‘स्वर्गीय श्रेष्ठको उल्लेख बिना व्यावसायिक पत्रकारिताको इतिहास अपूर्ण रहने’



व्यावसायिक पत्रकारिताको अभिभावक गुमाउनुपरेमा दुःख व्यक्त

नेपाल समाचारपत्र, काठमाडौं

नेपालको व्यावसायिक पत्रकारिताको इतिहासमा कामना प्रकाशन गृह र स्वर्गीय पुष्करलाल श्रेष्ठको भूमिकाको उल्लेख बिना पूर्ण नहुने धारणा एक कार्यक्रमका वक्ताहरुले व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले शनिबार भिमसेनस्थान स्थित कार्यालय परिसरमा आयोजित श्रद्धाञ्जली सभाका सहभागी वक्ताहरुले सो धारणा राखेका हुन् ।

सो अवसरमा नेपाल समाचारपत्रका पूर्व सम्पादक समेत रहनुभएका वरिष्ठ पत्रकार कपिल काफ्ले व्यावसायिक पत्रकारिताको विकास क्रममा २०४१ सालमा प्रकाशित कामना र प्रधानसम्पादक श्रेष्ठको साढे तीन दशकको पत्रकारिताको योगदानको चर्चा गर्दै त्यस प्रसंङ्गको चर्चा बिना व्यावसायिक पत्रकारिताको इतिहास अपूर्ण रहने बताउनुभयो ।

‘कामना प्रकाशन गृहको इतिहास नै व्यावसायिक पत्रकारिताको परीक्षणशाला हो ।’पूर्व सम्पादक काफ्लेले भन्नुभयो।वरिष्ठ पत्रकार काफ्लले स्वर्गीय श्रेष्ठ देखाउनुभएको बाटोमा गृहका प्रकाशनलाई अघि बढाउनुपर्ने खाँचो पनि औल्याउनुभयो ।

सभामा नेपाल समाचारपत्रका पूर्व सम्पादक बद्री तिवारीले व्यावासयिक पत्रकारिता भन्नाले व्यापारिक पत्रकारितालाई बुझ्ने गरेको सन्र्दभमा सार्वजनिक हितप्रति प्रतिबद्ध सत्य, तथ्य र निष्पक्षसहित सामाजिक जिम्मेदारीसहितको पत्रकारिता नै व्यावसायिक पत्रकारिता हो भनेर कामना र स्वर्गीय श्रेष्ठले व्यवहारबाटै स्थापित गर्नुभएको स्मरण गर्नुभयो । उहाँले स्वर्गीय श्रेष्ठले गर्नुभएको निर्भिक, निष्पक्ष र निडर पत्रकारितालाई व्यावसायिक पत्रकारिताको उदाहरणको रुपमा लिएर अघि बढ्नुपनु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल समाचारपत्रका पूर्व सम्पादक लेखनाथ अधिकारीले स्वर्गीय श्रेष्ठको असामयिक निधनले दुःखित भएको भन्दै शोकलाई शक्तिमा बदल्नुपर्ने खाँचो औल्याउनुभयो । स्वर्गीय श्रेष्ठले गर्नुभएको पत्रकारिता, उहाँको विचार र विश्वासलाई दृढताका साथ आत्मसात गरेर अघि बढेर नै शोक शक्तिलाई बदल्ने सक्ने पनि पूर्व सम्पादक अधिकारीको भनाई रहेको छ ।

साधनाका पूर्व सम्पादक लक्ष्मण अधिकारीले कामना प्रकाशन गृहमा बिताएको २० वर्षको समयमा स्वर्गीय श्रेष्ठको विचार, व्यवहार, सामूहिक कार्य व्यावसायिक पत्रकारितामा अघि बढ्न आफूलाई सदैव प्रेरित गरेको बताउनुभयो ।श्रेष्ठको निधनपछि उहाँलाई प्रेरणाको बिन्दु मानेर नेपाल समाचारपत्र र त्यसका सहप्रकाशनलाई सार्वजनिक हितप्रति प्रतिबद्ध भई अझ व्यापक बनाउँदै निरन्तरता दिनुपर्ने जिम्मेवारी पछिल्लो पुस्ताको काँधमा आएको पनि पूर्व सम्पादक अधिकारीको भनाई रहेको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजु श्रेष्ठले स्वर्गीय श्रेष्ठको निधनले व्यावसायिक पत्रकारिताको एक सशक्त अभिभावक नेपाली पत्रकारिता क्षेत्रले गुमाएको बताउँदै उहाँले रोप्नुभएको कामना प्रकाशन गृहले व्यावसायिक पत्रकारिताका मूल्य र मान्यतालाई आत्मसात गरेर सदैव अघि बढ्ने बताउनुभयो ।

प्रतिष्ठानका सचिव यदुप्रसाद भट्टले सञ्चालन गर्नुभएको सो सभामा स्वर्गीय श्रेष्ठको स्मृतिमा एक मिनेट मौनधारण गरी शुरु भएको थियो । सहभागी सबैले स्वर्गीय श्रेष्ठको तस्वीमा माल्यार्पण गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा प्रकाशन गृहका प्रशासन प्रमुख अञ्जु श्रेष्ठ, लेखा प्रमुख सरोज श्रेष्ठ लगायत गृहमा कार्यरत पत्रकार, कर्मचारी र गृहमा पूर्व कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्