बैतडीका २३ हजार बालबालिकालाई ‘भिटामिन ए’ खुवाईँदै



A child receives a dose of vitamin A in Guatemala City.

विनोद सिंह विष्ट, बैतडी ।
दोश्रो चरणको राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम बैतडीमा पनि जारी रहेको छ । जिल्लाका ५ वर्षमुनिका २३ हजार बढी बालबालिकालाई शुक्रवार र शनिवार ‘भिटामिन ए’ र जुकाको औषधी खुवाइदैछ ।

बैतडी जिल्लाभरी रहेको ६ महिनादेखि ५ बर्षमुनीका २३ हजार ९७० बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईन लागिएको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी भुवन जोशीले जानकारी दिनुभयो । भिटामिन ए कार्यक्रम सहजीकरण गर्न सबै जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत ६ महिना देखि १ बर्षसम्मका वालवालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्षमुनिका वालवालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईन लागिएको हो ।

उक्त कार्यक्रमका लागी जिल्लाभरी ८३१ महिला स्वयमंसेविका परिचालन गरिएको छ । महिला स्वयमंसेविकाले शुक्रवार प्रत्येक स्थानिय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट औषधि खुवाउने र छुटेका बालबालिकालाई शनिवार घरमै गएर भिटामिन ए र जुकाको औषधी खुवाउने जनाएको छ ।

बच्चाको पेटमा जुका परेपछी रक्तअल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ए को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागी बच्चाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाईन लागेको हो ।

नजिकैको वडा कार्यालय वा भिटामिन ए खुवाउने केन्द्र वा महिला स्यवसेविकाज्यूहरुसँग सम्पर्क राखि भिटामिन ए तथा जुकाको औषधी खुवाउनु हुन स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ ।
सरकारले हरेक ६÷६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाईदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्