शुक्लाफाँटा महोत्सवमा कोदो र मकैको रोटी मुख्य आकर्षण



मनोज भट्ट, महेन्द्रनगर ।
शुक्रबार देखि शुरु भएको शुक्लाफाँटा पर्यटन महोत्सवमा पनि कोदो र मकैको रोटी मुख्य आकर्षण भएको छ । महेन्द्रनगरको सितल होटेलका संचालक डम्बर खडकाले महोत्सव स्थलतिर स्टल राखेका छन् । उनले सुदूरपश्चिमेलीको मौलिक पौष्टिक खाने परिवार कोदो र मकैको रोटी बिक्रि वितरण गरिरहेका छन् । उनले सुदूको मौलिक खाने परिवारको प्रचार प्रसार महत्वको विषयमा स्टल राखेको बताए । उद्घाटनका दिन पनि अतिथि लगायत पर्यटकको उनको स्टलमा घुईचो थियो ।

खडकाले आफुले परम्परागत खाने परिकारलाई बजारीकरण गर्नका लागि कोदो र मकैको रोटीको स्टल राखेको बताए । ‘कोदाको रोटी हाम्रो मौलिक खाने परिकार हो, ‘उनले भने, ‘यसलाई बजारीकरण गर्न सके हाम्रो पहिचान पछि झल्किन्छ ।’

बजारका अखाद्य बस्तुको उपभोगका कारण मानव स्वास्थ्यमा असर पुगेको बताउदै सुदूरको मौलिक खाने परिकारको महत्वका लागि समेत कोदाको रोटी बिक्रि वितरण गरेको बताए ।

उनका अनुसार मकै र कोदाको रोटीसंगै सिस्नुको तरकारी, मुलाको साग, मौलिक अचार समेत उपभोक्तालाई दिईरहेको बताए । पुख्यौली बाजुरा घर भएका खडकाले गाउँबाटै कोदाको आटा ल्याएर रोटी बिक्रि गरिरहेका छन् । खडका अनुसार परापुर्वकालमा सुदूरका पहाडी ७ जिल्लाका स्थानीयले दैनिक कोदाको रोटी खान्थे ।

भौगोलिक हिसाबले पनि पहाडी र उच्च हिमाली जिल्लामा गहुँ नहुने भएपछि स्थानीयले परम्परागत रुपमा कोदो, जैउ, मकैको रोटी खान्थे । ‘पछिल्ला बर्षहरुमा गाउँमा सडक विस्तार, आधुनिकता संगै गहुँ, मैदाको रोटी खाँदै आएका स्थानीले पछिल्ला केही बर्षयता कोदाको रोटी खान छाडेका हुन्, ‘खडकाले भने, ‘कोदाको रोटी र यसको डिडो खानेलाई पनि हेपाह दृष्ट्रिकोणले हेर्दथे ।’

कोदो अमृत सावित भएको उनको भनाई छ । विभिन्न रोगबाट पीडितलाई चिकित्सक स्वास्थ्यकर्मीले कोदाको रोटी र कोदाको आटाबाट बन्ने परिकार खान सुझाव दिएपछि उपभोक्ताले कोदाको रोटी खोजीखोजी खान लागेको उनले बताए । मानव स्वास्थ्यका दृष्ट्रिकोणले समेत कोदाको रोटी र कोदाबाट बन्ने खाने कुनै पनि परिकार उपयुक्त र स्वाथ्यकर हुने स्वास्थ्यकर्मीको भनाई छ ।

कञ्चनपुरका स्वास्थ्यकर्मी शिवराज भट्टले कोदामा मानव स्वास्थ्यका लागि चाहिने पौषिक तत्व प्रसस्त पाईने भएकाले कोदो महत्वपुर्ण परिकार रहेको बताए । उनका अनुसार मधुमेह, पाईल्स, निमोनिया जस्ता विभिन्न रोगबाट बाँच्न समेत कोदो खानुपर्छ । जाडोको समयमा कोदो स्वास्थ्यका लागि लाभदाय हुने भएकाले कोदो र कोदाका परिकार उपभोग गर्न समेत उनले आग्रह गरेका छन् । कोदाको बहुमुखी लाभ भएकाले यसको स्वास्थ्य, आर्थिक दृष्ट्रिकोणबाट महत्व बुझाउनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्