नयाँ वर्षको शुभकामना



तपाई हामीबाट २०७५ले औपचारिक रुपमा विदा लिएपछि आजबाट सबैको घर आगनमा नयाँ वर्ष शुभारम्भ भएको छ । हरेक वर्ष दोहोरिहे विक्रम संवत्को चक्रले नयाँ उत्साह र जोस थपेको छ ।

नयाँ वर्षको आरम्भसँगै विगतमा भएका कामको समिक्षा गर्दै भावी योजना बनाउन जुटेका छौ । विगतका कमजोरी, असफलता र योजनामा मात्रै सीमित भएका योजनालाई किनारा लगाउँदै यो वर्षलाई सफल र स्मरणीय बनाउने गृहकार्यमा हामी जुटेका छौ । यस्तै प्रणका साथ साथी–भाई, ईष्टमित्रसँगै विविध क्षेत्रमा आवद्ध भएका जो कोहीले शुभकामना आदान–प्रदान गरिरहँदा उत्साह र उमङको सञ्चार भइरहेको छ ।

२०७५लाई फर्किएर हेर्दा मुलुकको राजनीति केही स्थिर देखिएपनि सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेका गुनासो पर्याप्त रहे । मुलुक संघिय संरचनामा रुपान्तरण भएपनि संघ, प्रदेश र स्थानीय हरेक तहमा गुनासो सुनियो, देखियो । संघले प्रदेशको क्षेत्राधिकार मिचेको, प्रदेशलाई आवश्यक पर्ने कानून नबनाउँदा भूमिका विहिन हुनु परेको, कर्मचारी अभाव जस्ता समस्या देखाउँदै प्रदेश र संघ वीच वर्षभरी नै आरोप प्रत्यारोपको जुहारी चल्यो । केही कार्यालय र आयोजना संघ वा प्रदेश मातहत रहने भन्ने टुङ्गो लगाउन लामै समय खर्चिएका उदाहरण धेरै छन् । कानून अभावमा र भएका कानून कार्यान्वयन नहुँदा प्रदेशमा ठूलो बजेट फ्रिज भएको छ ।

वर्तमान सरकार गठन भएको एक वर्ष दुई महिना पुरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अन्य मन्त्रीहरु, प्रदेश र स्थानीय तहका पदाधिकारी सहित सत्तारुढ दल निकट पदाधिकारी सार्वजनिक अभिव्यक्तिमा ‘आर्थिक समृद्धि’ दोहोरिँदै आएको छ । ‘मुलुकले राजनीतिक अस्थिरताबाट पार पाएको छ, अब राजनीतिक क्रान्ति होइन आर्थिक क्रान्ति जरुरी छ’–यस्तै वाक्य धेरैलाई भाषणको मसला बन्ने गरेको छ । सरकार दुई तिहाई बहुमतको भएपनि सत्ताको नेतृत्व लिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलोले गर्दा सरकारकै प्रतिवद्धता प्रतिवद्धतामै सीमित भएका गुनासो धेरै छन् । सत्तारुढ दलका जिम्मेवार नेताहरु खुलेर सकारको कार्यशैलीको आलोचना गरिरहेका छन् ।

नयाँ वर्षको शुरुवातसँगै काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने तयारी गरेपनि सो परियोजना अझै धकेलिएको छ । रेल र पानी जहाज चलाउने र गुडाउने मात्रै होइन काठमाडौंलाई धुँवा, धुलो मुक्त बनाउने योजनाले केवल चर्चाको विषय मात्रै बन्यो । भूकम्प पछिको पुनःनिर्माणले पनि जनअपेक्षा अनुसार गति लिन सकेन । आश्वासन धेरै भए, योजना र सपना धेरै बाढिए भन्ने जनगुनासो धेरै भए । अपेक्षा गरौ, विगतका कमजोरी यो वर्ष दोहोरिने छैनन् । सरकार स्वयंले अघि सारेका योजना, योजनामा सीमित हुने छैनन् । बहुमत प्राप्त सरकारको प्रष्ट अनुभूति नयाँ वर्षमा हुनेछ । सबैलाई नयाँ वर्षको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्