प्रभावकारी आर्थिक प्याकेज ल्याऊ



प्रकोपको हिसाबले नेपाल विश्वमा नै जोखिमयुक्त देशको रुपमा चिनिएको छ । नेपालको भौगोलिक बनावटका कारण यहाँ विभिन्न प्रकोपको सामना गर्दै आउनुपरेको छ । नेपालमा चाहे भूकम्प होस्, चाहे हरेक वर्ष खोलानालामा आउने बाढी–पहिरोको प्रकोपबाट निम्तिने विनाशले मुलुकको आर्थिक विकासमा समेत असर गर्ने गरेको छ । राज्यले बेला–बेलामा आइपर्ने विपत्तिको सामना गर्न अपनाउने गरेको सतर्कताले समेत काम गर्न नसक्दा ठूलो जनधनको क्षति हुने गरेको छ ।

हालै बारा र पर्सामा गएको विनाशकारी हावाहुरीका कारण ३१ जनाको ज्यान गएको र ४ सय १३ भन्दा बढी मानिस घाइते भएका छन् । अर्बौं रुपियाँको भौतिक क्षति भएको छ । बाराको फेटा गाउँपालिकामा भएको उक्त विनाशपछि राज्यले देखाएको तत्परतालाई भने प्रशंसा नै गर्नुपर्दछ । त्यस्ता कुनै पनि विपद्का घटना हुँदा राज्य सञ्चालकहरु केन्द्रमा बसेर निर्देशन दिने तर घटनास्थल नपुग्ने रोगमाथि यसपटक ब्रेक लागेको छ । प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरु घटनालगत्तै स्थल विषेशमा नै पुगेर राहत तथा उद्धारमा जुट्नु राम्रो काम हो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिनु उचित हुनेछ ।

अहिले हिमाल, पहाड, तराई सबै क्षेत्रमा उक्त विनाशकारी हावाहुरीबाट पीडित जनताको सहयोगका लागि देखाइएको तत्परताले भने मुलुक कति संवेदनशील छ भन्ने पुष्टि हुन्छ । केन्द्र सरकार, प्रदेश सरकार र विभिन्न संघसंस्था अहिले विपत्मा परेका जनताको पक्षमा उभिएर काम गरिरहेका छन् । अहिले राज्यलगायतका निकायबाट देखाइएको तत्परताले त्यहाँका जनताले राहत नपाउन्जेलसम्म निरन्तरता पाउनुपर्दछ । खासगरी हाम्रो जस्तो मुलुकमा यस्ता विपद्का समयमा चासो देखाउने तर जनताको पक्षमा काम नहुने परम्पराको अन्त्य हुनुपर्दछ ।

विभिन्न समयमा भएका प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुले अहिलेसम्म पनि राज्यका तर्फबाट राहत नपाएको भन्ने गुनासाहरु आउने क्रम रोकिएको छैन । हालैको विनाशकारी हावाहुरीबाट पीडित नेपालीहरुले पनि त्यस्तो नियति भोग्नु नपरोस् । सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

राज्य संयन्त्रको परिचालनले मात्र त्यहाँका जनताले राहत पाउनेछैनन्, राज्यले उनीहरुलाई सम्बोधन गर्न प्रभावकारी आर्थिक प्याकेज ल्याउनुपर्दछ । गरिबीको रेखामुनि रहेका जनतामाथि नै परेको उक्त विपत्तिको सामना गर्न सक्ने सामथ्र्य उनीहरुसँग छैन । त्यसैले त्यहाँका जनताको पीडामा मलहम लगाउन सरकारले राहत प्याकेज ल्याउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्