विश्वकै ठूलो पुस्तकालय नियाल्दा



शरद सापकोटा

अमेरिका भ्रमणको क्रममा “लाइब्रेरी अफ कंग्रेस” घुम्ने अवसर प्राप्त भयो। “लाइब्रेरी अफ कंग्रेस” अमेरिकाको राष्ट्रिय पुस्तकालय हो। यो अनुसन्धानात्मक पुस्तकालय हो।

यो अमेरिकाको प्राचीन संघीय सांस्कृतिक संस्था हो। यो पुस्तकालय अमेरिकाको वाशिङटन डिसी स्थित क्यापिटल हिल भवनमा रहेको छ जहाँ अमेरिकी संसदको बैठक बस्ने गर्छ। यो राष्ट्रिय श्रब्यदृष्य संरक्षण केन्द्र पनि हो। यसले आफूलाई विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो भनेर दावी गर्छ।

यसका संग्रहहरू सीमित छैनन, यहाँ विश्वभरका असंख्य बिषयक्षेत्रका अध्ययन अनुसन्धान सामग्रीको भण्डारण रहेको छ। यसभित्र विश्वका ४ सय पचास भन्दा बढी भाषाका सामग्रीको ज्ञानकेन्द्र रहेको छ।

सुरुमा सांसदहरूले विभिन्न बिषयमा अध्ययन गर्न सञ्चालन गरिएको यो पुस्तकालय विस्तारै जनता तहसम्म विस्तार गरी हाल संसदको बैठक समेत सर्वसाधारणले हेर्न सकिने गरी ब्यवस्थापन गरिएको छ। संसदका बैठकहरू लाई जनताले प्रत्यक्ष हेर्न सक्ने पुस्तकालय र संसद विश्वमा नै यो एकमात्र हो।

यो भवनको अर्को साइडमा अमेरिकी सर्वोच्च अदालत रहेको छ। अनुपम कलाले निर्माण गरिएको यस भवनको वास्तु अद्वितीय छ। आजभन्दा १ सय ५० बर्ष अगाडि निर्माण भएको भवन हेर्दा कसैले पनि त्यति पुरानो भवन होला भनेर अनुमानै गर्न सक्दैन।

यसमा प्रवेश गर्दा देखि नै कडा सुरक्षा जाँच हुन्छ। प्रहरीले ३ चरणको सुरक्षा जाँच गरेपछि भित्र पठाइन्छ। सबै उमेर समूहका मानिसहरू त्यो हेर्न अनुमति पाउँछन्। पहिलो चरणमा लाईब्रेरीको ऐतिहासिक महत्व र वर्तमान आवश्यकता झल्कने डकुमेन्ट्री प्रदर्शन गरिन्छ।

त्यसपछि त्यहाँको प्राचीन कला, शैली र भवनको महत्व साथै पुस्तकालयको सम्पूर्ण विवरण बताउन गाइडहरू खटिन्छन्। गाइडले आफूले माइक्रोफोनको प्रयोग गर्छन र प्रयेक आगन्तुकलाई इयरफोन दिइन्छ। विभिन्न साना साना समूहमा आगन्तुकलाई विभाजन गरेर फरक फरक गाईडले त्यहाँका विभिन्न कक्ष , तला र कलाका नमुनाको बारेमा ब्याख्या गर्दै गर्दै लैजान्छन्। आगन्तुकले जिज्ञासा लागेका कुरा सोध्न सक्छन्। यसको भूँइमा तेल लगाएजस्तै टल्कने पत्थर बिछ्याइएको छ तर हिड्दा भने सडकमा हिडेजस्तै अनुभूत हुन्छ।

अमेरिकी प्रचीन कालिगढले निर्माण गरेका कलात्मक राष्ट्रिय ब्यक्तित्वका मूर्ती, विभिन्न जातजाति र सम्प्रदायका चिनारी, प्राचीन जीवनशैली देखि वर्तमान समयको जीवन्तता देख्न सकिन्छ। कलात्मक तस्वीरहरू, हस्तकला, चित्रकला सँगै विश्वभरका ज्ञानको भण्डारणको रूपमा बुझ्न सकिन्छ। यो विशाल भवनमा सरसर्ती घुम्दा मात्रै करिब ३÷४ घण्टा लाग्छ।
लाइब्रेरी अफ कंग्रेस सन् १८०० मा स्थापना गरिएको थियो। जुनबेला अमेरिकाको राजधानी न्यूयोर्क र फिलाडेल्फियाबाट वाशिङ्गटन डिसी सारिएको थियो।

सन् १८१२÷१४ को युद्धताका बेलायती फौजद्वारा लाइब्रेरी अफ कंग्रेस रहेको भवनमा आगो लगाइएको थियो। जसमा लाइब्रेरीका मुख्य ३००० जति संकलनहरू नष्ट भएका थिए। त्यसको एक महिनामा थोमस जोफर्सनले आफ्नो ब्यक्तिगत पुस्तकालयलाई प्रतिस्थापन गरी यो पुस्तकालयलाई प्रदान गरेका थिए। त्यो बेला यो लाईब्रेरीले झण्डै २४ हजार डलर बराबरका ६ हजार ४ सय ८७ पुस्तकहरू प्राप्त ग¥यो। जुन लाइब्रेरीको पहिलेको मौलिक संकलन भन्दा झण्डै दोब्बर थियो। त्यसरी सुरु गरिएको लाईब्रेरीको संकलन अहिले दिनानुदिन हजारौँको संख्यामा बढीरहेको छ।

सन १८१७ मा लाईब्रेरीको प्रतिलिपि अधिकार कानून पारित गरियो। जसबाट हरेका प्रतिलिपि अधिकार पाएका आवेदनकर्तालाई उनीहरूले गरेको कामको दुई प्रति पुस्तक लाईब्रेरीलाई पठाउनुपर्ने प्रावधान गरायो। लाईबे्ररीमा अझैपनि अमेरिकी प्रतिलिपि अधिकारको कार्यालय रहेको छ।

लाईब्रेरीका अधिकांश पुस्तकहरू लाईब्रेरीको प्रतिलिपि अधिकार प्रक्रिया अन्तर्गत प्राप्त हुने गर्छन।
सन १८७३ मा नयाँ भवनको योजना सुरुवात गरियो। सन १८७६ मा सो योजना पारित भयो र १८७७ मा भवन उद्घाटन भएसँगै सो भवनको नाम थोमस जेफर्सन भवन नामाकरण गरियो।
“लाईब्रेरी अफ कंग्रेस” अमेरिकाको सबैभन्दा ठूलो संघीय सांस्कृतिक संस्था मानिन्छ।

जसमा १ सय ५० मिलियन भन्दा बढी सामग्रीहरू राखिएका छन्। जसमा ३६ मिलियन भन्दा बढी सूचीकृत गरिएका पुस्तकरु छन्। भने ४ सय ७० भन्दा बढी भाषाका प्रतिनिधिमूलक सशुल्क सामग्रीहरू पनि रहेका छन्।

धेरै मानिसको बुझाईमा पुस्तकालयमा मुख्यतया पुस्तकहरू मात्रै राखिन्छन् जबकि यस लाईब्रेरीमा धेरै संख्यामा पुस्तकहरू त छन् नै यसका अलावा नक्सा, तस्वीर, संगीत, छपाई, साउण्ड रेकर्डि·, चलचित्र, चित्रकला र पाण्डुलिपिहरू संरक्षित गरिएको छ। यहाँ अमेरिकन इतिहासका र संस्कृतिका हस्तलिखत सामग्रीहरू र करिब ७० मिलियन संस्थाका पाण्डुलिपिहरू संग्रहित छन्। जसमा थोमस जोफर्सनको मौलिक स्वतन्त्रताका घोषणापत्र, जर्ज वाशि·टनको प्रथम उद्घाटन भाषण, अब्राहम लिंकनको जेडिसवर्ग सम्बोधन जस्ता महत्वपूर्ण ब्यक्तिका अभिब्यक्तिहरूको संरक्षण गरिएको छ।

यहाँ २० भन्दा बढी अध्ययन कक्षहरू रहेका छन्। किताबहरू राख्ने बुक सेफको लम्बाइ ८५० माइल हुन आउँछ। किताब बाहेक ३० लाख भन्दा बढी रेकर्डि· ६० लाख भन्दा बढी सामुद्रिक संगीत रहेका छन्। लाईब्रेरीमा दैनिक करिब १५ हजार सामग्री थपिन्छन्। प्राप्तमध्ये करिब १२ हजार सामग्री दैनिक सूचीकृत हुन्छन्। जुन सामग्री बार्षिक २० लाख भन्दा बढी हुन आउँछ।

लाईब्रेरी सन १९८७ देखि सर्वसाधारणका लागि खुल्ला गरिएसँगै यो एक अतुलनीय राष्ट्रिय गौरवको रूपमा रही आएको छ। यो सबैभन्दा ठूलो, सुरक्षित र मूल्यवान पुस्तकालयको रूपमा परिचित छ। पुस्तकालयलाई प्राचीन ५० भन्दा बढी अमेरिकी कलाकार र वास्तुविदको कलाकारिताले भरपूर सिँगारिएको छ जसमा अमेरिकाको शास्त्रीय परम्परालाई इंगित गरिएको छ।

१६ बर्ष उमेर पुगेको परिचयपत्र बोक्ने नागरिक पुस्तकालयको सदस्यमा दर्ता भई पुस्तक लैजान पाउँछ। पुस्तकालयको भब्यता उत्प्रेरक र मनमोहक छ। पुस्तकालयको अवस्था र सामग्रीहरू खोज्न पुस्तकालय स्थल जानुपर्दैन यसको वेवसाईटमै लाखौँको सामग्री विना दर्ता र विना शुल्क हेर्न सकिन्छ। यसले विश्वलाई ज्ञानको स्रोतको रूपमा काम गरिरहेको छ। दैनिक हजारौँ आगन्तुकहरूले भरपुर रहने यो भवन सधैँ खचाखच रहन्छ। यहाँ भ्रमण गर्दा कुनै शुल्क लाग्दैन, यो सरकारी खर्चमा चलेको छ। यो संसारको नमुना पुस्तकालय हो।

प्रतिक्रिया दिनुहोस्