बिस्केट जात्रामा सुरक्षा सतर्कता



सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा गत बिहीबारदेखि शुरु भएको छ । तौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले भैरवनाथको रथ तानेर जात्रा शुरु गरिएको हो । तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याई फर्काउने प्रचलन छ । आठ दिन नौ रातसम्म मनाइने यस जात्राका क्रममा वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ ।

यस दिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेकाले यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ । यस बिस्केट जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्थालाई मजबुत बनाउने भनिए पनि जात्रा मनाउने क्रममा झगडा र ढुंगा हानाहान हुँदा केहीको ज्यान गएको र धेरै घाइते भएको विगतले बताउँछ । त्यसैले विगतलाई मध्यनजर गरी सुरक्षा सतर्कतामा विशेष ध्यान दिनै पर्छ ।

जात्रा मनाउने क्रममा रथ तान्दा झगडा र ढुंगा हानाहानको अवस्था नियन्त्रण गरी जात्रा व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले विभिन्न समितिहरु गठन गरेको छ । साथै भक्तपुर जिल्ला प्रशासन र प्रहरीले यहाँको सुरक्षा व्यवस्था कडा बनाएको छ । जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी गराउनुभएको छ । तर पनि विगतका अनुभवबाट यस बिस्केट जात्रा अवधिभर प्रहरी प्रशासनसहित सम्बन्धित संघसंस्था एवम् स्थानीयले समेत सुरक्षा सतर्कतामा विशेष जोड दिनुपर्ने देखिन्छ ।

जात्राका क्रममा हुनसक्ने हुलदंगा एवं उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकका गरी १ हजार प्रहरी परिचालन गरिएको छ भने जात्रा स्थलको निगरानीका लागि ४३ स्थानमा सीसी क्यामरा जडान गरिएको जानकारीमा आएको छ । यतिले मात्र पर्याप्त सुरक्षा नहुन सक्छ । स्थानीयवासीले पनि शान्तिपूर्वक र मर्यादितरुपमा जात्रा सम्पन्न गर्न सहयोग पु¥याउनै पर्छ । जात्रा हेर्न जाने स्वदेशी–विदेशी जो–कोहीले पनि विनात्रास जात्राको अवलोकन गर्न सकून् ।

भक्तपुरको बिस्केट जात्रा राष्ट्रिय एवं अन्तर्राट्रिय स्तरमा समेत प्रख्यात हुँदै गएको छ । यसले पनि शान्तिपूर्ण एवं मर्यादित किसिमले यो जात्रा मनाउनुपर्ने देखिन्छ । जात्राका क्रममा ढुंगामुढा गर्ने तथा मादकपदार्थ सेवन गरी झगडा गर्नेलाई कारबाहीको दायरामा ल्याउन सकियो भने पनि केही हदसम्म जात्रालाई मर्यादित बनाउन सकिन्छ । जात्रामा ढुंगामुढा गर्ने परम्पराजस्तै भइसकेकाले प्रहरी प्रशासनसहित सम्बन्धित निकायहरु शुरुदेखि नै सचेत हुनुपर्छ । लिच्छवि कालभन्दा अगाडिदेखि मनाउन थालिएको यो जात्रा हाम्रो धरोहर हो । यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य पनि हो ।

प्रतिक्रिया दिनुहोस्