उत्साही देखिएन कांग्रेस



रामकृष्ण चापागाईं
पालमा भएका सबैजसो राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस अहिले इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। गत निर्वाचनमा संघ, प्रदेश र स्थानीय तीनै तहमा लज्जाजनक हार बेहोरेको कांग्रेस प्रमुख प्रतिपक्ष दलको हैसियतमा छ। कांग्रेसले प्रतिपक्ष दलको भूमिकालाई पनि प्रभावकारी बनाउन नसकेको आम गुनासो छ। निर्वाचनमा नराम्रो हार बेहोरेको भए पनि पार्टी संगठनलाई एकढिक्का बनाउने, सशक्त प्रमुख प्रतिपक्षको भूमिका निभाउने मात्र होइन, आन्तरिकरूपमा आम मानिसको मन जित्ने गरी आगामी निर्वाचनमा होमिने वातावरण तय गर्ने अवसर पनि कांग्रेसलाई थियो।
१३औं महाधिवेश सम्पन्न भई नयाँ नेतृत्व आएको तीन वर्ष पुगिसकेको छ। मुलुकमा आम निर्वाचन भएको दुई वर्ष हुन लागिसक्यो। कांग्रेसले आफ्नो साख जोगाउन गर्नुपर्ने काम धेरै थियो। फर्केर हेर्दा एकवर्षको अवधिमा कांग्रेसले उत्साहित हुने  खासै काम गरेको देखिँदैन। नयाँ नेतृत्व आएसँगै पार्टी संगठनलाई मजबुत बनाउँदै लैजानुपर्ने थियो त्यो त भएन नै। निर्वाचनपछि पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई निमिट्यान्न बनाएर सशक्त प्रतिपक्षको भूमिका निभाउनुपथ्र्यो। संविधानतः बाध्यात्मक व्यवस्था भएकाले विधान संशोधन भएको छ। तर, त्यो पनि महासमितिको म्यान्डेट विवादित संशोधित विधान पास गरेको भन्दै केन्द्रीय नेतृत्वको चर्को आलोचना भइरहेको छ। पछिल्लो समय शीर्ष नेताहरू जिल्ला तथा गाउँ दौडाहमा त गएका छन्। नेताहरू गाउँगाउँ गए पनि उनीहरूले पार्टीलाई बलियो बनाउनेभन्दा झन् कमजोर बनाउने काम गरिरहेको देखिन्छ।
पार्टी संगठनलाई एकढिक्का बनाउने र सत्ताधारी दलको गलत कार्यको भण्डाफोर गर्नेभन्दा पनि पार्टीभित्रै एक नेताले अर्को नेतालाई खुइल्याउने, ऊभन्दा म राम्रो भन्ने किसिमले आफ्नै पार्टीलाई कमजोर बनाइरहेका छन्। कांग्रेसभित्रको प्रमुख रोग गुटउपगुट हो। नेताहरूको भाषण सुन्दा जिल्ला तथा गाउँ दौडाहले यो गुटउपगुट हट्ने भन्दा पनि झन् मजबुत हुने देखिन्छ। पार्टीभित्रको आन्तरिक किचलो हल गर्न शीर्ष नेताहरूले नै तत्परता देखाएका छैनन्। कांग्रेसभित्र सिंगो पार्टीको नेताभन्दा पनि गुटको नेतामात्र छन् कि भन्ने भान हुन्छ। केन्द्रदेखि गाउँ तहसम्मका कार्यकर्तासमेत गुटउपगुटमा विभाजित छन्। शीर्ष नेताहरू पनि पार्टी बलियो बनाउनेभन्दा गुट बलियो बनाउनमै क्रियाशिल छन्। २०७५ साललाई फर्केर हेर्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस उत्साही भएको देखिँदैन। यो वर्ष कांग्रेसभित्र देखिएको किचलो हेर्दा पार्टी झन् खुम्चँदै जाने हो कि भन्ने आशंका पैदा गराएको छ।
पार्टीको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भई सिंगो पार्टीको नेतृत्व गरिरहनुभएका देउवाले विधानको अक्षरशः पालना गरी पार्टीभित्रको आन्तरिक गुटउपगुटलाई समेत व्यवस्थापन गर्ने प्रतिबद्धता यो वर्ष पनि पूरा भएन।
कांग्रेसभित्र मुख्य गरी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका तीन गुट सक्रिय छन्। साथै प्रभावकारी नेताहरूको छुट्टाछुट्टै उपगुट पनि छन्। नेताहरू दलीय स्वार्थभन्दा पनि गुटगत स्वार्थमा रुमल्लिएका छन्। पार्टीलाई एकीकृत गर्नेभन्दा पनि एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउनमै नेताहरूले समय खर्चिरहेका छन्। पार्टीको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भई सिंगो पार्टीको नेतृत्व गरिरहनुभएका देउवाले विधानको अक्षरशः पालना गरी पार्टीभित्रको आन्तरिक गुटउपगुटलाई समेत व्यवस्थापन गर्ने प्रतिबद्धता यो वर्ष पनि पूरा भएन। देउवाइतर गुटले सभापति देउवाले विधिविधानभन्दा पनि गुटगत स्वार्थमा पार्टीलाई अगाडि लगिरहेको आरोप हरेक केन्द्रीय समितिको बैठकमा उठाउने गरेका छन्। सभापति देउवामाथि यसअघि सरकारको नेतृत्वमा रहँदासमेत राम्रो भूमिका निभाउन नसकेको आरोप मात्र होइन, पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न नसकेको, पार्टी संगठन तथा भ्रातृ र शुभेच्छुक संघसंस्थालाई चलायमान बनाउन नसकेको जस्ता आरोपहरू पनि लागिरहेको छ।
विधानले व्यवस्था गरेको पार्टीको संरचना निर्माण गर्न वर्षौं अलमल गरेर कमजोर भएको कांग्रेसको भ्रातृ संगठनको अवस्था पनि त्यस्तै नाजुक छ। यसका लागि कांग्रेसको सशक्त भ्रातृसंगठनका रूपमा रहेको नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघलाई उदाहरणका लागि लिन सकिन्छ। वर्षौंदेखि चार नेताको भरमा रहेको नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिने मात्र होइन, नेविसंघको अधिवेशन गराउने कुरामा समेत यो वर्ष  कांग्रेस चुकेको  छ।
विगतदेखि नै गुटबन्दीको आधारमा पार्टीको हरेक संरचना निर्माण गर्दै आएको कांग्रेसले आन्तरिक भागवण्डा नमिलेकै कारण यो वर्ष संघीयताअनुसार पार्टी संरचना निर्माण गर्न सकेको छैन। संघीयताअनुसार विधान संशोधन गरे पनि विवादित बन्यो। केन्द्रीय समितिभन्दा माथिल्लो निकाय महासमिति बैठकको निर्देशन विपरीत विधान संशोधन गरेर केन्द्रीय समितिले पारित गरेपछि विधान संशोधनको विषय विवादित भयो। नेपाली कांग्रेसको सशक्त भ्रातृसंगठन नेपाल विद्यार्थी संघ यतिखेर नेतृत्व विहीन छ। पटकपटक म्याद थप गर्दासमेत महाधिवेशन गर्न नसकेर सभापति देउवा निकट मानिएका अध्यक्ष नैनसिंह महरले गत महिना राजीनामा दिएपछि नेविसंघको झगडा प्रकरण पार्टी शीर्ष तहमा पुगेको हो। अब बन्ने तदर्थ समिति कस्तो र कसको पक्षकोे बनाउने भन्ने विवादले पार्टी अनिर्णयको बन्दी बनेको छ। नेविसंघको नेतृत्वमा कसको पक्षलाई ल्याउने भन्ने बारेमा शीर्ष नेताबीच मतभिन्नता रहेको कारण पार्टीले समयमै तदर्थ समिति बनाउन नसकेको हो। पार्टीलाई सशक्त बनाउन जुझारु भ्रातृ संगठनहरू बनाउने भन्दै भ्रातृ संस्थाहरूलाई पार्टीको नीति र कार्यक्रममार्फत परिचालित र निर्देशित गरिने विषय कुरामै सीमित छ।

राष्ट्रिय राजनीतिमा सधैं नेतृत्वदायी भूमिका निभाउँदै आएको कांग्रेस आन्तरिक गुटउपगुटमा विभाजित भएको कारणले नै अहिले यति धेरै कमजोर भएको स्वयं नेताहरूले पनि स्विकारेका छन्। विधानअनुसार पार्टीका सबै संरचना निर्माण गर्ने र ती संरचनाका साथै भ्रातृ एवं शुभेच्छुक संघसंसस्थालाई पनि चलायमान बनाउन यो वर्ष पनि कांग्रेस नेतृत्व चुकेको छ। सभापति देउवाले पार्टीको नेतृत्व सम्हालेपछि करिब तीन वर्षसम्म विधानअनुसारका पार्टी संरचना निर्माण नै भएन।

कांग्रेस नेतृत्वले विगतमा सरकारको नेतृत्वमा रहँदा राम्रो भूमिका निभाउन नसकेको मात्र होइन, मुख्य गरी पार्टी संगठनलाई चुस्तदुरुस्त राख्न नसकेको, पार्टी संगठन तथा भ्रातृ र शुभेच्छुक संघसंस्थालाई चलायमान बनाउन नसकेको, पार्टीभित्रको आन्तरिक गुटउपगुटलाई व्यवस्थापन गर्न नसकेको, आम जनतालाई कांग्रेसको एजेन्डा, रणनीति, उद्देश्य प्रस्तुत गर्न नसकेको जस्ता आरोपहरू वर्षभरि खेपिरहनुप¥यो। पार्टीमा निरन्तर योगदान पु¥याएका कर्मठ, क्षमतावान् र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीहरूलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्यभूति दिँदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागिता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्न सभापति देउवाको प्रतिबद्धता प्रतिबद्धतामै मात्र सीमिति र≈यो। तीन वर्षअघि १३औं महाधिवेशमा नेतृत्वको दाबी गरिरहँदा सभापति देउवाले नेपाली कांग्रेस पार्टीलाई युवा वर्गको आशा र भरोसाको केन्द्र बनाउन जरुरी रहेको औंल्याउँदै पार्टी विधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक समर्थकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउने प्रतिबद्धता गरे पनि सभापतिमा निर्वाचित भएपछि  देउवाले आफूले गरेको प्रतिबद्धतालाई फर्केर हेरेनन्।

नेपाली कांग्रेस पार्टीभित्र रहेको विभाजित मानसिकतालाई अन्त्य गर्न न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै पार्टीका हरेक नेता र कार्यकर्ताको मूल्यांकन योगदान, सक्रियता र लोकप्रियताका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गरिनेछ भन्ने कुरा व्यवहारमा अहिलेसम्म देखिएको छैन। ‘नेताको होइन जनताको घर जाऊँ’ अभियान सञ्चालन गरिने बताए पनि देउवाले नेताको चाकडी गर्नेलाई नै प्राथमिकतामा राखेर अवसर दिएको पाइन्छ।

पार्टी सुदृढीकरण गर्ने कुरामा सभापति देउवाले मूल्यांकन पद्धतिलाई संस्थागत गर्न देशभरिका पार्टी कार्यकर्ताको विशेषता र योगदानको वैज्ञानिक अभिलेख राखिनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यस्तै देश र देशबाहिर रहेका पार्टीका शुभेच्छुक र समर्थकहरूको योग्यता र उपयोगितासहितको अभिलेख पनि तयार गरिनेछ र उनीहरूको योग्यता र सीपलाई पार्टी निर्माणमा प्रयोग गरिनेछ भन्ने बताउनुभएको थियो। साथै उहाँले नेपाली कांग्रेस पार्टीका बुद्धिजीवी तथा शुभेच्छुकहरूको विचारसमूह ९थिंक ट्यांक०को अवधारणालाई संस्थागत गरी पार्टी नीति र राष्ट्रिय नीतिनिर्माणमा विचार समूहबाट आएको सुझावको उपयोग पूर्णरूपमा गरिने पनि बताउनुभएको थियो। तर, यी कुनै पनि काम वर्ष २०७५ मा पूरा भएन।

प्रतिक्रिया दिनुहोस्