प्रधानमन्त्री ओली: अवसर र चुनौती



विनोद नेपाल
वि.सं.२०७५ सालको विदाई गरी हामी नयां वर्ष २०७६मा प्रवेश गरेका छौं । नयां वर्ष प्रवेश गर्दैगर्दा हामीमा थुप्रै आकांक्षा र अपेक्षा हुन्छन् तर समय,परिस्थिति यस्तो भइदिन्छ कि सोंचेका वा चाहेजसरी कामहरु हुंदैनन्,अवरोध र अप्ठेराहरु आउंछन् त्यसले जीवनलाई अपेक्षित गति दिन सकिंदैन । तथापि पुरानोको विदाई र नयांको स्वागत गर्नैपर्छ किनकि यो नियमित प्रक्रिया हो र यसलाई कसैले रोक्न सक्दैन । व्यक्तिगत रुपमा भोगाईका र यथार्थका कुरा एकातिर छन् राष्ट्रको जीवनमा पनि नयां वर्षले थुप्रै अपेक्षा ल्याउने भएपनि यथार्थमा ती मध्ये कति हासिल हुन्छन्,कति हुंदैनन् त्यो परिस्थितिका साथै नेतृत्वको इच्छाशक्ति र भूमिकामा भरपर्ने कुरा हो ।

हाम्रो सन्दर्भमा वितेको वर्ष २०७५ नयां परिवेशमा विशेष खालको आशा र सम्भावनाका साथ प्रारम्भ भएको थियो । तर जेजस्ता अपेक्षा थिए र जेजस्ता आश्वासन बांडिएका थिए सो अनुरुप कामकारवाही अगाडि बढ्न नसक्दा नेपाली जनतामा निराशा कायमै रह्यो । त्यसो त आफ्नो नयां वर्षको सन्देशमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले धेरै काम गरेको, समृद्ध नेपालको निर्माण गर्ने दिशातर्फ अग्रसर भएको र अब नेपालीका दुःखका दिन समाप्त हुने क्रममा रहेको बताए ।

प्रधानमन्त्री ओलीले देशवासीको नामको आफ्नो सम्बोधनमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई नयां वर्षको शुभकामना दिंदै विदा भएक नाउन सबैले आआफ्नो स्थानबाट मेहनत गरेको भन्दै त्यसका लागि सबैलाई धन्यवाद दिए । आफूो २०७५ साल आशा, उत्साह र अपेक्षाका साथ प्रारम्भ भएको बताए । उनले मुलुकलाई समृद्ध बले वितेको वर्षको प्रारम्भ गर्दा कर्णालीको रारा ताल किनारबाट केही कार्यक्रम प्रारम्भ र घोषणा गरेको स्मरण गर्दै केही भावनात्मक कुरा पनि गरे । प्रधानमन्त्रीले संघीयता नयां अभ्यास भएको र यसमा चुनौती रहेका, तर यस प्रणाली अन्तर्गतका सबै तहका सरकारहरु व्यवहारबाट सिक्दै,कमी कमजोरीलाई संच्याउंदै अघि बढेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठदै रहेको भन्दै मुलुकको आर्थिक, राजनीतिक रुपान्तरणको यस प्रक्रियामा धैर्यतापूर्वक संलग्न हुने र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउनेहरुलाई उनले शुभकामना र बधाई दिए ।

त्यसो त प्रधानमन्त्रीले आफ्नो सरकारले बेथिती विसंगतीको अन्त्य गर्न,भ्रष्टाचार उन्मूलन गर्न र सुशासनको प्रत्याभूति गर्दै विकास र समृद्धिको दिशातर्फ अघि बढ्न ठोस योजना तयार गरेको र यो वर्ष आधार वर्ष भएकाले अबका दिनमा सबैले महसुसगर्ने गरी र कसैले पनि प्रश्न गर्न नसक्ने गरी परिणाममुखी ढंगमा काम गर्ने बताएका छन् तर हालसम्मको शैलीले प्रधानमन्त्रीको भनाइप्रति विश्वास गर्ने आधार देखिंदैन । प्रधानमन्त्री बोल्न रुचाउने, तर काम गर्ने सम्बन्धमा खासै चासो नराख्ने खालको स्वभाव देखाएका धेरैले महसुस गरेका छन् । प्रधानमन्त्रीको सरकारका कामको प्रशंसासहितको अभिव्यक्ति आएपनि प्रमुख प्रतिपक्षीले भने प्रधानमन्त्रीको दाबीलाई गलत ठह¥याएको छ । प्रधानमन्त्रीले नयां वर्षको अवसरमा र सोही दिन अन्य कार्यक्रममा समेत अभिव्यक्त गरेका धारणाप्रति तीब्र असन्तुष्टि जनाउंदै आफ्नो प्रतिक्रिया दिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षको कार्याकाललाई असफल वर्षको रुपमा चित्रण गरेको छ । कांग्रेसले वैशाख २ गते पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्पmत सुशासन,शान्तिसुरक्षा र विकासका दृष्टिले असफल वर्षको रुपमा रहेको जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आयोजना गरेको सो पत्रकार सम्मेलनमा सरकारको असफलताका आधार समेत प्रस्तुत गरिएका छन् । संघीयता कार्यान्वयनमा देखिएको विरोधाभास, संवैधानिक परिषद र न्यायपालिकामाथिको हस्तक्षेप, भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा गरेपनि व्यवहारमा संरक्षण गरिएको, जघन्य अपराधमा संलग्नहरुको पहिचान गर्न नसकेको तथा प्रधानमन्त्रीबाट पटकपटक अशोभनीय खालका अभिव्यक्ति दोहोरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार मुलुकलाई सही दिशातर्फ डो¥याउन असफल भएको ठहर गरेको छ ।

दलहरुबीचको मनोमालिन्यले अप्रिय अवस्था सिर्जना हुन सक्ने प्रशस्त उदाहरण भएकाले त्यसको हेक्का राख्दै, नेकपा स्वयंभित्र एकताको नाममा रहेको अनेकताका बीचको अप्ठेराहरुलाई पनि हेक्का राख्दै नयाँ वर्षमा नयाँ ढंगमा सहमति र सहकार्य गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार एवम् शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष ध्यानाकर्षण हुनु जरुरी छ ।

यसैगरी २०७५ सालको प्रारम्भ केही नवीन आशाका साथ भएको तर विदाई भने आशालाई विश्वासमा वदलेर हुन नसकेको कांग्रेसको धारणा छ । गम्भीर राजनीतिक चुनौती नभएको, केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म आफ्नै पार्टीको वहुमत प्राप्त सरकार रहेको अवस्थामा दुईतिहाई समर्थनको सरकारले छोटो समयमै थुप्रै काम गर्न सक्ने आम विश्वास भएपनि त्यसो हुन नसकेको कांग्रेसको टिप्पणी छ ।

कांग्रेसले संघीयता कार्यान्वयनको सवालमा अधिकार बांडफांड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण,कर्मचारी समयोजन र उचित बजेट प्रबन्ध गर्न समेत सरकारले नसकेको बताएको छ । यसैगरी सबै प्रदेशहरुको नामाकरण र राजधानीको टुंगो लगाउन नसक्नुलाई पनि कमजोरीको रुपमा औंल्याइएको छ । सरका गएको वर्ष शक्तिको विकेन्द्रीकरणको मान्यता तथा संघीयताको सिद्धान्त विपरीत एकातिर राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रीकृत गरिएको तथा अर्कोतिर राष्ट्रिय सुरक्षा परिषदलाई संविधानले प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन गर्ने विधेयक ल्याएर परिषदलाई प्रधानमन्त्रीको लाचार छांया बनाउने दुस्प्रयास भएको भन्दै शक्ति विकेन्द्रीकरण र संघीयता कार्यान्वयनको सन्दर्भमा २०७५ साल असफल भएको बताएको हो । कांग्रेसले संवैधानिक परिषद र न्यायपाकिलालाई कार्यपालिकाको लाचार छायां बनउाने प्रयत्न गरेको,सरकारको अपरिपक्व र आदूरदर्शी शैलीका कारण अन्तर्राष्ट्रिय जगतमा मुलुकको छविमा प्रतिकूल प्रभाव परेको टिप्पणी पनि गरेको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । प्रधानमन्त्रीओलीले कांग्रेसलगायतका प्रतिपक्षी दलले आन्दोलन गर्ने घोषणा गरेकोमा सो प्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरुलाई ‘नन्दीभृंगी’को संज्ञा दिएका थिए । कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘संस्कारहीन’ एवं ‘अशोभनीय’ भन्दै प्रधानमन्त्रीलाई जथाभावी अभिव्यक्ति नदिन चेतावनी पनि दिएको छ । प्रधानमन्त्रीले बोलीमा मात्र जोड दिएको, कहिले कार्यकर्तालाई अरिंगाल बन्न सुझाउने, कहिले बुद्धिजीवीलाई थला पार्ने जस्ता अभिव्यक्ति दिएका कारण विवादमा परेका प्रधानमन्त्रीले नयां वर्षकै दिन प्रतिपक्षी दलहरुलाई नन्दीभृंगीको संज्ञा दिइ आफ्नो नकारात्मक सोच,शैली र संस्कारलाई अगाडि बढाएको टिप्पणी पनि कांग्रेस प्रवक्ताले गरेका छन् ।

वास्तवमै भन्नुपर्दा वितेको वर्ष उत्साहपूर्ण वातावरणमा प्रारम्भ भएको थियो । तर कुरा धेरै र काम थोरै भएका कारण आर्थिक सामाजिक रुपान्तरण तथा जनजीविकाको मुद्दामा देखिने र महसुस हुने केही भएन । शक्तिशाली सरकार अपेक्षा गरे अनुरुप सफल देखिएन । राजनीतिक दलहरुबीचको सम्बन्ध होस् चाहे जनताका आकांक्षाको सम्बोधन उसले आफूलाई जिम्मेवार देखाउन सकेन । परिणामुखी नभइ प्रचारमुखी देखियो । तामझामपूर्ण रुपका घोषणा गरिएका कार्यक्रमहरुको हविगत टिठलाग्दो देखियो । सरकारले प्रतिपक्षीमाथि असहिष्णुता देखायो र प्रतिपक्षको पटकपटक अपमान र उपेक्षा ग¥यो । आशा देखाउने महत्वाकांक्षी योजनाहरु ल्याएपनि अधिकारहरु केन्द्रिकृत गर्ने, विभिन्न संवेदनशील निकायहरुलाई प्रधानमन्त्रीको मातहत ल्याउनुले सरकारको नियत प्रति नै आशंका बढेको छ । मुलुकको धरातलीय यथार्थलाई हेक्का राख्दै सबै किसिमको दम्भ त्यागी सहमति र सहकार्यको भावनाका साथ अगाडी बढ्ने प्रयास गरेमा नेपालीको आगामी वर्ष अवश्यै सुखद हुने अन्यथा मुलुकमा नयां खालको द्वन्द्व सिर्जना हुन सक्ने भएकाले यसतर्फ प्रधानमन्त्री ओलीको विशेष ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले पनि कहिले भागवण्डामा राजी भएर मौनता सांध्ने र कहिले सडक आन्दोलनको धम्की दिने जस्ता व्यवहार परित्याग गरी जिम्मेवार प्रतिपक्षको रुपमा उभिनुपर्छ । पार्टी भित्रको कलह नै साम्य पार्न नसकेको र आन्तरिक कलहले गर्दा हैसियत छताछुल्ल भएको अवस्थामा कांग्रेसले आफूलाई संसदमा होस् वा अन्य क्षेत्रमा नै सशक्त रुपमा प्रस्तुत गर्न नसक्ने भएकाले सर्वप्रथम आफूलाई एक ढिक्का बनाउने र अन्य दलहरुलाई समेत साथमा लिई सरकारले गरेका गलत कार्यहरुको विरोधमा उत्रनु पर्छ । आफ्नो कमजोर संगठनलाई सुदृढ गराउन सकेमा त्यसबाट सत्तारुढ दललाई भिन्न किसिमको दबाब पर्छ । यसो हुन सकेमा एकातिर मनोमानी ढंगमा अगाडि बढ्ने प्रयत्न गरिरहेको वर्तमान सरकारको त्यस्तो प्रयासमाथि लगाम लाग्नेछ भने अर्कोतिर लोकतन्त्रको मूल्य,मान्यता र सिद्धान्त विपरीत जुनखालका कदमहरु चालिएका र चाल्ने प्रयास भइरहेका छन् त्यसबाट पछि हट्न सरकारमाथि दबाब पर्छ र पछि हट्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।

अन्त्यमा, मुलुक अझैपनि संक्रमणकै अवस्थाबाट गुज्रिरहेको छ । हिंजोको संक्रमण भिन्न खालको थियो भने संविधान जारी भएपछिको संक्रमण भिन्न खालको हो । यस्तो संवेदनशील अवस्थामा कसैले पनि दम्भ पालेर एक्लै अघि बढ्ने प्रयास गर्नु हुंदैन । दलहरुबीचको मनोमालिन्यले अप्रिय अवस्था सिर्जना हुन सक्ने प्रशस्त उदाहरण भएकाले त्यसको हेक्का राख्दै, नेकपा स्वयंभित्र एकताको नाममा रहेको अनेकताका बीचको अप्ठेराहरुलाई पनि हेक्का राख्दै नयाँ वर्षमा नयाँ ढंगमा सहमति र सहकार्य गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार एवम् शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष ध्यानाकर्षण हुनु जरुरी छ । प्रधानमन्त्री ओलीका सामु सहज परिस्थितिमा काम गरेर देखाउने अवसर तथा असन्तुष्ट पक्ष र प्रतिपक्षीलाई संगसंगै लैजाने चुनौती पनि छ । यसमा उनले आफ्नो सामथ्र्य देखाउनुपर्छ । चतुर मात्र बन्न खोजेमा त्यो सम्भव हुने छैन । अन्यथा केही गरेर देखाउंछु र आफूलाई सांच्चिकै राजनेताको रुपमा स्थापित गर्छु भन्ने उनको चाहना व्यर्थ सावित हुने र इतिहासले उनलाई एक महत्वाकांक्षी तर विवादास्पद पात्रको रुपमा मात्र चिन्ने अवस्था रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्