डिभिजन वन कार्यालयमा छैनन् कर्मचारी, कार्यालय प्रमुखको जिम्मा निमित्तको पनि निमित्तलाई



धनवीर दाहाल,रुकुम ।
शुक्रबार बिहान १० बजे सानीभेरी गाँउपालिका ९ का दिपेन्द्र के.सी डिभिजन वन कार्यालय पुग्नुभयो । तुरुन्तै काम सकेर उहाँ शुक्रबार बेलुका नै घर फर्किने उद्देश्यले ठिक १० बजे कार्यालयमा पुग्नुभएको हो ।

तर कार्यालयमा जिम्मेवार तहका कर्मचारी नभएपछि के.सी निरास भएर फर्किनुभयो । उहाँ मात्र होइन बाँफिकोट गाँउपालिका ४ का रनजित खत्रीपनि ठिक १० बजे नै पुग्नुभएको थियो ।

उहाँ पनि हाकिम नभएको थाहा पाएपछि फर्किनुभयो । उहाँहरु त प्रतिनिधि पात्र मात्र हो । कर्णाली प्रदेश सरकार अन्र्तगत रुकुम पश्चिममा रहेको डिभिजन वन कार्यालयमा एक हप्ता यता कार्यालय प्रमुखदेखी सहायक बन अधिकृत सम्मका कर्मचारी नभएपछि सेवाग्राही मर्कामा परेका छन् । यस अघिका डिभिजनल वन अधिकृत मुकुन्द अधिकारी गण्डकी प्रदेशमा समायोजन भएपछि उहाँ कार्यक्षेत्र जानुभयो ।

गत चैत्र २७ गते वन अधिकृत अधिकारीसँगै सहायक बन अधिकृत अर्जुन रिजाल र पुष्पाञ्जली आचार्य सुदुरपश्चिम प्रदेश आफ्नो कार्यक्षेत्रमा जानुभयो । रिजाल र आचार्यको समायोजन सुदुरपश्चिम प्रदेशमा भएकोले उहाँहरु पत्र पुग्न बित्तिकै कार्यक्षेत्र जानुभयो ।

कार्यालयमा रहनुभएका अर्का सहायक वन अधिकृत राजेन्द्रप्रसाद शाहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर कार्यालय प्रमुख अधिकारी गएको ३ दिनपछि शाहलाई पनि पत्र पुग्यो । समायोजनको पत्र बुझेर निमित्तको जिम्मेवारी पाउनुभएका शाह पनि प्रदेश नं ३ मा गएपछि हाल अधिकारवाला अधिकृत नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

६ जना सहायक वन अधिकृतको दरबन्दी रहेको डिभिजन वन कार्यालय रुकुम पश्चिममा ३ जनाको दरबन्दी खाली छ । बाँकी रहेका ३ जना पनि समायोजनले अरु ठाँउमा पठाउँदा र नयाँ अधिकृतहरु नआउँदा समस्या भएको हो । यसै गरी यस अघिका लेखापाल हेमन्त के.सीको सरुवा भएको र नयाँ लेखापाल नहुँदा झन समस्या भएको कार्यालयले जनाएको छ । हाल निमित्तको जिम्मेवारी पाउनुभएका नायव सुब्वा निर्मला के.सीलाई अधिकार नभएकोले दैनिकजसो सेवाग्राही रित्तो हात फर्कनुपरेको छ ।

आर्थिक बर्ष सकिनै लाग्दा पनि समायोजन भएर आउने हाकिम र अन्य अधिकृतहरु कहिले आउने र को आउने थाहा नभएको नायव सुब्वा के.सीले बताउनुभयो । उहाँले भन्नुभयो “को आउनुहुन्छ र कहिले आउनुहुन्छ थाहा छैन ।

दैनिक प्रशासनिक कामहरु त हामी गर्न सक्छौं तर आर्थिक र अन्य प्राबिधिक काम हामीलाई थाहा हुँदैन ।” सेवाग्राहीसँग भएका बिभिन्न सम्झौता गर्न, वन जंगल सम्बन्धी लगाएतका काम आफुहरुलाई गर्न नमिल्ने निमित्त कार्यालय प्रमुख नायव सुब्वा के.सीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्