स्रष्टा सचिवको द्रष्टा भोगाइ



नगेन्द्रराज पौडेल

शिक्षा सचिव खगराज बरालको ‘सिकाउने शैली’ संस्मरणात्मक कृति सांग्रिला पुस्तक प्रा.लि.ले हालै प्रकाशनमा ल्याएको छ। पदमा नै रहँदा विगतमा आफूले देखे, भोगे र अनुभव गरेका विषयवस्तुलाई पूर्वदीप्ति शैलीमा लेखकले व्यक्त गर्नुभएको छ। भूमिकाबाहेक २४१ पृष्ठको पुस्तकमा ३१ वटा विषयवस्तुको प्रस्तुति छ। कृतिको प्रतिनिधित्व २७ औं क्रमको शीर्षकले गर्दछ। बाँकी विषयवस्तुहरू पृथक–पृथक शीर्षकमा छन्। कृतिभित्र ‘सचिव बराल’को कम र ‘स्रष्टा बराल’को उपस्थिति बढी देखिन्छ।

पुस्तकलाई स्मरणात्मक आलेख भन्न मिल्छ। देखे, भोगेका मसिना विषयवस्तुलाई सजीवता प्रदान गरेर रोचक र सान्दर्भिक पारामा व्यक्त गरिएको छ। पढ्दै जाँदा अब के हुने होला ? भन्ने खुल्दुली उत्पन्न हुन्छ। पहिलो शीर्षक पढ्नेका लागि पुस्तक नसकेसम्म विश्राम लिन मनै लाग्दैन। थोरै लेखकसँग मात्र यस्तो कौशलता हुन्छ।
कृतिमा विगतको भोगाइ भएर पनि गहन भाव र गुढ सन्देश प्रवाहित भएको छ। आदर्श कहीँ पाइँदैन। जे देख्नुभो, त्यो लेख्नुभएको छ। यसो हुनुपर्छ भन्ने अभिधा आग्रह पनि छैन, लक्षणा र व्यञ्जनार्थमा शैक्षिक सुधारका लागि पर्याप्त सम्भावनाको खोजी र त्यसको प्रयोगपक्ष यहाँ सम्भावना बनेर आएको छ।
भन्नै पर्दा शीर्षकमा यो कृति लेख्नुको कारण छ। ‘हामीलाई सानो लागेको विषयले विद्यार्थी तथा अभिभावकको जीवनमा कति ठूलो प्रभाव पार्दो रहेछ भन्ने कुरा पीडितको स्थानमा आफूलाई राखेर हेर्नुपर्छ’ भन्ने लेखकीय चिन्तनको उपज हो यो कृति। प्रत्येक शीर्षक यही विचारको प्रतिनिधित्व गर्दै अघि बढेका छन्।

लेखकले घर र विद्यालयमा, दुःख निकै पाएको देखिन्छ। अतीत खोतल्न लेखकले पटक्कै लाज मान्नुभएको छैन। बाँदर आयो भनेको, टुप्पी रिङ्गाएको, पैसा चोरेको, जुत्ताले हानेको कुरा सब ओकलेर आफ्नो विगत देखाउनुभएको छ। यो कृतिमा पाइने अर्का सबल पक्ष हुन् यी।

एसएलसीपछिको रोजाइमा गाई कि त्रिशूल भनेर निर्णय गर्नुपरेको, पुस्तक नकिन्ने शिक्षकप्रति कटाक्ष, शिक्षकमा प्रश्न बनाउने कला अभाव भएको प्रसंग, पठनपाठनमा निगमन विधिको प्रयोगको साक्षात्कार घटना अघि सार्दै यसो नगर्न सुझाएको पनि पाइन्छ। यहाँनेर लेखक आदर्शको नजिक पुगेजस्तो पनि देखिन्छ।

अध्यापन अभ्यासमा छात्र शिक्षकको हेलचेक्र्याइँलाई पनि यहाँ उजागर गरिएको छ। नाम राख्दाको सानो त्रुटिका कारण व्यक्तिले जीवनभर कति दुःख पाउनुपर्छ भन्ने अवस्थालाई परीक्षा नियन्त्रक भएर बेहोरेको घटनाले देखाएको छ। बुटवल र वीरगन्जबाट तालिम बहिष्कार गर्ने शिक्षकलाई निजको तलब भत्ताबाट तालिममा बुझेको भत्ता असुल गराएको प्रसंगलाई उल्लेख गरेर गतिलो दृष्टान्त प्रस्तुत गरिएको छ। नियम पालना गर्ने÷गराउने मामलामा २०५२ सालमा शिक्षा मन्त्रालय कति कडा रहेछ भन्ने कुरा यो दृष्टान्तले बताउँछ।

प्रतिभायुक्त शिक्षकको लेखनीमा राम नरेश अघि आएका छन्। बेला–बेलामा डमरकुमारी पुन, चन्द्र सरलाई असल र उदाहरणीय शिक्षकका रूपमा चित्रण गरिएको छ। चन्द्र सर त कृतिको शीर्षककै प्रतिनिधि पात्र बनेर उभ्याइएका छन्। लेखकको विश्वास चन्द्रसरप्रति बढी छ। उनका ३–३ वटा कक्षा हेरेपछि मात्र ‘सिकाउने शैली’ को न्वारन भएजस्तो देखिन्छ।

सबल पक्ष

घटनाहरूमा लेखक चश्मदिद गवाह हुनुहुन्छ। स्रष्टाको काम भनिदिने हो तर यहाँ आफूले देखेको विकृतिलाई आफैंले सुधार्न सकिने हैसियतमा स्रष्टा देखिनुहुन्छ। यो अवसर कमै लेखकलाई प्राप्त हुन्छ। यसबीचमा देखेका कुरा र घटनाका पात्रलाई आवश्यकताअनुसार सहजीकरण गर्न लेखक चुक्नुभएको छैन। कतिपय घटनाका पात्रको भोगाइ व्यक्तिगत भए पनि अवस्था सामूहिक भएकोले पात्रलाई भन्दा प्रवृत्तिलाई हेरेर नीतिगत सुधार गर्नुपर्ने थियो। कतिपय कुरामा त ती पात्रका कारण नीतिगत सुधार पनि देखिएको छ भने कतिपयमा पात्रको एकल कल्याणमा लेखकले आत्मसन्तुष्टि लिएको अवस्था पनि छ। परीक्षा नियन्त्रक हुँदा परीक्षा बोर्डका अध्यक्षसँग सल्लाह नै नगरी एसएलसीको नतिजा पत्रिकामा नदिने बरु आईसीटीको प्रयोग गरेर तत्काल थाहा पाउन सकिने व्यवस्थाका लागि प्रस्ताव पारित गराएको कुरा आएको छ। त्यो काम सम्भवतः आजका सचिव बराललाई त्यो बेलाका नियन्त्रक खगराज बरालले जितेको एउटा दृष्टान्त मान्न सकिन्छ। त्यो आँट उति बेलाका नियन्त्रकमा रहेछ। यो राम्रो पक्ष हो।

‘शिक्षाक्षेत्र समस्याग्रस्त रहुन्जेल अरू क्षेत्र सुधार हुन कठिन छ’ भन्नुभएको छ। सुधारका लागि आफूबाट गरिएका पहलहरू पनि विस्तृतमा समावेश गर्न सकेको भए पाठकहरूले समस्या र समाधान एउटै कृतिबाट पाउन सक्थे। केही नीतिगत सुधार गरिएका कुरा त आएका छन् तर ती अपर्याप्त छन्
भाषापक्ष
भाषा सरल छ। सररर बहेको छ। पढ्दा थकाइ लाग्दैन, उत्सुकता जाग्छ। ‘छोरा अञ्जन बराललाई धन्यवाद नदिई सक्तिन’ भन्नुभएको छ। यसमा ‘रहन’ भन्ने शब्द छुटेको हुन सक्छ। यसले अर्थबोधमा असर गर्दैन। ‘कभरअप, बुलिङ, रिजल्ट, सेन्डअप, ट्युसन, अप्सनल म्याथ, स्लो प्वाइजन, जब चार्ट, टच मि नट, एप्पल टेक्निक, चान्स’ लगायतका अंगे्रजी शब्द, ‘आत्मस्लाधा’ जस्ता दुर्बोध्य संस्कृत शब्द र ‘मुर्गे कि छोटे, छोटे बच्चे’ जस्ता हिन्दी पदावलीहरूको प्रयोग गरिएको छ। सबै पाठक लेखकजस्तै भाषिक ज्ञाता हुँदैनन् भन्ने कुरा धाराप्रवाह लेखनका कारण भुलेको देखिन्छ।
भाषामा विम्बात्मकता पनि छ। ‘दारी पालेको उपप्राध्यापक’ भन्ने वाक्यांश पढ्दा पाठकका अगाडि एउटा मान्छे उभिन पुग्छ। ‘तेरो टाउको’ भन्दा पनि विम्ब देखा पर्छ। अन्य कैयन प्रस्तुतिमा पनि विम्ब पाइन्छ। यसबाट विषयवस्तु थप बोधगम्य बनेको छ। समग्रमा कृति पठनीय छ। संग्रहणीय छ। सुधारका लागि प्रेरक छ। कोरा कल्पनामा समय खर्चिएको छैन। जे छ, हाम्रो समाजको यथार्थता छ। जे छैन, समाजमा नभएकोले गर्दा छैन भन्ने सन्देश प्रवाहका लागि कृति पूरापुर सफल छ।

प्रतिक्रिया दिनुहोस्