‘श्रेष्ठको चर्चाबिना व्यावसायिक पत्रकारिताको इतिहास नै अपूर्ण’



नेपाल समाचारपत्र, काठमाडौं
व्यावसायिक पत्रकारितामा लामो समय बिताएका विभिन्न व्यक्तिहरूले कामना प्रकाशन गृह र स्वर्गीय पुष्करलाल श्रेष्ठको भूमिकाको उल्लेख बिना नेपालको व्यावसायिक पत्रकारिताको इतिहासमा पूर्ण नहुने विचार व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाद्वारा शनिबार भीमसेनस्थानस्थित कार्यालय परिसरमा आयोजित श्रद्धाञ्जली सभाका वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

उक्त अवसरमा नेपाल समाचारपत्रका पूर्वसम्पादकसमेत रहनुभएका वरिष्ठ पत्रकार कपिल काफ्लेले व्यावसायिक पत्रकारिताको विकास क्रममा २०४१ सालमा प्रकाशित कामना र प्रधानसम्पादक श्रेष्ठको साढे तीन दशकको पत्रकारिताको योगदानको चर्चा गर्दै त्यस प्रसंङ्गको चर्चाबिना व्यावसायिक पत्रकारिताको इतिहास अपूर्ण रहने बताउनुभयो ।

‘कामना प्रकाशन गृहको इतिहास नै व्यावसायिक पत्रकारिताको परीक्षणशाला हो’, पूर्वसम्पादक काफ्लेले भन्नुभयो–वरिष्ठ पत्रकार श्रेष्ठले देखाउनुभएको बाटोमा गृहका प्रकाशनलाई अघि बढाउनुपर्ने खाँचो छ ।’

नेपाल समाचारपत्रका पूर्वसम्पादक बद्री तिवारीले व्यावसायिक पत्रकारिता भन्नाले व्यापारिक पत्रकारितालाई बुझ्ने गरेको सन्दर्भ कोट्याउँदै भन्नुभयो–सार्वजनिक हितप्रति प्रतिबद्ध सत्य, तथ्य र निष्पक्ष रुपमा गरिने सामाजिक जिम्मेदारीसहितको पत्रकारिता नै व्यावसायिक पत्रकारिता हो । यो सिद्धान्त कामना प्रकाशन र स्वर्गीय श्रेष्ठले व्यवहारबाटै स्थापित भएको हो ।

उहाँले श्रेष्ठले गर्नुभएको निर्भीक, निष्पक्ष र निडर पत्रकारितालाई व्यावसायिक पत्रकारिताको उदाहरणका रुपमा लिएर अघि बढ्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल समाचारपत्रका पूर्वसम्पादक लेखनाथ अधिकारीले स्वर्गीय श्रेष्ठको असामयिक निधनले दुःखित भएको बताउँदै शोकलाई शक्तिमा बदल्नुपर्ने खाँचो औंल्याउनुभयो ।

स्वर्गीय श्रेष्ठले गर्नुभएको पत्रकारिता, उहाँको विचार र विश्वासलाई दृढताका साथ आत्मसात गरी अघि बढेर नै शोकलाई शक्तिमा बदल्न सक्ने उहाँको भनाइ थियो ।

साधनाका पूर्वसम्पादक लक्ष्मण अधिकारीले कामना प्रकाशन गृहमा बिताएको २० वर्षको समयमा स्वर्गीय श्रेष्ठको विचार, व्यवहार, सामूहिक कार्य व्यावसायिक पत्रकारितामा अघि बढ्न आफूलाई सदैव प्रेरित गरेको बताउनुभयो । श्रेष्ठको निधनपछि उहाँलाई प्रेरणाको बिन्दु मानेर नेपाल समाचारपत्र र त्यसका सहप्रकाशनलाई सार्वजनिक हितप्रति प्रतिबद्ध भई अझ व्यापक बनाउँदै निरन्तरता दिनुपर्ने जिम्मेवारी पछिल्लो पुस्ताको काँधमा आएको उहाँले बताउनुभयो ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजु श्रेष्ठले आफ्ना प्रकाशक तथा प्रधानसम्पादकको निधनले नेपाली पत्रकारिता क्षेत्रले व्यावसायिक पत्रकारिताको एक सशक्त अभिभावक गुमाएको बताउँदै उहाँले रोप्नुभएको कामना प्रकाशन गृहले व्यावसायिक पत्रकारिताका मूल्य र मान्यतालाई आत्मसात् गरेर सदैव अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका सचिव यदुप्रसाद भट्टले सञ्चालन गर्नुभएको उक्त सभा श्रेष्ठको स्मृतिमा एक मिनेट मौनधारण गरी शुरु भएको थियो । सहभागी सबैले स्वर्गीय श्रेष्ठको तस्वीमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उक्त अवसरमा प्रकाशन गृहका प्रशासन प्रमुख अञ्जु श्रेष्ठ, लेखा प्रमुख सरोज श्रेष्ठलगायत गृहमा कार्यरत पत्रकार, कर्मचारी र गृहमा पूर्वकार्यरत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्