मेट्रोरेल असम्भव छ र ?



खोकनादेखि बुढानीलकण्ठसम्म करिब २५ किलोमिटर र नागढुंगादेखि धुलिखेलसम्म करिब ४५ किलोमिटर क्षेत्रमा मेट्रोरेलको सम्भावना अध्ययन गर्न लागिएको हो । जसमध्ये खोकना–बुढानीलकण्ठ रुटको लगनखेल–महाराजगन्ज चोक खण्डको १० किलोटिर क्षेत्रमा डीपीआर प्रक्रियाका लागि टेन्डर आह्वान भएको छ । यो खण्डको पूर्वसम्भाव्यता अध्ययन ८ वर्षअघि एक कोरियन कम्पनीले गरिसकेको थियो । समाचारमा जनाइएअनुसार खोकना–बुढानीलकण्ठ रुटको सम्भाव्यता अध्ययन प्रक्रिया रेल विभागले अघि बढाएको छ भने नागढुंगा–धुलिखेल रुटको सभाव्यता अध्ययन लगानी बोर्डले अघि बढाएको छ ।

झट्ट सुन्दा यो समाचार निकै उत्साहजनक छ । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको काम छिट्टै शुरु हुन्छ भन्न थालिएको डेढ दशक बितिसकेको छ तर प्रगति शून्यजस्तै छ । ८ वर्षअघि जे अवस्था थियो, अहिले पनि त्यही अवस्था छ । नारा र भाषणमा बाहेक केही प्रगति भएको छैन । ८ वर्षअघि सरकारले जे भनेको थियो, अहिले पनि त्यही भनिदै छ । अझ उदेक लाग्दो कुरा त के छ भने, गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा तत्कालीन नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले तीन वर्षभित्र मेट्रोरेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेका थिए ।

चुनाव जित्ने सम्भावना बोकेको प्रभावशाली पार्टीको उम्मेदारले यस्ता असम्भव प्रतिबद्धता जाहेर गर्दा जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुने विश्लेषण बौद्धिक वर्गले गरेको थियो । तर उम्मेदार शाक्यले हरेक भाषणमा तीन वर्षभित्र मेट्रोरेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गर्न छुटाएनन् ।

तीन वर्षमध्ये सम्भाव्यतासमेत अध्ययन नै नगरी दुई वर्ष बितिसकेको छ । यो अवधिमा कार्यप्रगति के–कति भयो भन्ने कुरा माथि उल्लिखित कुराले पनि पुष्टि गर्छ । सम्भावव्यता अध्ययनका लागि काठमाडौं महानगरपालिकासँग बजेट नभएको होइन । वर्षिक १३–१४ अर्ब रुपियाँ बजेट काठमाडौं महानगरपालिकाले परिचालन गर्छ । वार्षिक ५–६ अर्ब रुपियाँ बजेट परिचालन ललितपुर महानगरपालिकाले पनि गर्छ । काठमाडौं उपत्यकाभित्रका अरू डेढ दर्जन नगरपालिकाले पनि प्रत्येकले सरदर वार्षिक डेढ अर्ब रुपियाँ बजेट परिचालन गर्छन् । काठमाडौं उपत्यकाका पालिकाहरूले मेट्रोरेलका लागि हरेक वर्ष निश्चित बजेट विनियोजन गर्ने हो भने १० वर्षभित्र उल्लेख्य प्रगति हुन सक्छ । तर भाषणबाहेक कत्ति पनि प्रगति छैन ।

काठमाडौं उपत्यकाको जनसंख्या ५० लाख नाघेको अनुमान गरिएको छ । पछिल्ला दिनमा उपत्यकाको जनसंख्या हरेक वर्ष ७ प्रतिशतका दरले वृद्धि भइरहेको छ । ४० लाखभन्दा बढी जनसंख्या भएको शहरमा सडक यातायातले मात्रै नधान्ने र विकल्पमा मेट्रोरेल सञ्चालन गर्नुपर्ने विश्वव्यापी मान्यता छ । ४० लाखभन्दा बढी जनसंख्या भएका शहरमा यात्रुहरूको चाप धेरै नै बढी हुने भएकाले मेट्रोरेल नाफामा चल्ने गरेको विश्वका अन्य शहरहरूको अनुभवले देखाएको छ ।

नाफामा चल्ने, यात्रुहरूलाई धेरै सुविधा हुने र प्रदूषण पनि कम हुने भएकाले मेट्रोरेल सञ्चालन गर्न कत्ति पनि ढिलाइ गर्नुहुँदैन । आफ्नो गन्तव्यमा पुग्न राजधानी काठमाडौंका यात्रुहरूले धेरै सास्ती बेहोर्नुपरेको अवस्था छ । उपत्यकावासीको अमूल्य समय सवारीसाधनभित्रै खेर जाने गरेको छ । घन्टौंसम्म सवारी जाम हुने अवस्था छ । यो अवस्था घट्दो होइन, दिन गनेर बढ्दो छ ।
– विश्वमणि महर्जन, महाराजगन्ज, काठमाडौं ।

पानीको महत्व कति–कति !
पानीविना मानवजीवनको कल्पना नै गर्न सकिन्न । पानी वा जलको महत्वबारे अथर्ववेदमा भनिएको छ, ‘जल नै परम औषधि हो । जल रोगहरुको शत्रु हो । यसले सम्पूर्ण रोगहरुको नाश गर्छ । तसर्थ जलले तिमीलाई पनि सबै रोगव्याधिबाट मुक्त राखोस् ।’ नेपालमा पनि हरेक वर्ष यो दिवस मनाएर पानीको महत्व दर्शाउने गरिन्छ । जनसंख्याको तीव्र वृद्धिसँगै मानिस र प्रकृतिका लागि अत्यावश्यक पानीको समस्या अहिले विश्वव्यापी चासो र चिन्ताको विषय बन्न पुगेको छ । विश्वभरका मानिसले उपयोग गर्ने पानी र त्यसको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व पानी दिवस मनाइने गरिए पनि विश्वभर पानीको स्रोतको उचित संरक्षण हुन नसक्दा खानेपानीको हाहाकार भइरहेको छ ।

पानी मानवजीवनका लागि मात्रै नभएर प्रकृति संरक्षणका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको हुन्छ । राष्ट्रसंघका अनुसार विश्वभर ७६ करोड बढी मानिस सुधारिएको पानीको स्रोतको उपयोगबाट वञ्चित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २ अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । यस्तै, एक अर्ब ८० करोड मानिस फोहोर तथा दिसाको अंशमिश्रित पानी पिउन बाध्य भइरहेका छन् । असुरक्षित पानी र कमजोर सरसफाइकै कारण हरेक वर्ष करिब ८ लाख ४२ हजार मानिसले ज्यान गुमाइरहेका छन् ।

एकातिर जलवायु परिवर्तन तथा औद्योगिक प्रदूषणका कारण विश्वव्यापीरुपमा पानीका मुहान सुक्दै गएका छन् भने अर्कातिर नदी, खोलाजस्ता पानीको स्रोतको उचित संरक्षण नगरिँदा मानवीय जीवन कष्टकर बन्दै गएको छ । नेपालमा पानीको उपलब्धता प्रशस्त रहे तापनि पानीको उचित व्यवस्थापन नहुँदा पानीको समस्या दिन–प्रतिदिन बढ्दै गएको छ । विशेष गरी जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानवशरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे जनसाधारणमा चेतना अभिवृद्धि गर्न सकिए राम्रो हुन्छ ।

नेपालको संविधानले हरेक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच कायम हुने गरी स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको छ । आमनागरिकलाई खानेपानी तथा सरसफाइको प्रत्याभूत गर्ने भनिए पनि अपेक्षित सफलता भने हासिल भइरहेको छैन । पछिल्लो समय खानेपानी तथा सरसफाइप्रति जनता केही हदसम्म सचेत भएको पाइन्छ । तर पानीको महत्व बुझाउन एकदिन दिवस मनाएर मात्रै पुग्दैन । पानीको समस्या दिनानुदिन जटिल बन्दै गएको अवस्थामा मानवजीवन र प्रकृति संरक्षणका लागि नभई नहुने पानीलाई सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउन सरकार अग्रसर हुनु जरुरी छ ।
– सजीव सुवेदी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्