प्रअले गरेको यौनहिंसा खुलासा गर्दा १९ वर्षीया युवतीको विद्यालय परिसरभित्रै जलाएर हत्या



काठमाडौं । यौनहिंसाको समस्या विश्वव्यापी समस्या देखिएको छ । कतिपय यौनहिंसाका घटना बाहिर ल्याउँदा पीडितले शारिरीक र मानसिक यातना मात्रै होइन, जीवन नै गुमाउनु पर्नेसम्मका घटना हुुने गरेका छन् ।

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साताअघि मात्रै उनले आफ्ना प्रधानाध्यापकविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यौन उत्पीडनविरुद्ध आवाज उठाउने उनको साहस, यसबारे जानकारी दिएको पाँच दिनभित्रै हत्या गरिएको र त्यसबीचमा जे जति घटना भए त्यसले निकै चर्चा बटुलेको छ ।

१९ वर्षे नुसरत फेनीमा बस्थिन् । फेनी दक्षिणी ढाकाबाट १६० किलोमिटर टाढा छ । उनी मद्रासा वा इस्लामिक स्कूलमा पढिरहेकी थिइन् । मार्च २७ मा उनले आफूलाई स्कूलका प्रधानाध्यापकले अफिसमा बोलाएर अनैतिक तरिकाले पटक–पटक छोएको जानकारी दिइन् । आफूमाथि थप हिंसा हुनुअघि त्यहाँबाट भागेको उनले बताइन् ।

बंगलादेशका थुप्रै किशोरी तथा महिलाले आफूमाथि भएको यौनहिंसालाई समाजको डरले गोप्य नै राख्छन् । नुसरत यसकारण भिन्न भइन् किनभने उनले यसविरुद्ध आवाज मात्र उठाइनन्, घटना भएकै दिन आफ्नो परिवारसँग पुलिस स्टेशनमा गएर यसबारे जानकारी दिइन् ।

एक स्थानीय पुलिस स्टेशनमा उनले आफ्नो बयान दर्ता गरिन् । उनलाई आफूमाथि के भएको थियो भनेर बताउनका लागि सुनिश्चित वातावरण प्रदान गर्नुपर्ने साटो एक पुलिस अधिकारीले बयान दिइरहेका बेला उनको भिडियो खिचे ।

उक्त भिडियोमा नुसरत निकै आत्तिएकी थिइन् र बारम्बार आफ्नो अनुहार हातले लुकाउन खोजिरहेको देख्न सकिन्छ । उनले बयान दिइरहँदा पुलिसले ‘खासै ठूलो केही होइन’ भनिरहेको सुन्न सकिन्छ । पुलिसले उनलाई अनुहारबाट हात हटाउन बारम्बार भनिरहेको पनि सुन्न सकिन्छ । उक्त भिडियो स्थानीय मिडियामा पछि सार्वजनिक भयो ।

‘मैले उनलाई स्कूलभित्र लैजान प्रयास गरें’
नुसरत जाहा रफी सानो गाउँस्थित रुढिवादी परिवारमा हुर्किएकी थिइन् । उनी धार्मिक स्कूल गइन् । उनी जस्ती किशोरीले यौनहिंसा बारे जानकारी दिनु भनेको विभिन्न नतिजाको भागीदार हुनु हो । पीडितले समाजबाट विभिन्न लाञ्छना सहनु पर्छ, अनलाइनमार्फत् र मानिसबाटै थप हिंसा व्यवहोर्नुपर्छ र कुनै अवस्थामा सांघातिक हमला समेत । नुसरतको भाग्यको खेल, उनले यो सब भोगिन् ।

मार्च २७ तारिखमा उनी पुलिस स्टेशनमा गएपछि प्रधानाध्यापकलाई पक्राउ गरियो । त्यसपछि नुसरतका लागि समस्या सुल्झनुको साटो थप बढ्यो । प्रधानाध्यापकको रिहाईका लागि मानिसहरु सडकमा जम्मा भए । विद्यालयका दुई छात्र र केही राजनीतिज्ञको अगुवाइमा विरोध कार्यक्रम गरियो । मानिसहरुले नुसरतमाथि विभिन्न आरोप लगाउन थाले । त्यसपछि परिवार उनको सुरक्षाका लागि चिन्तित हुन थाल्यो ।

यस्तो समस्याका बीच अप्रिल ६ तारिखमा, यौनहिंसा भएको ११ दिनपछि नुसरत अन्तिम परीक्षाका लागि स्कूल गइन् । ‘मैले मेरी बहिनीलाई स्कूलभित्र लैजान विद्यालय परिसरभित्र प्रवेश गर्न चाहेँ तर मलाई त्यही रोकियो,’ नुसरतका दाइ, मोहम्मद हसन नोमनले भने ।

‘यदि मलाई नरोकिएको भए, मेरी बहिनीमाथि जे भयो, त्यो कदापी हुने थिएन,’ उनले भने ।
नुसरतले दिएको बयान अनुसार उनका साथीले एक जना साथी कुटिएको भन्दै उनलाई विद्यालयको छतमा लगिन् । जब नुसरत छतमा पुगिन् तब बुर्का लगाएका चार–पाँच जनाले उनलाई घेरेर प्रधानाध्यापकविरुद्धको आरोप फिर्ता लिन दबाब दिए । जब उनले अस्विकार गरिन्, तब उनीहरुले उनलाई आगो लगाए ।

यो घटनाबारे अनुसन्धान गरिरहेका बनाज कुमार मजुम्दरले हत्याराले यसलाई आत्महत्या देखाउन खोजेको बताए । उनीहरुको योजना विफल भयो जब नुसरतलाई उद्धार गरियो । मृत्युअघि उनले यसबारे बयान दिएकी छिन् । ‘हत्यारामध्येका एकले उनको टाउको हातले समातेर निहुराइदिएका थिए जसका कारण उनको टाउको जलेको थिएन,’ मजुम्दरले भने ।

तर जब नुसरतलाई स्थानीय अस्पताल पुर्‍याइयो तब उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको पाइयो । त्यहाँ उपचार सम्भव नभएकाले उनलाई ढाका मेडिकल कलेज हस्पिटल पुर्‍याइयो । एम्बुलेन्सभित्रै, आफू नबाँच्ने जस्तो लागेपछि, उनले आफ्नो दाइको मोबाइलमा बयान रेकर्ड गरिन् ।

‘मलाई शिक्षकले छोए । उनको यो अपराधविरुद्ध म अन्तिम साससम्म लडिरहनेछु,’ उनले यस्तो भनेको सुन्न सकिन्छ । आफूमाथि हमला गर्ने केही विद्यार्थीबारे पनि उनले जानकारी दिएकी छिन् । नुसरतको स्वास्थ्यबारे बंगलादेशी मिडियाले निकै चासो दिए । अप्रिल १० मा उनको मृत्यु भयो । फेनीमा आयोजित उनको अन्तिम संस्कारमा हज्जारौंको उपस्थिति रह्यो ।

पुलिसले अहिलेसम्म १५ जनालाई पक्राउ गरेको छ, तीमध्ये सात जना उनको हत्यामा संलग्न छन् । पक्राउ परेकामध्ये दुई जना ती छात्र हुन् जसले प्रधानाध्यापकको रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रधानाध्यापक जेलभित्र छन् । नुसरतले बयान दिइरहेको भिडियो खिच्ने पुलिसलाई अर्को विभागमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री शिख हसिनाले ढाका गएर नुसरतको परिवारलाई भेटेकी छिन् । उनले हत्यामा संलग्न प्रत्येकलाई कानूनको दायरामा ल्याउने बचन दिइन् । उनले भनिन्, ‘कसैलाई पनि छोडिने छैन,’ उनले भनिन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्