शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कक्षा ८ मा ग्रेड वृृद्धि परीक्षा



किरन धामी, दार्चुला ।
सम्भवतः नेपालमै पहिलो पटक होला कक्षा ८ मा ग्रेड बृद्धि परिक्षा संचालन गरिनु तर दार्चुला जिल्लाको महाकाली नगरपालिकाले आफ्नै शिक्षा नियमावली तयार पारी कक्षा ८ को ग्रेड बृद्धि परिक्षा संचालन गरिरहेको छ । महाकाली नगरपालिकाले आधारभुत तहको अन्तिम परिक्षा संचालन कार्यविधि २०७५ पारित गरी कक्षा ८ को ग्रेड बृद्धि परिक्षा संचालन गरिरहेको छ ।

कक्षा ८ मा (डि) वा (डि) भन्दा कम (दुई विषयमा) ग्रेड प्राप्त गरेका विद्यार्थीहरुको ग्रेड बृद्धिका लागी मौका परिक्षा संचालन भैइरहेको महाकाली नगरपालिका शिक्षा शाखा प्रमुख मान सिह धामीले बताउनु भयो । शारिरीक अस्वास्थता वा अन्य कुनै कारणले दुई वटा विषयको परिक्षा छुट्न गएका विद्यार्थीहरुको शैक्षिक क्षति कम गर्न ग्रेड बृद्धि परिक्षा संचालनको अर्को उद्देश्य रहेको उहाले बताउनु भयो ।

‘ग्रेड बृद्धि परिक्षा संचालनले शैक्षिक गुणस्तर अभिबृद्धिका साथै विद्यार्थीलाई माथिल्लो कक्षामा अध्ययन गर्ने अवसर प्राप्त हुन्छ, उहाले भन्नुभयो’ । महाकाली नगरपालिका भरी रहेका २२ वटा विद्यालयहरु मध्ये २० वटा विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने तथा दुई विषयमा असफल भएका विद्यार्थी ग्रेड बृद्धि परिक्षामा सामेल भएका छन् ।

२२ वटा विद्यालयहरु मध्ये जिल्ला सदरमुकाम खलंगामा रहेको संस्थागत विद्यालय एसिएन एकेडेमी र वडा नम्बर १ छापरीमा रहेको आधारभुत विद्यालय छापरीले कक्षा ८ मा पुर्ण सफलता प्राप्त गरेका छन् । उक्त विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने सबै विद्यार्थीहरु परिक्षामा उर्तिण हुन सफल भएका छन् ।

ग्रेड बृद्धि परिक्षाको केन्द्र जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र माविमा निर्धारण गरी परिक्षा संचालन भैइरहेका छन् । शुक्रबार गणित विषयको परिक्षा सम्पन्न भएको महेन्द्र माविका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । कक्षा ८ मा सबै भन्दा बढी विद्यार्थी गणित विषयमा असफल भएको उहाले जानकारी दिनुभयो । शुक्रबार १ सय ९२ परिक्षार्थीले गणित विषयको परिक्षामा सहभागिता जनाएको उहाले जानकारी दिनुभयो ।

२० विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने ६ सय १ विद्यार्थी मध्ये १ सय ९२ विद्यार्थी विभिन्न दुई वटा विषयमा असफल भएका थिए । महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको नगर प्रमुख हंसराज भट्टले बताउनु भयो । नगरपालिकालाई शैक्षिक नगरीकै रुपमा विकास गर्न यहि शैक्षिक सत्रबाट नगरपालिकाका सबै आधारभुत विद्यालयहरुमा अग्रेजी माध्यममा पढाई हुने समेत उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्