जनप्रतिनिधिको तलब सामाजिक काममा  



बागलुङ, जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चनुभएको छ । रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान ‘स्टे«चर’ प्रदान गर्नुभएको हो । रु एक लाख २० हजार मूल्य बराबरका ‘स्टे«चर’ वडाका सबै टोलमा पुग्ने गरी वितरण गरिएको थियो ।

पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यको उपस्थितिमा ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको रसाइलीले बताउनुभयो । “बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउन सहज होस् भनेर स्टे«चर सहयोग गरेको हूँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य स्वयंसेविकामार्फत सबै टोलमा स्ट्रेचर पुगेको छ ।”

यसअघि गत भदौमा उहाँलै जैदीकै संस्कृत माविलाई रु ८४ हजार मूल्य बरारबका विज्ञान विषयका प्रयोगात्मक सामग्री प्रदान गर्नुभएको थियो । यस्तै गत जेठमा गाउँकै जनता बाल साक्षरता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान वितरण गर्नुभएको थियो । तीन चरणमा गरी रु दुई लाख ५० हजार मूल्य बराबरका सामग्री सहयोग गरेको रसाइलीले बताउनुभयो । “तलब, भत्ताबाहेक केही व्यक्तिगत रकम पनि परेको छ”, उहाँले भन्नुभयो, “म वडासदस्य रहुञ्जेल शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्छु ।”

निर्वाचित भएपछि रसाइलीले राज्यबाट कुनै पनि लाभको सुविधा नलिने घोषणा गर्नुभएको थियो । “राज्यको पैसाबाट पानी पनि नखाने अठोट लिएको छु”, उहाँले भन्नुभयो, “म राजनीतिलाई पेशा होइन, सेवा बनाउन चाहन्छु ।” पदमा रहँदा या नरहँदा पनि राजनीतिसँगै सामाजिक सेवाका काममा क्रियाशील हुने रसाइलीको सङ्कल्प छ ।

स्ट्रेचर हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आचार्यले रसाइलीले जनप्रतिनिधिको रूपमा उदाहरणीय कार्य गरेको प्रतिक्रिया दिनुभयो । पदमा पुगेपछि सुविधाभोगी बन्ने प्रवृत्तिलाई रसाइलीको सत्कर्मले सकारात्मक पाठ सिकाएको उहाँको भनाइ थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्