय कामर्यालयमा लागेको तालाबन्दीले गर्दा शिक्षक तथा कर्मचारीलाई तत्काल तलब खुवाउन नसकिएको कायम–मुकायम उपकूलपति चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्