चांगी विमानस्थलको विश्वकै सबैभन्दा ठूलो कृत्रिम झरना खुला



सिंगापुर, (एजेन्सी)
सिंगापुरस्थित विश्वकै सबैभन्दा ठूलो इन्डोर वाटरफल बुधबारदेखि आधिकारिक रुपमा सर्वसाधारणका लागि खुला गरिएको छ।

विश्वकै अत्याधुनिक तथा व्यस्त विमानस्थलमध्येको एक चांगी विमानस्थलको एक हिस्साका रूपमा रहेको उक्त कृत्रिम झरनाको विगत करिब ४ वर्षदेखि नवीकरण भइरहेको थियो। यसलाई नयाँ रुप दिन करिब १ अर्ब १३ करोड डलर खर्च लागेको छ। यसको सबैभन्दा ठूलो विशेषता भनेको यो छतबाट तल झर्ने सबैभन्दा अग्लो झरना हो।

यसको उचाइ करिब १ सय ३० फिट छ। यसलाई बनाउनमा ९ हजारभन्दा धेरै काँचका प्यानल प्रयोग भएको छ। सबै प्यानलको डिजाइन एक अर्कासँग फरक छन्।

सिंगापुरको चांगी विमानस्थल विश्वकै सातौं व्यस्त विमानस्थलमा पर्छ। विमानस्थलमा ४ तल्लाको बगैँचा निर्माण गरिएको छ। यहाँ कयौं प्रकारका बिरुवा लगाइएको छ। यात्रीले अब सबैभन्दा ठूलो इन्डोर झरनाको पनि आनन्द उठाउन पाउने चांगी विमानस्थलका अधिकारीहरूले बताए।
विश्वकै सातौं व्यस्त यस विमानस्थलको ४ टर्मिनलबाट सन् २०१८ मा ६ करोड ५६ लाख यात्रीले आवतजावत गरेका थिए।

चांगी विमानस्थल १ लाख ३५ हजार ७ सय बर्गमिटरमा फैलिएको छ। स्काइटेक्स र्यांकिङमा यो सबैभन्दा माथि छ। यहाँ २ सय ८० रिटेल पसल बनाइएका छन्। यहाँ दुई थिएटर र सपिंगस्पट रहेको छ। यसको निर्माणमा ९ हजारभन्दा धेरै काँचका प्यानल प्रयोग गरिएको छन्। यो संरचना १० तल्ला रहेको छ। यसमा ५ तल्ला जमिनमाथि र ५ तल्ला जमिनमुनि रहेका छन्।

यो विमानस्थलमा १ सय ५० सिटको चांगी लन्ज बनाइएको छ। यहाँ १ सय ३० क्याबिनको होटलको पनि व्यवस्था छ। विमानस्थलको छतमा स्विमिङ पुल पनि बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्