जनमत वाङ्मय प्रतिष्ठानबाट यस वर्षका सम्मानित प्रतिभाहरू



मुलुकका विभिन्न क्षेत्रमा रही साहित्य सिर्जना एवं संरक्षण गर्दै आएका व्यक्तित्वहरूलाई जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ३५ औं वार्षिकोत्सवका अवसरमा आज चैत्र २३ गते सम्मान गर्दै छ। प्रतिष्ठानका अध्यक्ष मोहन दुवालका अनुसार जनमत पत्रिकाको माध्यमबाट विगतका वर्षहरूमा विभिन्न साहित्यिक कार्यक्रम एवं यस किसिमको सम्मान गरिँदै आएको हो। यही क्रममा आज शनिबार एक समारोहका बीच बनेपामा साहित्यकार, कलाकार, शिक्षासेवी गरी १० जना व्यक्तित्वलाई सम्मान गरिँदै छ। सम्मानित हुने साहित्यिक प्रतिभाहरूका बारेमा यहाँ संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ।

वरिष्ठ कलाकार
हरिप्रसाद शर्मा
जनमत–महेन्द्रलाल कलाकार सम्मान
चित्रकारितामा इतिहासका पृष्ठहरू समेट्न सिपालु हरिप्रसाद शर्मा नेपालको महत्वपूर्ण ऐतिहासिक घटनाक्रमहरूलाई चित्रमा उतार्न सफल चित्रकारका रूपमा विख्यात छन्। पुरातत्व विभाग र शा.ने.वा.नि.मा धेरै समयसम्म उत्सर्गहरू पोखिसकेका यिनी कलाकार भई बाँँच्न पाउँदा गौरव पोख्ने गर्छन्। आई.ए.सम्मको औपचारिक शिक्षा हासिल गरेका कलाकार शर्माले ११ वर्षको उमेरमा कलाकार जीवरत्न शाक्यबाट चित्रकलाको प्रारम्भिक ज्ञान प्राप्त गरेका थिए। प्रख्यात कलाकारहरू कालीदास श्रेष्ठ र चन्द्रमान मास्केका चेलाका रूपमा देखिएका यिनी पछि जुद्धकला पाठशालामा केही वर्ष अध्ययन गर्न पाएको अनुभवले खारिएका पाका चित्रकार हुन्।
प्राचीन इतिहासका अध्येता यिनी इतिहासलाई जीवन्त तुल्याउन आफ्नो कलामार्फत सङ्घर्षशील छन्। यिनका चित्रहरू सर्वसाधारणदेखि लिएर विद्वत्जनहरूसम्म पनि प्रभावित छन्। ८१ वर्षीय ज्येष्ठ कलाकार हरिप्रसाद शर्माका चित्रले लिच्छविकालीन र मल्लकालीन इतिहास, संस्कृति र जीवनशैली देखाइरहेको प्रतीत हुन्छ। लिच्छवि, मल्ल र शाहकालीन इतिहास, वास्तुकला, जनजीवन तथा लोपप्रायः काठमाडौं उपत्यकाको सांस्कृतिक विविधताका पक्षहरूलाई चित्रकलाको माध्यमले जगेर्ना गर्ने उद्देश्यका साथ हालसम्ममा ८० वटा चित्रहरूको निर्माण गरिसकेका यिनी चित्रको माध्यम पानीरङ्ग र तेलरङ्गलाई बनाउँछन्। यिनका चित्रकलासम्बन्धी प्रकाशनहरूमा ‘ऐतिहासिक चरणहरूमा काठमाडौं’ (काठमाण्डु भ्याली डाउन द एज) शीर्षकमा २५ वटा तैलचित्रको पुस्तक प्रकाशन हुनुका साथै २० भन्दा बढी चित्रहरू पोस्टरका रूपमा प्रकाशित छन्। वरिष्ठ कलाकारका रूपमा नेपाल कलाकार समाजद्वारा २०५९ मा नै सम्मानित भइसकेका यिनले राष्ट्रियस्तरका ललितकला प्रज्ञा सम्मान २०७३ मा र मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०७५ मा प्राप्त गरेको देखिन्छ।

वरिष्ठ शिक्षासेवी तथा शिक्षाविद्
डा. सुरेशराज शर्मा
जनमत–हृदयचन्द्र वरिष्ठ साधक सम्मान
शिक्षाजगत्का कुशल माली डा. सुरेशराज शर्माको जन्म माता सावित्री उपाध्याय र पिता विष्णुप्रसाद उपाध्यायको कोखबाट वि.सं. १९९७ श्रावण ७ गते खुर्कोट, सिन्धुलीमा भएको हो। लगनशीलता, मेहनत र कठिन प्रयासबाट नै रसायनशास्त्रजस्तो कठिन विषयमा बेलायतबाट उनले उच्च अंक ल्याई पी.एच.डी. उपाधि हासिल गर्न सफल भए। भावनात्मकरूपले नै शिक्षाजगत्मा आफ्ना पसिनाका बुँदहरू पोखेका उनले थुप्रै अनुभवका बाबजुद कठिन प्रयासपछि मात्र काठमाडौं विश्वविद्यालयको सिर्जना र निर्माण गर्न सकेका हुन्। यिनी उक्त विश्वविद्यालयको उपकुलपतिका रूपमा लामो समयसम्म सेवारत रहे।
यिनले थुप्रै ज्ञानविज्ञानका पुस्तकहरू प्रकाशित गराएका छन्। उनले १. औद्योगिक आत्मनिर्भरतातिर नेपाल, २. एजुकेसन फर वर्क, ३. फाइनान्सिङ अफ एजुकेसन इन नेपाल, ४. विज्ञान कक्षा ९ र १० (भाग १, २, ३) का पाठ्यपुस्तकहरू लेख्न भ्याएका छन्। एजुकेसन एन्ड डेभलपमेन्ट स्किल डेभलपमेन्ट, विकासका निमित्त शिक्षा, नेपालमा सीप विकास नामक पुस्तक–पत्रिकाहरूको पनि उनले स्तरीय ढंगले सम्पादन गरेका छन्। बूढानीलकण्ठ स्कुलमा शिक्षक भएर, त्रिचन्द्र कलेजमा (२०२१–२६) प्राध्यापक भएर, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (२०२६–३४) लेक्चरर, रिडर र प्राध्यापक भएर, २०३४ देखि २०४३ सम्म शिक्षा समितिका सदस्य सचिव भएर, २०४३ देखि २०४७ सम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा कार्यकारी निर्देशक भएर सेवा पुर्याइसकेको अनुभव यिनीसँग छ। अचेल उनी सधैँजसो शैक्षिक÷प्राज्ञिक गोष्ठी, भेटवार्ता, अन्तरक्रिया, बैठक, सभा–समारोहमा जीवनका क्षणहरू गुजार्ने गर्छन्। राम्रो ढङ्गको शिक्षण अनुभूति बटुलेर शिक्षण सेवा पुर्याएका उनलाई महेन्द्र विद्याभूषण क र ख श्रेणीका पदकहरूका साथै थुप्रै राष्ट्रिय गौरवका सम्मान, पुरस्कार र अन्तर्राष्ट्रिय जगत्ले पनि सम्मान गरेर कदर गरेको देखिन्छ।

वरिष्ठ साहित्यिक पत्रकार
हिरण्यकुमारी पाठक
भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान
बैंकिग सेवामा समर्पित पहिलो महिला बैंक मेनेजर भई सेवा पुर्याइसकेका हिरण्यकुमारी पाठक कथा लेखनमा उत्कृष्ट नाम बनाउन सफल कथाकार हुनाका साथै ‘नारी श्वर’ उरालेर साहित्यिक पत्रकारिता गर्दै आएकी महिला साहित्यिक पत्रकार पनि हुन्। वि.सं. २००२ साउन ७ गते काठमाडौं, प्युखाटोलमा जन्मेकी यिनी वि.सं. २०११ मा नै ‘प्रेम’ कथा ‘कस्तुरी’ मा छपाएर देखा परेकी कथाकार हुन्। यिनका प्रकाशित कथासङ्ग्रहहरूमा मोहचक्र, शून्यवत् र दुःस्वप्नका साथै बालसाहित्य सङ्ग्रहहरूमा मेहनती मौरी, दश महामूर्ख, धूर्त स्याल र घमण्डी बाघ, रामकथा, चतुरे बन्यो नेता र चमत्कारी औंठी बालकथा र उपन्यास–कृतिहरू आदि छन्। उनी साहित्य लेखेर, ‘नारी श्वर’ सम्पादन गरेर, ‘गुञ्जन साहित्य समूह’मा नेतृत्व गर्दै ‘छिन्नलता गीत पुरस्कार गुठी’, ‘अन्तर्राष्ट्रिय साहित्य समाज’, ‘त्रिमूर्ति निकेतन’मा पनि आफू सक्दो केही गर्दै समर्पित रहेकी देखिन्छिन्।
२०४८ सालदेखि ‘नारी श्वर’ त्रैमासिक रूपमा प्रकाशन गर्दै आएकी यिनी महिला साहित्यिक पत्रकारका रूपमा परिचित छन्। यिनले पुर्याइरहेको साहित्यिक सेवा र सिर्जनामा ‘लोकप्रियादेवी पुरस्कार’ (२०५४), ‘वाणी पुरस्कार’ (२०५८), ‘गोमा स्मृति साहित्य पुरस्कार सम्मान’ (२०६४), ‘छिन्नलता सम्मान’ (२०६०), ‘शङ्कर कोइराला स्मृति पुरस्कार’ लगायत अन्य दर्जनौं सङ्घ–संस्थाबाट पुरस्कृत र सम्मानित भइसकेकी छन्। ७३ कटाइसकेकी यिनी हाल पनि आफूलाई साहित्यिक सङ्घ–संस्थामा र साहित्यिक पत्रकारितामा समर्पित तुल्याउँदै बाँच्न पाएकोमा खुशी व्यक्त गर्ने गर्छिन्। थुप्रै पदक, पुरस्कार र सम्मान प्राप्त गरिसकेकी यिनी साहित्य सेवा गर्ने मन बोकेर थुप्रै साहित्यिक सङ्घ–संस्थाहरूमा समर्पित भई आफूलाई चिनाउन जाँगर चलाउँदै छन्।

साहित्यिक अभियन्ता
हनिफ मियाँ
जनमत–जनक सेवा सम्मान
प्रख्यात लोककवि अलि मियाँका सुपुत्र। पोखरामा जन्मेर, पोखरामा केही गरेर र पोखराबाट देश–विदेशमा पुगेर बाबुको बिँडो थाम्दै आएका सुपुत्रका रूपमा प्रसिद्धि कमाएका हनिफ मियाँ साहित्यिक अभियन्ताका रूपमा चिनिंदै र चिनाउँदै आएका कर्मशील व्यक्तित्व हुन्। सङ्गीत र साहित्य यिनको रुचिको विषय भएकाले अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानमार्फत सङ्गीत–साहित्यको सेवा र प्रकाशन गर्न जुटेका छन्। भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष पनि रहेका यिनले ‘अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान’को स्थापना गरेर, अलि मियाँका कृतिहरूको प्रकाशन गरेर, विभिन्न स्रष्टाका कृतिहरूको प्रकाशनमा सहयोग पुर्याएर आफूलाई धन्य तुल्याएका छन्। यिनले सयौं सङ्घ–संस्थाहरूमा आर्थिक सहयोग पुर्याएका छन्। यसै गरी पोखरामा बन्दै गरेको ‘अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान’को भवन निर्माणमा सम्पूर्ण आर्थिक सहयोग दिएर आफूलाई दाता साहित्यिक अभियन्ताका रूपमा राष्ट्रमा चिनाएका छन्।
विशेषतः यिनले आफ्नो पिताको स्मरणमा, पिताले लोकगायनमा पुर्याएर गएका योगदानमा, साहित्यकार÷स्रष्टाहरूको सिर्जनाका हरफहरूमा आफूले सक्दो सेवा र समर्पण पुर्याएको देखिन्छ। २०५८ फागुन १५ गते पोखराका विभिन्न वाङ्मय प्रतिष्ठानहरू, जनसमूहहरूको सक्रिय सहभागितामा लोककवि अलि मियाँको सार्वजनिक रथारोहण यिनले गराइछाडे। अलि मियाँ लोक वाङ्मय पुरस्कारको स्थापना गरेर हरिदेवी कोइराला, धर्मराज थापा, भेडीखर्के साइँलालगायत थुप्रै लोकगायनमा समर्पित गायकहरूलाई यिनले सम्मान गरिसकेका छन्। यिनी साहित्यमा रमाइरहन रुचाउने पोखराका अत्यन्त सक्रिय साहित्यिक अभियन्ताका रूपमा राष्ट्रमा परिचित छन्।

वरिष्ठ बालसाहित्यकार
विनयकुमार कसजू
जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान
पत्रकारिता र आमसञ्चार क्षेत्रमा आफ्नो छवि बनाउन सफल वरिष्ठ पत्रकार। बालसाहित्य र बालविकास क्षेत्रमा सक्रियतापूर्वक लाग्दै आएका वरिष्ठ बालसाहित्यकार। विनयकुमार कसजू बालसाहित्य, कथा विधामा र सञ्चारजगत्का आदरणीय नाम मानिन्छ। वि.सं. २००४ साउन ३ गते भगवतीटोल, तानसेन, पाल्पामा जन्मेका यिनी २०२२ सालदेखि दैनिक निर्णयका संवाददाता भई पत्रकारिता जगत्मा लेख्दै आएका पत्रकार पनि हुन्। ‘सत्य’ समाचार साप्ताहिकका सम्पादक÷प्रकाशक भएर २०४०–२०५१ सालसम्म सेवा गरेको देखिन्छ। ‘गाउँले देउराली’ साप्ताहिकको यिनले प्रधानसम्पादक रहेर २०५० देखि २०६५ सालसम्म सेवा गरी आफूलाई सम्पादकका रूपमा चिनाउन सफल छन्। यिनले पत्रकारिता, आमसञ्चार तथा वैकल्पिक सञ्चारका प्रशिक्षक भएर, उच्चस्तरीय मिडिया सुझाव आयोगका सदस्य रहेर, प्रेस काउन्सिल नेपालका सल्लाहकार बनेर, राष्ट्रिय समाचार समितिको सञ्चालक समितिको सदस्य रहेर पत्रकारितामा उच्चस्तरको योगदान पुर्याएको देखिन्छ।
‘वरिष्ठ पत्रकारिता सम्मान’ (२०६८) मा प्राप्त गर्न सफल यिनले ‘गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार’ (२०५२) पाउनुका साथै २०६० मा प्रेस चौतारीबाट सम्मानित भएको देखिन्छ। पत्रकारिता र आमसञ्चार विषयक यिनका प्रकाशित पुस्तकहरूमा मिडियाको लोकतान्त्रीकरण (२०६३), पत्रकारको अधिकार र जिम्मेवारी (२०६२), सामुदायिक रेडियो (२०५७), साँचो कुरा (‘सत्य समाचार’को १ देखि २०० अङ्कसम्मको सम्पादकीय), दस्ताबेज (२०४५) छन्। यिनले सशस्त्र द्वन्द्वमा समाचार सङ्कलन, नेपाली पत्रकारहरूको अनुभव नामक पुस्तक २०६२ मा सम्पादन गरेर प्रकाशित गराएका छन्। कथा, लघुकथामा पनि पुस्तक प्रकाशित गराइसकेका यिनका प्रकाशित कथासङ्ग्रहहरूमा पशुतन्त्र (२०३९), बिउ (२०७५), स्याललाई स्लिपिङ ब्याग, विनय कसजूका छानिएका लघुकथाहरू (२०६६), विमोचन (२०६६), थोपाथोपा (२०५७), लिस्नो (२०५३) आदि प्रकाशित छन्। यिनले प्रतिनिधि नेपाली लघुकथा सङ्कलनको २०६५ मा सम्पादन गरेका छन्। यिनका बालसाहित्यका मौलिक कृतिहरू ३३ वटा प्रकाशित भएको देखिन्छ।

वरिष्ठ कथाकार
देविका तिमिल्सिना
दीपा–जनमत सम्मान
साहित्य लेखन, सम्पादन र साहित्यिक क्रियाकर्ममा सक्रिय रहँदै आएका देविका तिमिल्सिनाको जन्म वि.सं. २०११ भाद्र २ गते, मैजुबहाल, चाबहिल, काठमाडौंमा भएको हो। २०३२ सालमा नै ‘चाहना’ कथा ‘तन्नेरी’ पत्रिकामा प्रकाशित गराएर देखा परेका यिनका कथाहरू जनपक्षीय र प्रगतिशील खालका छन्। यिनका कविता २०३० सालमा नै प्रकाशित भएको देखिन्छ। देविका तिमिल्सिनाका प्रकाशित कथासङ्ग्रहहरूमा १. मृत्यु दोस्रो पुस्ताको (२०४४), २. सीमाहीन सीमा (२०५१) र ३. पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ (२०७४) प्रकाशित छन्। उत्साह, हलकारा, वेदना, सङ्गम, जनसेवा र अधिकार नामक पत्रपत्रिकाका सम्पादक तथा सहयोगी रही सेवा गर्दै आएका यिनले साहित्यिक सङ्ग्रहहरूको पनि सम्पादन गरेको देखिन्छ।
लालिमा संयुक्त कवितासङ्ग्रह २०३४ मा नै प्रकाशन गराइसकेका यिनी कवितामा भन्दा कथामा नै चर्चित छन्। यिनी निबन्ध पनि लेख्छन्, व्यक्तिलाई अन्तर्वार्तामा टिप्छन्, पत्रपत्रिकाको सम्पादकीय लेख्छन्, समसामयिक टिप्पणी पनि लेख्छन्। कथाकारका रूपमा प्रसिद्धि कमाएका देविका तिमिल्सिनाले साहित्यको परिभाषामा अक्षरभित्रः स्रष्टाहरू खण्ड–१ मा आफ्नो दृष्टि यसरी पोखेका छन्– ‘जीवनका अनेक भोगाइहरूको अनुभूति र लक्षित जीवनको सोचको पटाक्षेप।’ यसै ग्रन्थमा यिनले आफ्नो जीवनप्रतिको दृष्टिमा यसरी लेखेका छन्–‘इमानदारीसाथ श्रम गर्ने। अरूलाई माया गरेर जीवनलाई धान्ने।’ राम्रो साहित्य लेख्ने यिनको चाहना भएकैले यिनी सकेसम्म आफ्नो साहित्य प्रगतिशील दृष्टिचेत भर्न मन पराउँछन्।

वरिष्ठ साहित्यिक अभियन्ता
काजी रोशन
गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान
बाग्लुङका काजी राजभण्डारी नै त हुन्– वरिष्ठ साहित्यकार काजी रोशन। वि.सं. २००६ कार्तिक २ गते नौबिसेटोल, बाग्लुङमा जन्म पाएका काजी रोशनले २०१८ साल चैत १५ गते पहिलो रचना ‘बाग्लुङ छोएपछि’ प्रकाशन गरेर आफूलाई साहित्यकारका रूपमा चिनाएका हुन्। साहित्यकारहरूको जयन्ती मनाउने, पुरस्कार स्थापना गर्ने, समाजमा योगदान पुर्याएका व्यक्तित्वहरूको ग्रन्थ निकाल्नेजस्ता सिर्जनात्मक कार्यहरू गर्ने÷गराउने, दिवंगत योग्य व्यक्तिहरूको स्मृति कोष स्थापना गरी प्रेरक कार्य गर्ने कार्यमा यिनी लागिपरेका देखिन्छन्। आफ्नै निजी रकमबाट अक्षयकोष खडा गरी ‘धौलागिरी साहित्य प्रतिष्ठान’बाट वितरण हुने गरी ‘काजी रोशन साहित्य पुरस्कार’ २०४१ सालमा नै स्थापना गरेको देखिन्छ।
यिनका प्रकाशित कविता–कृतिहरूमा हिम शृङ्खलाबाट (२०३५), एम्बुस, देश र फूलदानी (२०६१) र किसान (२०६५) छन्। नियात्राका पुस्तकहरूमा मानसरोवरमा डुबुल्की मार्दा (२०३५), चारो टिप्न गएका बस्तीहरू (२०६०), कवि, रोगी र नर्स (२०६३), रोयल स्काउलिस यात्रा (२०६७) प्रकाशित छन्। यिनका मौलिक जीवन–कृतिहरूमा सम्झनाको गोरेटोमा मोहनबहादुर मल्ल (२०३६), बाग्लुङका चिरागहरू (२०६९) प्रकाशित छन्। यसै गरी कर्मयोगी समाजसेवी गणेशमान सैंजू ग्रन्थलगायत थुप्रै व्यक्तित्वहरूको जीवनी प्रकाशित गराएका काजी रोशन बाग्लुङ क्षेत्रका एक चर्चित स्रष्टा र द्रष्टा हुन्। यिनका एक झुप्पा प्रकाश भूमिकाका पुस्तक पनि प्रकाशित छन्। ‘युवावर्ष मोती पुरस्कार’ (२०४५) सालमा नै प्राप्त गर्न सफल यिनलाई ‘रत्न श्रेष्ठ पुरस्कार’, ‘गोपाल पाण्डे असीम पुरस्कार’, ‘क्षेत्रीय प्रतिभा पुरस्कार’, ‘बासु सशी स्मृति पुरस्कार’, ‘त्रिमूर्ति पुरस्कार’, ‘कुलमणि देवकोटा पुरस्कार’ लगायत अन्य पुरस्कारका साथै अन्य थुप्रै पदक, सम्मान, अभिनन्दन भएको देखिन्छ।

साहित्यकार
रुकु कार्की
केवलपुरे–जनमत सम्मान
वि.सं. २०१५ जेठ २० गते गजुरी, धादिङमा जन्मेकी यिनी जीवनक्रमको यात्रामा जीवन बोक्दै हेटौंडा, मकवानपुरका अंशियार बन्न गइन्। २०५९ सालदेखि यिनका कृतिहरू निरन्तर प्रकाशन हुँदै आएको देखिन्छ। यिनले मातृभूमि साहित्य समाज हेटौंडाका लागि २०६६ सालमा २ लाखको अक्षयकोष राखी त्यसको ब्याजबाट प्रत्येक वर्ष १५ हजार रुपियाँको ‘मायादेवी–मातृभूमि पुरस्कार’ दिने प्रचलन शुरू गराइएको छ। रुकु कार्कीले जन्म पाइन् धादिङमा, कर्म पाइन् मकवानपुरको माटोमा। जीवन गुजारा गर्ने मन राखिन् बाग्डोल, ललितपुरमा। यिनै रुकु कार्कीले साहित्य–सिर्जनामा आफूलाई समर्पित तुल्याउन जानिन् र साहित्यकार बनिन्। कविता÷गीत, उपन्यास, कथा, नियात्रा, संस्मरण मात्र लेखिनन् यिनले बालसाहित्य पनि सिर्जना गरेको देखिन्छ।
यिनका प्रकाशित पुस्तकाकार कवितासङ्ग्रहहरूमा रुकु कार्कीका कविताहरू (२०५९), कस्तो युग आयो (२०६०), आहात मनका सपनाहरू (२०६१) छन्। गीतसङ्ग्रहमा ‘आँसुले व्यथा मेटिने भए’ प्रकाशित भएको देखिन्छ। उपन्यासमा मधुरीमा (२०६३), नियात्राहरूमा जीवनज्योति (२०६५), विसङ्गत जीवन (२०७०), कथासङ्ग्रहमा गाउँघरका कथाव्यथा (२०६९), परीहरूको देशमा (नियात्रा–२०७१), आफ्नै जीवन र अनुभूति (२०६२) र बन्धनबाट मुक्ति (संस्मरण, २०७३) प्रकाशित छन्। बालसाहित्यमा यिनका बालकविता, बालउपन्यास, बालगीत, बालचित्र पुस्तकका पाँचवटा पुस्तकहरू लालीगुराँस (२०६४), बालप्रजाहरूको वनयात्रा (२०६७), धरती हाम्री आमा (२०६८), कतातिर छौ ? (२०७०), पहिलो साता स्कुल जाँदा (२०७२) प्रकाशित छन्। ‘नारायणी वाङ्मय पुरस्कार’, ‘बाबा ओमवीरसिंह पुरस्कार’, ‘क्षेत्रीय प्रतिभा पुरस्कार’, भद्रकुमारी घले व्यक्ति पुरस्कार’, ‘गायत्री सरस्वती पुरस्कार’ लगायत अन्य पुरस्कार, सम्मान प्राप्त गर्न सफल स्रष्टाका रूपमा यिनी प्रसिद्ध हुँदै छिन्।

अनुराधा शर्मा
कमला सैंजू–जनमत सम्मान
२०३४ मङ्सिर १ गते ई. दामोदर शर्मा र माया ठकुरीका छोरी भई यिनी त्रिशूलीमा जन्मेकी हुन्। बालसाहित्यमा पृथक खालका थुप्रै गतिविधिहरू गर्दै, बालसाहित्य लेख्दै आएकी यिनी हालसाल रु म टु रिडका कार्यक्रम प्रबन्धक रहेर, नेपाल बालसाहित्य समाज, केन्द्रीय समितिका कार्यकारी सदस्य रहेर, कथालय प्रोडक्सनका प्रोडक्सन प्रबन्धक बनेर तथा रेडियो नेपालको अंग्रेजी समाचार उत्पादक, सम्पादन र वाचन गरेर आफूलाई चिनाउँदै आएकी हुन्।
बेलायतबाट ‘इन्टरकल्चरल बिजनेस कम्युनिकेसन’ मा स्नातकोत्तर गरेकी यिनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा पनि स्नातकोत्तर गरेकी देखिन्छ। यिनी विशेषतः बालसाहित्य लेखनमा सक्रिय छिन्। यिनका बालसाहित्यका प्रकाशित पुस्तकहरूमा चरी खोइ, भित्रबाहिर, मुना र मिलनको खेल, हापु र बेलुन, म पनि नाच्छु, पुरस्कार, फुच्चे भुत, जोगी, रङ्गीचङ्गी साथी, मिना र मोती, चुनमुन, मुनमुन र कमिला, जन्मदिनको उपहार, रमाइलो शनिबार, सानो पोथी, मेरो कथाको एलिमन, अर्को कथा ⁄ अर्को कथा ⁄, ओथारो, सुपर आमा, अनौठो मुद्दा र यति भेट्ने केटी छन्। सानो छँदा नै बुबामुमासित बालकथाका पुस्तकहरू पढ्ने बानीले गर्दा यिनी बालकथाहरू लेख्न सक्षम भएको देखिन्छ। मनोवैज्ञानिक ढङ्गले विषयवस्तु चयन गरी बालबालिकाको स्तर र क्षमताअनुसार कथा लेख्न यिनी सिपालु छिन्। अंग्रेजी साहित्य पनि विशेष अध्ययन गरेकै कारणले यिनले थुप्रै अंग्रेजी पुस्तकहरू पनि प्रकाशित गराएको देखिन्छ।

साहित्यकार
मिलन समीर
जनमत–राजभाइ सहयात्री सम्मान
वि.सं. २०४१ साउन ५ गते करादीखोला, स्याङ्जामा मिलन समीरको जन्म भयो। कक्षा १ देखि स्नातकसम्म स्याङ्जामा नै यिनले शिक्षा प्राप्ति गरे। स्नातकोत्तरमात्र त्रिविवि, कीर्तिपुरबाट उत्तीर्ण गरेको देखिन्छ। मिलन समीरले साहित्यमा २०५८ भदौ २६ गते ‘मिर्मिरे बिहानी’ कविता लिएर देखा परेका हुन्। २०५८ माघको मासिक बालपत्रिका सुनकेस्रामा ‘शान्तिको देश’ रचना पहिलोचोटि प्रकाशनमा आएको हो। स्याङ्जामा नै रहेर, त्यहीँ पढेर, त्यहीँ राजनीति गरेर र त्यहीँ शिक्षण सेवा पुर्याएर आफूलाई गतिशील तुल्याउँदै आएका यिनी थुप्रै साहित्यिक, राजनीतिक, शैक्षिक, सामाजिक सङ्घ–संस्थाहरूमा सङ्लग्न रहेर सेवा पुर्याउँदै आएको देखिन्छ।
मिलन समीरका मौलिक साहित्यिक कृतिहरू नभए पनि दुई दर्जनभन्दा बढी गजल, कविता सङ्ग्रहहरू प्रकाशित भएको देखिन्छ। यिनले हाम्रो प्रयास साहित्यिक मासिक, ध्रुवतारा साहित्यिक द्वैमासिक पत्रिकाको संस्थापक सम्पादक भएर प्रकाशन गरेको देखिन्छ। २०६० मा संस्थापन भएको ‘करादी युवा साहित्य सदन, स्याङ्जाका यिनी संस्थापक अध्यक्ष बने। गजल मञ्च नेपाल (२०६१), स्याङ्जा, कालीगण्डकी साहित्य समाजका अध्यक्ष भएर पनि यिनले सेवा पुर्याए।
साहित्यिक पत्रिकाहरूमा जनमतलगायत सगुन, हाम्रो मातृभूमि, मिर्मिरे, नवप्रज्ञापन, बिस्कुन, बुलबुल, वनिता, भानु, कल्पतरुका प्रतिनिधि भएर, अतिथि सम्पादक रहेर यिनले सेवा पुर्याएको देखिन्छ। यिनले नवलपरासी, चितवन, पाल्पा, कास्की, मकवानपुर, ओखलढुङ्गाबाट साहित्य सम्मान प्राप्त गर्नुका साथै स्याङ्जाबाट दर्जनौं विविध कार्यक्रममा प्रशंसापत्र, कदरपत्र, सम्मानपत्र प्राप्त गरेका छन्। ३४ वर्षको लक्का जवान छँदा नै यिनले शिक्षामा पुर्याइरहेको क्रियाशीलता र साहित्य–सिर्जनामा समर्पण गरिरहेको मन लोभ लाग्दो देखिंँदो छ।

प्रतिक्रिया दिनुहोस्