९३ दिनपछि शुरु भयो हिउँदे अधिवेशन



हेटौंडा ।
पुस १२ गतेबाट दोस्रो अधिवेशन अन्त्य भए पनि त्यसको ९३ दिनपछि प्रदेशसभाको तेस्रो (हिउँदे) अधिवेशन आइतबार हेटौंडामा शुरु भएको छ ।

शुरु प्रदेश–३ सभाको हिउँदे अधिवेशनमा छलफलका लागि प्रदेश सचिवालयमा ३ वटा संशोधन विधेयकसहित ७ वटा विधेयक दर्ता भएका छन् । प्रदेशसभा बैठकमा यसअघि मन्त्रिपरिषद् बैठकले पारित गरेका विषयहरु पेस भए । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनको शुभकामना व्यक्त गर्दै मुख्यन्याधीवक्ताको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेशभित्रका राष्ट्रिय बन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि समितिमा पठाउनुभएको छ । उहाँले नै प्रदेशमा औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउनुभएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि समितिमा पठाउँदा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो । उहाँले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐनलाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कर तथा गैरकर राजस्व सम्बन्धि ऐनलाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्दा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नुभयो । प्रदेशसभा बैठक लामो समयपछि बसेकाले बैठकमा प्रदेशसभाका अधिकांश सदस्यको उपस्थिति थियो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक सोमबारसम्मका लागि स्थगित गर्नुभएको छ ।

प्रदेशसभा बैठकमा राजधानीको विषयले बल्ल प्रवेश पाएको छ । प्रदेशसभा गठनको एक वर्ष नाघिसक्दा पनि राजधानीको विषयले प्रवेश नपाउँदा सरकार र सांसद्को आलोचना भइरहेको बेला राजधानीको विषयले प्रवेश पाएको हो । सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने कार्यविधि सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको परामर्श पढेर सुनाउनुभएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलसमेत सहभागी कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले कार्यविधि तयार गरी प्रक्रिया अघि बढाउने सहमति गरेको हो । प्रदेशसभा नियमावलीअनुसार कार्यविधि तोक्ने अधिकार सभामुखलाई छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले हिउँदे अधिवेशन टुङ्गिनुअघि राजधानीको विषय पनि टुङ्गिने दाबी गर्नुभयो ।

प्रदेशसभा बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश नपाए संसद् अवरुद्ध गर्ने प्रतिपक्ष कांग्रेसको चेतावनीपछि यसबारेको विषयले संसद्मा पहिलोपटक प्रवेश पाएको हो । राजधानीको विषय टुङ्गो लगाएपछि मात्र काम गर्न सहज हुने सांसद्हरु बताउँछन् । यसअघि वर्षे अधिवेशनमा राजधानीको विषय टुङ्गो लगाउने भनिए पनि त्यसो हुन सकेन । शुरु हिउँदे अधिवेशनमा यसबारे टुङ्गो लगाउने विश्वास लिइएको छ ।

राजधानी तोक्ने प्रक्रिया शुरु नगरिएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसद्मा असन्तुष्टि बढेको थियो । राजधानीकै मुद्धाका कारण प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

‘राजधानी सहमतिबाटै’
मुख्यमन्त्री पौडेलले सद्भाव र सहमतिबाट प्रदेश राजधानीको विषय टुंगो लगाउनुपर्ने बताउनुभएको छ । प्रदेशसभामा सुरु हिउँदे अधिवेशनको शुभकामना दिँदै उहाँले सत्तापक्ष र प्रतिपक्षको सहमतिबाट राजधानीको विषय टुङ्ग्याउनुपर्ने बताउनुभएको हो ।
राजधानीको स्थायित्व नटुंगिँदा काम गर्न समस्या भएको बताउँदै उहाँले भन्नुभयो–राजधानीको विषयलाई लिएर अलग हुनुहुन्न । सबै मिलेर सहमतिबाट टुङ्गो लगाउनुपर्छ । राजधानी तोक्ने प्रदेशसभाको विषय भएकाले छलफलबाट अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले राजधानीको विषयमा धेरै चर्चापरिचर्चा भएकोले यसलाई सबै मिलेर प्रदेशसभाबाट छिटै टुङ्ग्याउन सरकार तयार रहेको बताउनुभयो ।

‘राजधानीबारे सत्तापक्ष र प्रतिपक्ष छैनौं’
प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश राजधानीको विषय, विधि, प्रक्रियाबाट टुङ्गो लगाउन माग गर्नुभयो । राजधानीको विषयमा सत्तापक्ष र प्रतिपक्षका रुपमा आफूहरु नभएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रदेशसभा बैठकमा उहाँले दुई तिहाईको सरकारले स्थायी राजधानीको विषय छिटो टुङ्गो लगाउनुपर्ने बताउनुभयो । समृद्ध नेपालको नारामात्र होइन, व्यवहारमा देखाउनुपर्ने उहाँको भनाइ छ । राजधानीबारे निर्णय गर्न नसक्दा सुरक्षा निकायका प्रदेशस्तर हेडक्वार्टर कहाँ रहने भन्ने समस्या भइरहेको उहाँले गुनासो गर्नुभयो ।

नेमकिपा सांसद् सुरेन्द्रराज गोसाईंले प्रदेशसभा कुम्भकर्णझैं निदाएर बसेको आरोप लगाउनुभयो । लामो समयसम्म प्रदेशसभा बैठक बस्न नसकेको प्रसंग कोट्याउँदै उहाँले संघीयताको बिकेन्द्रिकरण सिद्धान्तअनुसार काठमाडौं उपत्यका भन्दा टाढा राजधानी राखिनुपर्ने बताउनुभयो ।

राप्रपा संयुक्तकी सांसद् रिना गुरुङले प्रदेश–३ अन्य प्रदेशको तुलनामा सबै काममा पछाडि परेको आरोप लगाउँदा प्रेमबहादुर तामाङले प्रदेशसभा उल्टो गतिमा अगाडि बढेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्