प्रभावकारी भएन स्वास्थ्य विमा



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वमा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नभएको अध्ययनले देखाएको छ । आधारभुत स्वास्थ्य सेवामा नागरिकको पहुच विस्तार गर्ने र आर्थिक अभावमा रहेका नागरिकका लागि उपचारको सहजता प्रदान गर्ने लक्ष्यका साथ नेपाल सरकारले अघि सारेको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।

अध्ययन अनुसार जिल्लाको कुल जनसंख्याको ७.२३ प्रतिशतले प्रतिशतले मात्रै स्वास्थ्य विमा गरेका छन् । विमाको महत्वबारे सर्वसाधारण नागरिकलाई विस्तृत जानकारी नगराई संचालन गरिएको विमा कार्यक्रमबारे यहाँका धेरै नागरिकलाई आधारभुत ज्ञान नभएको पाइएको हो ।

कुल ५३ हजार १८ जनसंख्या रहेको यस जिल्लामा तिनवटा गाउँपालिका छन् । कुल जनसंख्याको ३ हजार ८ सय ४४ जनाले मात्रै अहिलेसम्म स्वास्थ्य विमा गरको स्वास्थ्य विमा जिल्ला संयोजक भरत खड्काले बताउनुभयो । कान्छो जिल्ला समेत भनिने यस जिल्लामा जिल्ला अस्पताल नभएको र जिल्लामा सेवा बिन्दु समेत जिल्ला भित्र नहुदाँ मान्छेहरुले विमा गर्न नमानेको संयोजक खड्काको भनाई छ ।

खड्काका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोललाई प्रथम सेवा विन्दु मान्ने भनेर भनिएपनि कोलबाट सेवा सुचारु नहुदाँ विरामीहरुले विमा गर्दा पनि उपचारका लागी दुई दिन हिड्नुपर्ने बाध्यता रहेको छ । पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका रतन पुनले आफुले विमा गरेको तर उपचार सेवा लिन रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले जानुपर्ने बाध्यता रहेकोले शशुल्क सेवा लिएरै उपचार गरेको बताउनुभयो ।

‘विमा गरेपछि ५० हजार बराबरको उपचार निःशुल्क हुन्छ भन्ने सुनेको हो । तर पाईएन ।’ पुनले गुनासो गर्नूभयो, ‘एक दिन हिडेर रुकुमकोटमा रहेको सरकारी अस्पताल पुग्दा विमाको सेवा लिन मुसीकोट जानुपर्छ भने यसकारण मैले पैसा तिरेरै सेवा लियँ ।’ विमा गरेकाहरुमध्ये केही औलामा गन्न सकिने जतिले मात्र रुकुम पश्चिमको सदरमुकाम मुसीकोट पुगेर सेवा लिएका छन् । बाँकी धेरै नागरिकले सेवा लिन नपाएरै यो बर्षको स्वास्थ्य विमाको अवधी सकिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्