भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा बुधबार राति बस र टिप्पर जुध्दा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा ४ ख ४८१५ को टिप्पर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बसका मालिक सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका–३ बतासेका ३४ वर्षीय रमेश भण्डारीको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिप्पर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भएका छन् । उनीहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेका छ ।