मख्खै पार्यो विद्यार्थीको कलाले



लमजुङ, (नेस)।
जन्म जिल्ला लमजुङमा आएका त्रिविका उपकुलपति प्राडा. तीर्थ खनियाँले जनविकास कलेजका छात्रछात्राद्वारा प्रस्तुत कलाको मुक्तकण्डले प्रशंसा गरेका छन्। उनले कलेजको नवौं वार्षिक साधारणसभाका आवसरमा प्रस्तुत गरिएको सपना नाटक तथा नृत्य, गीत र गजल मुक्तक वाचन कलाको तारिफ गरेका हुन्।

‘छात्रछात्राले गरेको अभियन र कलाको प्रस्तुतिले म द्रवीभूत भएको छु। यस्तो कलाका पारखी १५÷१६ हजार विद्यार्थी हुने कलेजले पनि उत्पादन गर्न सकेका छैनन्’ –उनले भने। सोही कलेजको डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत छात्र भुवन परियारले लेखन र निर्देशन गरेको सपना नामको नाटक समसामयिक एवम् सामाजिक सन्देशमूलक रहेको दर्शकले बताए। नाटकमार्फत बस यात्राका क्रममा युवतीलाई युवाहरूले गर्ने छेडखानी र युवतीले गरेको प्रतिकार, एकतर्फी प्रेम तथा त्यस्तो आशक्तिको परिणाम देखाइएको थियो। नाटकमा एक एकल महिलाका रूपमा रहेकी आमाका एक मात्र छोरा र एउटै छोरीलाई समाजमा राम्रो मान्छे बनाउन आमाले देखेको सपना, छोराले कुलतमा फसेर जिन्दगी बर्बाद गरेको र आमाको सपना अधुरै रहेर उनले एक्लै प्राण अन्त्य गरेको, उनका छोराछोरीले सुध्रन गरेको र सुन्दर भविष्यका लागि देखेको सपना र त्यसलाई साकार पार्न गरेको प्रयास तर आमाले थाहा नपाउँदै गर्नुपरेको मृत्युवरणको घटनालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए। नाटकमा विद्यार्थी कलाकारहरू आशीष परियार, उषा दनाई, रविना अर्याल, सिर्जना बराल, विक्रम विक, शीला बोहरा, सुस्मिता रावल, मनोज विकले अभिनय गरेका थिए।

यसैगरी, डिप्लोमा दोस्रो वर्षमा अध्ययनरत कामना गुरुङ, ओपी गुरुङ, अस्मिता गुरुङ, रविना गुरुङ र ज्ञानु गुरुङले गर्यौं कान्छा बोल्ने बाहना कौरा नृत्य प्रस्तुत गरेका थिए भने डिप्लोमाकै राधा तामाङले हिजो राति तिमीलाई देखें सपनीमा गीतमा नृत्य गरेकी थिइन्। अपेक्षा जोशीले शिरमा सिरफूलमा नृत्य गरिन् भने सुवास परियारले ढाँट्या भा मरीजाउँ, सालको पात टपरी हुनीलगायतका गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। मजोज विकको मुक्तक प्रस्तुतीले पनि उक्तिकै प्रशंसा पाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्