लगानी-मैत्री वातावरण बनाउन माग



सरकार, प्रमुख राजनीतिक दलका नेताहरुले वैदेशिक लगानीका लागि गरेको आह्वानअनुसार सरकारले ‘सोकेस’ गरेका ७७ परियोजनामध्ये १७ वटामा लगानी गर्न विदेशी लगानीकर्ता इच्छुक देखिएका छन् । लगानी सम्मेलन विदेशी लगानीकर्तालाई नेपालमा लगानीको राम्रो वातावरण र अवसर रहेको सन्देश दिन सफल भएको सरकारको दाबी रहेको छ । सरकारको दाबीलाई निजी क्षेत्रले पत्याउने आधार तयार गर्दै अघि बढ्नुपर्ने दायित्व पनि सरकारै रहेको छ ।

लगानीको वातावरण बनेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न सरकारले गरेको आग्रहलाई लगानीकर्ता सरकारको भनाइमा आश्वस्त छैनन् । तर लगानीको स्रोत मानिएको निजी क्षेत्रले राजनीतिक–आर्थिक स्थायित्व नभएकाले लगानी–मैत्री वातावरणमा विश्वस्त हुन नसकिएको बताउँदै आएका छन् । स्वदेशी लगानीकर्ताको मनोविज्ञान सकारात्मक नभएसम्म बाहिरका लगानीकर्ताले लगानी गर्दैनन् । औसत बाह्य लगानीकर्ताले नेपालको निजी क्षेत्रसँग सहकार्यमा लगानी ल्याउन चासो राख्नुको कारण यही हो ।

अहिले आन्तरिक लगानीकर्ता चर्कोे ब्याजदरको भारबाट थलिएकोमा उद्यमी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । सरकारले मौद्रिक नीतिको समीक्षामार्फत ब्याज घटाउने भनेको छ । वित्तीय संस्थाहरूको नेतृत्वले खुला बजारमा ब्याजको दर पनि बजारले निर्धारण गर्ने बताउनु र निजी क्षेत्रले सरकारी प्रयासलाई नपत्याउनुले पुँजीको लागत तत्काल न्यूनीकरण हुने सम्भावना कमै मात्र देखिन्छ ।

यो अवस्थाले आन्तरिक लगानीकर्तालाई प्रोत्साहन गर्न सक्दैन । बाहिरबाट आउने लगानीकर्तालाई पुँजीको समस्या नभए पनि श्रम, ऊर्जा, पारवहन, कर प्रणालीका कानुनी तथा नीतिगत व्यवस्थाले प्रभाव पारिरहेको हुन्छ । अर्कोतिर बाह्य र आन्तरिक लगानीकर्ताबीच स्वार्थको द्वन्द्व उत्पन्न हुनसक्छ । सरकारले पारवहनका क्षेत्रमा साना लगानीलाई समेत भित्रिन दिएकोमा स्वदेशका व्यवसायीले विरोध गरेका छन् । यो विरोधको आयतन भोलि अन्य क्षेत्रमा पनि विस्तार हुँदैन भन्ने आधार छैन । खुला बजारमा प्रतिस्पर्धा हुनुपर्छ तर आन्तरिक लगानीको संरक्षणको दायित्वबाट सरकार पन्छिन भने मिल्दैन ।

दुई वर्षअगाडि गरिएको लगानी सम्मेलनमा १४ खर्ब रुपियाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो । तर त्यसको निकै सानो अंश मात्रै लगानी आयो । यस अवस्थामा लगानी भित्र्याउन आवश्यक पर्ने लगानी ऐन बनाउनेदेखि कार्यविधि निर्माणसम्मको काम अब तत्काल गरेर लगानी–मैत्री वातावरण बनाउनुपर्दछ । लगानी सम्मेलनमा देखिएको राजनीतिक सहमति लगानी भित्र्याउन र लगानी बढाउनको लागि उपयुक्त नै छ । यस्तै सहमति र सुझबुझको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्