प्रश्नपत्र आउट गर्नेलाई कडा कारबाही होस्



देशैभर शान्तिपूर्णरुपमा एसईई परीक्षा भइरहेको समाचारको मसी पनि सुक्न नपाउँदै प्रदेश नं. २ मा चौबीसै घन्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षा हुनुभन्दा १२ घन्टाअघि नै सामाजिक सञ्जालमा भाइरल भयो । सोही कारण प्रदेश नं. २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको परीक्षा नै रद्द गर्नुप¥यो । लगातार प्रश्नपत्र बाहिरिन थालेपछि शिक्षा मन्त्रालयले शुक्रबार नै प्रदेश नं. २ मा शनिबारदेखिका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दियो ।

माध्यमिक शिक्षाको ‘आइरन गेट’का रुपमा लिइएको एसईई परीक्षाजस्तो संवेदनशील विषयमा प्रश्नपत्र बाहिरिनु लाजमर्दो कुरा हो । यस्तो घटनाले परीक्षा सकिएका उत्तरपुस्तिकाको सुरक्षामा समेत सन्देह उत्पन्न हुन थालेको छ । प्रश्नपत्र बाहिरिएसँगै प्रदेश नं. २ का २ सय ६२ परीक्षा केन्द्रका ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् । सरकारले परीक्षा स्थगित गरेपछि एसईईका लागि तयारीमा जुट्नुपर्ने विद्यार्थी सडकमा नाराबाजीमा उत्रिएका छन् । आक्रोशित विद्यार्थीले सडक अवरुद्ध गरी सवारीसाधनमा तोडफोड र आगजनी गरेपछि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्याससमेत प्रयोग गरेर असामान्य स्थितिलाई नियन्त्रणमा लिनुपरेको थियो ।

लगातार प्रश्नपत्र बाहिरएपछि अन्य विषयको पनि प्रश्नपत्र बाहिरिएको आशंकापश्चात् शिक्षा मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लामा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रश्नपत्र बाहिरिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई छानबिनको जिम्मेवारी दिइएको छ । देशभरका १ हजार ९ सय ६९ परीक्षा केन्द्रमा यसपटक ४ लाख ७५ हजार परीक्षार्थी छन् । ऐच्छिक विषयका लागि सातवटै प्रदेशमा एकै प्रश्नपत्र रहेकाले कुनै एक प्रदेशमा प्रश्नपत्र बाहिरिए सबै परीक्षा केन्द्रमा असर पर्छ । अत्यन्तै सुरक्षित मापदण्ड अपनाएर तयार पारिएको भनिएको प्रश्नपत्र बाहिरिएको प्रकरण सामान्य होइन ।

परीक्षा नियन्त्रण कार्यालयको सुरक्षण मुद्रण प्रेसमा छपाएर सिलबन्दी गरी प्रहरी र केन्द्राध्यक्षको जिम्मा लगाइएको प्रश्नपत्र बाहिरिएपछि परीक्षा बोर्डमाथि नै शंका उत्पन्न भएको छ । परीक्षा शुरु हुनुभन्दा एक घन्टाअघि प्रहरी कार्यालयबाट निकाल्न र आधा घन्टापहिले मात्रै प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको निगरानीमा सिलबन्दी खोल्न पाइने प्रावधान छ । यति धेरै सुरक्षा मापदण्ड पूरा गरेर खोलिने प्रश्नपत्र १२ घन्टाअघि बाहिरिनु भनेको विश्वासको संकट हो । यस्तो संवेदनशील र विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा खेलबाड हुनु ठूलो अपराध हो । यसको सत्यतथ्य सार्वजनिक हुनै पर्छ ।

प्रदेश नं. २ मा एसईई परीक्षालाई मर्यादित बनाउन प्रदेश सरकार असफल भएको दृष्टान्त हो यो । उसो त प्रदेश नं. २ मा बोरामै चिट संकलन गरिएको, परीक्षा हलमा मोबाइल भेटिएको, आचारसंहिता उल्लंघन गर्ने केन्द्राध्यक्ष नै निलम्बित भएकोजस्ता घटना सामान्य भइसकेका छन् । परीक्षा विद्यार्थीको भविष्यसँग जोडिएकाले उच्छृङ्खल गतिविधि गर्नेहरु स्वतः कारबाहीको भागीदार बन्छन् । एकाध व्यक्तिको बदमासीको कारण सबै विद्यार्थीले मानसिक असर भोग्नुपर्ने नियतिचाहिँ विडम्बनाको कुरा हो । विभिन्न तहको सुरक्षा प्रणाली हुँदाहुँदै पनि प्रश्नपत्र नै बाहिरिने घटनाले शिक्षा क्षेत्रलाई नै धराशायी बनाएको छ ।

नेपालको यस्तो फितलो शिक्षा प्रणालीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नकारात्मक असर पुग्न सक्छ । प्रश्नपत्र बाहिरिएको प्रकरणलाई सामान्यरुपमा लिइनु अर्को मूर्खता हुनेछ । यो ठूलो अपराध हो । यस्तो अपराधमा संलग्न जो भए पनि सत्यतथ्य छानबिन गरी कडा कारबाही गर्नुपर्छ । यति बेला प्रदेश नं. २ का विद्यार्थीलाई परेको पीडाको मापन गर्नै सकिँदैन । तथापि परीक्षा स्थगित भएको आक्रोश सडक र सवारीसाधनमा पोखेर समस्याको समाधान हुने पनि होइन । असामान्य परिस्थितिले विद्यार्थीमा परीक्षाको तयारी गर्ने वातावरण नभए पनि आफ्नो भविष्यसँग जोडिएको विषयमा विद्यार्थीले आत्मसंयम भएर आगामी परीक्षाको तयारी गर्नुको विकल्प छैन ।
– सरस्वती कार्की, सिरहा ।

प्रतिक्रिया दिनुहोस्