तरंगीत भावहरू



प्रदीप भण्डारी

भनिन्छ, मानवको सबैभन्दा सुन्दर चीज भनेकै साहित्य सिर्जना हो, जसमध्ये कविता पनि एउटा सुन्दर सिर्जना नै हो। हरेक कवितामा दुःखको क्षण होस् वा सुःखको, दुवै कुरा अभिव्यक्त गरिन्छ। यस्तै दीपक पुडासैनीले ‘आधा जीवन’ कविता सङ्ग्रहमार्फत भावनामा डुबुल्की मार्दै सुन्दर भावनाहरू प्रस्तुत गरेका छन्। कवितामा प्रस्तुत भावहरू सम्भवतः धेरैको जिन्दगीमा मेल खान गएका पनि हुन सक्छन्। यस सङ्ग्रमा प्रकृतिमा घटिरहेका वास्तविक घटनाका प्रसङ्गलाई प्रस्तुत गरिएको छ।

कवि पुडासैनीका कवितामा सहज र सरल भाषाको प्रयोग पाइन्छ। कविता पढ्दा हरेक पाठकले फरक अनि आनन्दको स्वाद चाख्नेछन्। कविले आफू नेपाल छाडेर कतार गएपछि देखका, भोगेका, सुनेका, अनुभव गरेका भावहरूलाई कवितामार्फत छर्लङ्ग पारेका छन्। तर सबै कविता नयाँ होइनन्, केही कविता प्रसिद्ध दैनिक पत्रिकालगायत विभिन्न अनलाइनमा प्रकाशित भइसकेका छन्। उक्त किताबमा यो काव्य कवि पुडासैनीको प्रथम संस्करण हो।

शुभकामना सन्देश दिँदै कतारका पूर्वराजदूत प्रा.डा. सूर्यनाथ मिश्रले हाम्रो मुलुकमा एक सबल, कुशल एवम् इमानदार नेतृत्वको आवश्यकता एवम् उपलब्ध जल–जङ्गल र जमिनको अधिकतम सदुपयोग र युवाहरूका लागि स्वदेशमै अवसरको सृजनामाथि विशेष जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरका अध्यक्ष प्रेमप्रसाद भट्टराईले यस कवितामा लामो समयदेखि प्रदेशमा संघर्ष गरिरहेको कुरा छर्लङ्ग पारेको कुरा प्रस्ट पार्दै कवि पुडासैनीलाई शुभकामना दिनुभएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतारका प्रथम उपाध्यक्ष तथा नवोदित साहित्यिक वाचनालय दोहा, कतारका सल्लाहकार सीताराम थापाले समेत शुभकामना दिनुभएको छ।

कवितामा आफ्नै समाजको प्रतिविम्ब हुन्छ। र, यसमा पनि छ। किनभने साहित्य समाजको एउटा ऐना हो। ए.डी.बी. पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित यस कविता सङ्ग्रहमा वास्तवमा धेरैको जीवनमा घटिरहेका कुराहरू छन्।

प्रतिक्रिया दिनुहोस्