भूकम्पपीडितलाई सहुलियत ब्याजदरमा ऋण प्रवाह



बेत्रावती,  ग्लोबल आइएमई बैंक लिमिटेडले नुवाकोटका भूकम्पपीडित एवं कृषि तथा उद्यमशील पेशामा आवद्धलाई ब्याज अनुदानको सहुलियत कर्जा वितरण शुरु गरेको छ । पहिलो चरणमा नौ जनालाई उक्त कर्जा सम्झौता गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सम्बन्धित ऋणीलाई चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा श्रेष्ठले भूकम्पले क्षति पु¥याएका संरचनाको पुनःनिर्माण र कमजोर बनेको आर्थिक अवस्था सुधारमा सरकारले सञ्चालनमा ल्याएका सहयोगका कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेकाले त्यसको प्रचारप्रसार तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार भूकम्पले क्षति पुगेका घरनिर्माणमा रु तीन लाख अनुदानसहित कमजोर वर्गलाई थप रु ५० हजार उपलब्ध गराइएकाले त्यसको जानकारी व्यापक बनाउनुपर्ने देखिएको छ ।

नुवाकोटमा उक्त सहुलियत कर्जा कार्यक्रम ग्लोबल आइएमई बैंकले पहिलो पटक शुरु गरेकाले तोकिएको मापदण्ड पूरा गर्नेलाई क्रमशः सेवा उपलब्ध गराइने त्रिशूली शाखाका प्रबन्धक गङ्गाबहादुर रोकाले जानकारी दिनुभयो । बैंकमार्फत पहिलो पटक भूकम्पले लडेका घर अहिलेसम्म बनाउन नसकेका छ जनालाई भूकम्पपीडित निजी आवास निर्माण कर्जा, दुई जनालाई कृषि तथा पशुपक्षी कर्जा र एक जनालाई महिला उद्यमशील कर्जा वितरण गरिएको छ । महिला उद्यमशील कर्जामा छ प्रतिशत र अन्यमा पाँच प्रतिशत ब्याज सहुलियत रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्