जनमतद्वारा सातै प्रदेशका साहित्यकारहरूको बिदाइ 



बनेपा। जनमत वाङ्मय प्रतिष्ठानद्वारा गतहप्ता आयोजित साहित्य सम्मान कार्यक्रममा सहभागी अतिथिहरूलाई प्रतिष्ठानले बिदाइ गरेको छ। बनेपामा आयोजित बिदाइ कार्यक्रममा सहभागी सातै प्रदेशका अतिथिहरूले जनमतले प्रतिकूल अवस्थामा पनि जनताको मत पाएको बताए। जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा रूपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने साहित्यकार प्रा.डा. कपिल लामिछानेले जनमतको यात्रा बनेपाको मात्र नभएर राष्ट्रकै गौरव भएको बताउनुभयो। तर जनमत वाङ्मय पुस्तकालयको पर्खाल भत्काइएको सुनेर उहाँले दुःख व्यक्त गर्नुभयो।

 

नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला अध्यक्ष मोतिराम तिमल्सिनाले जनमतको ब्यानरबाट सात प्रदेशका साहित्यकारहरूलाई चिन्न पाउँदा र सम्मानमा केही शब्द बोल्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो। साथै उहाँले साहित्य र कलाको जगेर्नाको लागि लामो समय लेखन–यात्रामा लागेका जनमतका संस्थापक मोहन दुवाललाई नेपाल पत्रकार महासंघले पेन्सन दिनुपर्ने प्रस्ताव काभ्रेबाट सिफारिस भैसकेको जनाउनुभयो। जनमतले अरूले भन्दा भिन्न तरिकाले सातै प्रदेशका स्रष्टालाई सम्मान गर्ने कार्य गरेकोमा यस कार्यले निरन्तरता पाइरहोस् भन्ने कामनासमेत उहाँले गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्