अवैध हतियार संकलन अभियान तीव्रः एक सय एघार नाल अवैध हतियार संकलन



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्व प्रहरीले अवैध हतियार (भरुवा बन्दुक)संकलन अभियान थालेको छ । बन तथा बन्यजन्तु संरक्षण र अपराधिक घटना न्युनिकरणका लागी प्रहरीले स्थानीयसँग रहेका अवैध हतियार संकलन गरिरहेको छ । दुई पटक गरी एक सय एघार नाल भरुवा बन्दुक प्रहरीले संकलन गरेको हो । गत मंसिर १२ गते ५५ नाल र यस पटक ५६ नाल अवैध हतियार स्थानीयले बुझाएका हुन् । यस पटक जिल्लाका बिभिन्न ठाँउमा अवैध रुपमा राखिएका ५६ नाल हतियार भरुवा बन्दुक प्रहरीले संकलन गरेको हो ।

जिल्लाको पुथाउत्तरगंगा गाँउपालिका वडा नं १,२,३,४,८,१०,१२ र १४ बाट स्थानीयले अवैध रुपमा राखेका हतियार प्रहरीको आग्रहमा बुझाइएको हो । यसै गरी भुमे गाँउपालिकाको वडा नं ३ र सिस्ने गाँउपालिकाको वडा नं १ र २ बाट पनि हतियार संकलन गरिएको छ । गृहमन्त्रालयको सुचना र जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वको अनुरोधमा स्थानीयले हतियार बुझाएको प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताउनुभयो । स्थानीयको घरमा गएर प्रहरीले हतियार संकलन गरेको हो ।

वन तथा बन्य जन्तुको संरक्षण र अपराधिक घटना न्युनिकरणका लागी अवैध हतियार संकलन अभियानले टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बिश्वास व्यक्त गर्नुभयो ।

अझै पनि हतियार हुने सक्ने भएकोले स्थानीयबाट अवैध हतियार संकलन गर्ने अभियान जारी राखेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ । गत मंसिर १२ गते ५५ नाल अवैध हतियार स्थानीयले प्रशासनलाई बुझाएका थिए । यो संगै १११ नाल अवैध हतियार प्रहरीले संकलन गरेको छ । जैविधि विविधताको संरक्षण र भावि पुस्ताका लागि स्थानीयबाट ठूलो परिमाणको हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

हतियार संकलन गर्ने जिल्ला प्रशासन कार्यालयको अभियान जारी रहेको र यो निरन्तर चल्ने प्रजिअ शर्माको भनाई छ । हरेक बर्ष चोरी सिकार हुने भएपछि झारल, नावर, घोरल जस्ता जंगली जनावर मासिदै गएका थिए, भने अर्को तर्फ सिकार खेल्न आउने पर्यटकको संख्या घट्दै गएको थियो ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार गृह मन्त्रालय शान्ती सुरक्षा तथा अवराध नियन्त्रण शाखाको गत फाल्गुन ३० गतेको निर्णय अनुसार गरिएको ३५ दिने सुचनाभित्र २३ नाल हतियार संकलन भएका छन् । जस मध्य पुथाउत्तरगंगा गाँउपालिकाबाट २२ र भुमे गाँउपालिकाबाट १ गरी २३ नाल रहेका छन् ।

गृहमन्त्रालयको सुचना पुर्व पुथाउत्तरगंगा गाँउपालिकाबाट २२ र सिस्ने गाँउपालिकाबाट ११ गरी ३३ नाल अवैध हतियार प्रहरीलाई स्थानीयले बुझाएका हुन् । संकलन गरिएका ५६ नाल भरुवा बन्दुक मध्य ५५ नाल साबुत अवस्था रहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्