नेपाली शान्ति सेनाको दर्बिलो साहस



हिंसाग्रस्त अफ्रिकी मुलुक लिबियामा शान्ति सेनाको रुपमा कार्यरत नेपाली सेना जोखिममा परेको समाचार सार्वजनिक भएपछि सरकारले नेपाली सेनाको अवस्थाको बारेमा स्पष्ट पारेको छ । केही समयअघिदेखि हिंसाबाट ग्रस्त लिबियाको राजधानी त्रिपोलीमा तैनाथ नेपाली सेनालगायत अन्य देशका सेनाहरुमाथि समेत विद्रोही लिबियन नेसनल आर्मीले धावा बोल्न थालेपछि अन्य देशका शान्ति सेनाले लिबिया छाडेका छन् तर नेपाली सेना भने अझै त्रिपोलीमा नै तैनाथ छन् ।

राष्ट्र संघको मुख्यालय रहेको एउटा भवनमा नेपाली सेनाको टोलीले अहिले पनि सुरक्षा दिइरहेको छ । तर भारत, अमेरिकालगायतका देशका सेना भने लिबिया छोडेर नजिकैको ट्युनिसिया पुगेका छन् । नेपाली सेनाले विश्व शान्तिमा पु¥याएको योगदानको कदर गर्दै संयुक्त राष्ट्र संघले बेला–बेलामा नेपाली सेनालाई पुरस्कृत गर्दै आएको छ । नेपाली सेनाले पनि आफ्नो अब्बलतालाई पुनः पुष्टि गरेको छ । अन्य देशका सेनाले लिबिया छोडेर हिँडे पनि नेपाली सेनाले भने विषम परिस्थितिमा समेत आफ्नो कर्तव्यलाई भुलेको छैन । उसले आफ्नो विगतको दर्बिलो इतिहासलाई अहिले पनि कायम राख्न सफल भएको छ ।

बिद्रोहीका कारण लिबियाको अवस्था झन्–झन् दयनीय बन्दै गएको छ । अहिलेसम्म भएको भिडन्तमा सयौं लिबियन नागरिकले ज्यान गुमाइसकेका छन् भने हजारौं नागरिकले त्रिपोली छोडिसकेका छन् । एउटा समृद्ध मुलुक कसरी एकाएक द्वन्द्वमा फस्छ र उसले आफ्नो अस्तित्व गुमाउँदै जान्छ भन्ने उदाहरणको रुपमा परिचित भएको छ अहिले लिबिया । जनताको चाहना विपरीत कुनै पनि शासकले शासन ग¥यो भने कस्तो परिणाम आउँछ भन्ने देखिएको छ ।

अहिले त्रिपोलीमा रहेका २ सय ३१ जना नेपाली सेना सुरक्षित रहे पनि उनीहरुको अवस्था जुनसुकै बेला जे पनि हुन सक्ने अवस्था छ । त्यसकारण नेपाली शान्ति सैनिकको अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले संयुक्त राष्ट्र संघको मुख्यालयसँग समन्वय गरेर अगाडि बढ्नुको विकल्प छैन । अहिले त्यहाँको अवस्था हेर्दा डर लाग्दो छ । विमानस्थल बन्द गरिएको छ भने नागरिकहरुलाई घरबाहिर ननिस्कन आह्वान गरिएको छ । अहिले त्यहाँको अवस्था हेर्दा अब कतिखेर के हुन्छ, भन्न सक्ने अवस्था छैन । त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपाली सेनालाई जुनसुकै बेला पनि ‘रेस्क्यु’ गर्नुपर्छ भन्ने अवस्थालाई भने ख्याल गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्