जामुने सिमसारलाई संरक्षण गरिँदै   



दमक, यहाँस्थित दमक–३ मा वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटेका छन् । स्थानीयवासीले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न उपभोक्ता समिति गठन गरी काममा जुटेका हुन् ।

प्रदेश सरकार, स्थानीय सरकारसहित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समेत त्यस क्षेत्रमा जोडेर काम थाल्ने तयारी अगाडि बढाइएको वडाध्यक्ष नवीन बरालले बताउनुभयो । उहाँका अनुसार नगरपालिका र हम्सेदुम्से सामुदायिक वनले समेत यसका लागि बजेट विनियोजन गरेको अवस्थामा यसै वर्षदेखि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रारिम्भक चरणका काम थालनी हुनेछ ।

वडाध्यक्ष बरालले पोखरी तयार पारेर यस वर्षभित्रमा त्यहाँ आर्कषक फूलबारीको विकास गरिने योजना रहेको बताउनुभयो । त्यस्तै, चालू आवमा ती काम सम्पन्न गर्ने र आगामी वर्षमा भने यसलाई गुरुयोजनाका साथ काम अगाडि बनाउने जानकारी उहाँले दिनुभयो ।

सिमसार क्षेत्रमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ करीब तीन हेक्टर जमीनमा यो वर्ष पोखरी विस्तार गर्ने योजना रहेको वडाध्यक्ष बरालले बताउनुभयो ।

नगरपालिकाका रोमनाथ ओलीले नगरपालिकाले दमक नगरभित्र रहेका सिमसार तथा पर्यटकीय क्षेत्रको पहिचान गर्नका लागि नगरस्तरीय समिति नै निर्माण गरेर काम शुरु गरेको बताउनुभयो । त्यसको प्रतिवेदनका आधारमा पर्यटकीय गुरुयोजना बनाएर त्यस्ता क्षेत्रको विकास गरिने नगरप्रमुख ओली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय सरकारसहित प्रदेश सरकारसमेतले यो वर्ष बजेट छुट्याएकाले यस्ता लोप हुनलागेको सिमसारलाई संरक्षण गर्न सहयोग पुग्नेछ ।”

यसैबीच, जामुने सिमसारको संरक्षण र प्रवद्र्धनका लागि स्थानीयवासीले नारायणप्रसाद बरालको अध्यक्षतामा एक उपभोक्ता समितिसमेत गठन गरेका छन् । गठित समितिको सचिवमा गेहनाथ पोखरेल, कोषाध्यक्षमा गायत्री बस्नेत र सदस्यमा पुरण अधिकारी, गुणराज घिमिरे, गणेश श्रेष्ठ र दलबहादुर सुब्बा रहनुभएको छ ।

आगलागीमा हँुदा छ लाख क्षति

विद्युत् चुहिएर झापाको दमक–३ स्थित गोलाटारका कृष्णप्रसाद गुरागार्इंको घरमा गए राति आगलागी हुँदा करीब रु छ लाख बराबरको क्षति भएको छ ।

राति ९ बजेतिर अचानक आगलागी हँुदा गुरागार्इंको काठको बेराले बनाएको दुईतले टिनको घरमा क्षति पुगेको थियो । आगोले घरमा रहेको अन्नपात, भाँडावर्तन नष्ट भएको थियो । आगलागी प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा करीब एक घण्टापछि नियन्त्रणमा आएको बेलडाँगीस्थित अस्थायी प्रहरी चौकीले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्