एउटै रेस्टुराँमा ४० थरीका केराका परिकार, रमाए पर्यटक



लम्की, केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् ।

हमालले १३ वर्षअघि विगतमा फलफूलका रुपमा मात्रै प्रयोग गरिने केराखेती गर्न शुरु गरे । उनले केराखेती सँगै केराका परिकार बनाएर बेच्न थाले । “शुरु शुरुमा उनलाई धेरैले विश्वास गरेनन्, केराको परिकार के मीठो होला र ? भन्थे,” हमाल भन्छन् – “टीकापुर नगरपालिकाको मनिकापुरमा केराका परिकार मात्रै पाइने बनाना रेस्टुराँ खोलें । यो रेस्टुराँको चर्चा टीकापुरमा मात्रै सीमित रहेन ।” उनी थप्छन् – “टीकापुर घुम्न आउने हरेक जसो पर्यटक रेस्टुराँमा पुग्न थाले । कोही कोही केराको परिकार खानकै लागि समेत पुग्न थाले । केराका परिकार सबैले रुचाए । धेरै मानिस टीकापुर पार्क जानुभन्दा पनि केराका परिकार खानकै लागि आउंछन् ।”

हमालको रेस्टुराँमा अहिले ४० थरीका केराका परिकार बन्छन् । ती सबै काँचो र पाकेको केराबाट बन्छन् । हमालको रेष्टुराँमा बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, अम्लेट, मःमः, खिर, पराठा (रोटी), वाइन, ब्राण्डी लगायतका परिकार पाइन्छन् । हमाल भन्छन् – “यहाँ आउनेहरुमा धेरै जसो सपरिवारै आउँछन् । केराका परिकारलाई खानाका रुपमा खाएर बेलुका घर फर्कने चलन पनि छ ।” धेरैले यसलाई खानाको रुपमा पनि प्रयोगमा ल्याउन थालेका छन् ।

हमाल भन्छन् – “बनाना चिप्स धेरैको रोजाइमा पर्छ । एक प्लेटको २० रुपैयाँ बेच्ने गरिएको छ । यसलाई प्याकेटमा लैजान समेत मिल्छ । ४० र ६० रुपैयाँका दुई छुट्टाटुट्टै प्याकेटमा उपलब्ध छ । काँचो केरा पातलो गरेर काट्ने । मसला मिसाएर तेलमा तारेपछि तयार हुन्छ ।” त्यस्तै उनको रेष्टुराँमा आउनेहरु केराको अचार नखाएर फर्कदैनन् । केराको चार प्रकारको अचार यहाँ पाइन्छ – काँचो केरा उमालेर तयार हुने अचार, बुङ्गाको अचार, जराको अचार र काँचो केराको चट्नी

पकौडा चाहीँ काँचो केरा काटेर चनाको बेसनमा मिसाएर बनाइन्छ । यसमा नून र खुर्सानी पनि मिसाइन्छ । “पछिल्लो समय यसलाई पनि धेरैले रुचाएका छन् ।” उनी थप्छन् – “फिङ्गर चिप्स बाहिरी जिल्लाका मानिसले कोशेलीका रुपमा पनि लैजाने गर्दछन् ।” त्यस्तै, केराको वाइन र ब्राण्डी पनि निकै बिक्री हुने गरेको छ । केराको वाइन र ब्राण्डी टीकापुर आउने र जाने मानिसले कोशेलीका रुपमा दिने र लैजाने चलन पनि बढेको छ । ‘एग्रो टुरिजम’ को विस्तारमा सकृय हमाल केराका परिकारबाट खाद्य अभावलाई समेत टार्न सकिने बताउँछन् । उनी केराका परिकारबाट भोकमरी अन्त्य गर्ने मात्रै नभई केराका रेशाबाट टोपी, चप्पल, कागज लगायतका सामग्री समेत उत्पादन गर्ने योजना रहेको बताउँछन् ।

यहाँ केराका परिकार खान आउनेले रुचाएर खान्छन् । “नेपालमा गर्ने चाहना भएमा एउटै उत्पादनलाई अनेकथरी बनाएर बेच्न सकिन्छ ।” पर्यटन व्यवसायी थर्कबहादुर शाह भन्छन् – “कालु हमालकै कारण टीकापुर केरा पाइने ठाउं भनेर चिनिएको छ । यसकै कारण केराखेतीमा कृषकको आकर्षण पनि बढेको छ ।”

कृषि व्यवसायी शिव थापा भन्छन् – “पढेलेखेका मानिसले खेती नगर्ने परम्परालाई हमालले चिरेका हुन् । उनले केराखेती गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएपछि हामी पनि हौसिएका छौं ।” थापा भन्छन् – “टीकापुर केरा, दूध, मासुमा आत्मनिर्भर भएको छ । अझै यस क्षेत्रका किसानलाई व्यावसायिक र प्राविधिक ज्ञान आवश्यक छ ।” उनी सरकारले बजारीकरणमा ध्यान दिइदिए कृषिमा अझ आकर्षण बढ्ने बताउँछन् ।

हमालले केराखेती शुरु गरेपछि अहिले यो क्षेत्रका धेरै कृषकले केराखेती गरेका छन् । अहिले टीकापुर क्षेत्रमा ३३० हेक्टर जमीनमा केराखेती गरिएको कृषि अधिकृत गौरीशंकर गुप्ताले जानकारी दिए । यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले थप ९० हेक्टर जमीनमा केराखेती विस्तार गर्ने लक्ष्य लिएको छ । कृषि कार्यक्रमले अहिले केराखेतीका लागि माग पेश गर्न किसानलाई सूचित गरिसकेको छ । “केराखेतीको राम्रो सम्भावना र बजार भएकाले सिँचाइले पनि केरामा लगानी गर्ने योजना ल्याएको हो,” कृषि अधिकृत गुप्ता भन्छन् – “अन्य खेती भन्दा केराखेतीबाट राम्रो आम्दानी हुन्छ । त्यसैले कृषकले पनि केरा खेती रोज्न थालेका छन् ।”
रासस

प्रतिक्रिया दिनुहोस्