विप्लव नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ



नरेन्द्र केसी, दाङ ।
विप्लव नेतृत्वको नेकपाका दुइ केन्द्रीय सदस्य दाङमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ३ राम्रीनजिकबाट उनीहरु पक्राउ परेका हुन् ।

तुलसीपुर–सल्यान सडक खण्डको पैयाँखोरेबाट प्रहरीले केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई पक्राउ गरेको हो । उहाँहरुसँगै रोल्पा जिल्ला सदस्य लालबहादुर ओली ‘विश्व’ पनि पक्राउ पर्नुभएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका ३ घर भएका चुडामणि माओवादी आन्दोलनका पुराना नेता हुनुहुन्छ । पक्राउ परेका लालबहादुर उहाँकै भाइ रहेको र उहाँ रोल्पा जिल्ला जनसरकार प्रमुख भएको सुरक्षा स्रोतले जनाएको छ । त्यस्तै दार्माकोट गाउँपालिका ५ सल्यान घर भएका केन्द्रीय सदस्य खड्का केही समय अघि पनि पक्राउ परेर अदालतको आदेशपछि रिहा हुनुभएको थियो । खड्का सैन्य विभाग मध्यकमाण्ड हेर्ने जिम्मेवारीमा रहेको सुरक्षास्रोतको दावी छ ।

तुलसीपुर प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको जानकारी दिएको छ । स्रोतका अनुसार नेताहरु सल्यान जाने क्रममा बा १८ च ३१४२ नम्बरको स्कोरिपियो गाडीबाट पक्राउ परेका हुन् । गाडीबाट नेताहरु सल्यान जाँदै गरेको सूचनाका आधारमा सल्यानको कपुरकोट र तुलसीपुरबाट गएको प्रहरीले बीचमा पारेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्