ठूला आयोजनामा ध्यान पुगेन



उच्च प्राथमिकता दिइएको राष्ट्रिय गौरवका ठूला आयोजनाहरुमा सरकारले विशेष ध्यान नदिँदा केही आयोजना अन्तिम चरणमा पुगेर रोकिएका छन् भने केही शुरु नै हुन सकेको छैनन् । कतिपय आयोजनाहरु वर्षौं बितिसक्दा पनि अलमलमै छन् । राष्ट्रिय गौरवका आयोजना अपेक्षित गतिमा अघि बढ्न नसक्नुका कारणमा स्थानीय तहमा विवाद, जग्गा प्राप्तिमा कठिनाइ, निर्माण सामग्रीको कमजोर व्यवस्थापन, अन्तरनिकाय समन्वयको अभाव, कार्यान्वयन मोडालिटी स्पष्ट नहुनुजस्ता कुरा औंल्याइएको छ ।

काठमाडौंको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले २०५७ सालमा शुरु गरिएको मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा रोकिएको छ । दैनिक १७ करोड लिटर खानेपानी काडमाडौं ल्याउने यो आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएर रोकिएको छ । विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले अन्तिममा छोडेर गएपछि अब कहिले पूरा हुन्छ भन्ने प्रश्न जन्मिएको छ ।

राष्ट्रिय गौरवकै आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९८ प्रतिशतभन्दा बढी काम सम्पन्न भए पनि कहिलेदेखि विद्युत् उत्पादन शुरु हुने भन्ने निश्चितता छैन । यता मध्यपहाडी लोकमार्गको काम ४५ प्रतिशत मात्र पूरा भएको छ । यसै वर्ष सम्पन्न हुनुपर्नेमा यसका लागि तीन वर्ष थप गरिएको छ । यही आर्थिक वर्षभित्र सक्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ५० प्रतिशत मात्र सम्पन्न भएको छ ।

अघिल्लो आर्थिक वर्षभित्रै सम्पन्न हुनुपर्ने रानीजमरा–कुलरिया सिंचाइ आयोजनाको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । आठ वर्षअघि शुरु गरिएको यो आयोजना सम्पन्न गर्न पाँच वर्ष समय थप गरिएको छ । कुल ७ सय ५० मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको पश्चिम सेती जलविद्युत् आयोजनाको कार्य शुरु नै भएको छैन । यस्तै २० वर्षअघि शुरु गरिएको पशुपति क्षेत्रलाई धार्मिक, सांस्कृतिक एवं पर्यटनको नमुना क्षेत्रको रुपमा विकास गर्ने योजनाको काम जम्मा ४० प्रतिशत मात्र सम्पन्न भएको छ । राजधानीलाई तराईसँग जोड्ने उद्देश्यका साथ २०६४ सालमा शुरु गरिएको काठमाडौं–तराई मधेस द्रुतमार्गको काम ४ प्रतिशत मात्र सम्पन्न भएको तथ्यांक सार्वजनिक भएको छ । अबको दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने यो आयोजनाको काम भर्खर ४ प्रतिशत मात्र हुनुले राष्ट्रिय गौरवका आयोजना कति सुस्त गतिमा अघि बढेका छन् भन्ने दर्शाउँछ ।

दुई वर्षपछि सम्पन्न गर्नुपर्ने हुलाकी लोकमार्गको काम २५ प्रतिशत मात्र सम्पन्न भएको छ भने उत्तर–दक्षिण (कालीगण्डकी) लोकमार्गको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ । दुई वर्षभित्रै सक्नुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि १५ प्रतिशत मात्रै सम्पन्न भएको छ । राष्ट्रिय गौरवका आयोजनाहरुमा यसरी ढिलासुस्ती हुँदा पनि सरकारको ध्यान पुगेको देखिँदैन । मुलुकको आर्थिक समृद्धिको गन्तव्य पु¥याउने र जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ कार्यान्वयनमा ल्याइएको राष्ट्रिय गौरवका आयोजना समयमै पूरा हुन नसक्दा अर्बौं लागतसमेत बढेको छ । यसमा सरकारको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्