परीक्षा मर्यादित बनाऊ



 

माध्यामिक शिक्षा परीक्षा (एसईई) सुचारु भइरहेका बेला प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं–२मा दुई विषयको परीक्षा स्थगित भएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि विद्याथी आन्दोलनमा उत्रिएका छन् । स्थगित परीक्षाको विरोधमा विद्यार्थीले बारा, विरगञ्ज, धनुषा, सप्तरी लगायतका जिल्लामा सवारी सहित तोडफोड गर्दै सवारी आवागमन समेत अवरुद्ध पारेका छन् ।

धनुषाको सपहीमा २ नं प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगा प्रहार भएको छ भने विद्यार्थीले बाराको जीतपुरस्थित इलाका प्रहरी कार्यालयको गाडीमै आगजनी गरेका छन् ।
प्रहरी र विद्यार्थीवीच ठाउँ–ठाउँमा झडप पनि भएको छ । गत विहीवार विहीवार विज्ञान र शुक्रवार स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र बाहिरिएपछि परिक्षामै जुट्नुपर्ने विद्यार्थी आन्दोलनमा होमिएका छन् ।

शिलवन्दी गरिएका प्रश्नपत्र सुरक्षित देखिए÷भेटिएपनि परीक्षा अगावै प्रश्नपत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि मध्यतराईको माहोल एकाएक परिवर्तन भएको छ । विद्यार्थी पार्टीका पूर्णकालिन सदस्य झैं आन्दोलनमा उत्रिएका छन् । लगातार सामाजिक सञ्जालबाट दुई विषयको प्रश्न छताछुल्ल भएपछि शिक्षा मन्त्रालयले २ नं प्रदेशमा आगामी २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । विहीवार विज्ञान विषयको परीक्षा सकिएपछि परीक्षा रद्द भएको थियो ।

बोर्डका अनुसार प्रदेश २मा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सामेल छन् भने २ सय ६२ परीक्षा केन्द्र तोकिएको छ । माध्यामिक शिक्षा परिषद्ले यो तहको प्रश्नपत्र निकै बलियो सुरक्षा घेराभित्र जनकशिक्षाको प्रेसमा छाप्ने गर्छ । परीक्षाबोर्डले परीक्षा शुरु हुनु दुई साता अघिमात्रै जिल्ला प्रहरी कार्यालयले सुरक्षित राख्ने गर्छ । परीक्षा शुरु हुनु भन्दा तीन दिन अघि नजिकैको प्रहरी कार्यालय र परीक्षा हुनु एक घन्टा अघि मात्र सुरक्षाघेरामा केन्द्राध्यक्षले बुझ्ने गर्छन् । यसरी सुरक्षा सर्तकता अपनाउँदा अपनाउँदै प्रश्न बाहिरिनु गम्भिर लापरवाही हो । यस्तो कदमले परीक्षाको गरिमा घटाउने गर्छ भने प्रश्नपत्र बनाउने कार्यमा खटिएका जनशक्तिको आचरणमा पनि सोझै प्रश्नचिन्ह्र खडा हुन्छ ।

विगतको एसएसली र अहिलेको एसईई परीक्षालाई विद्यालयतहको महत्वर्पूण खुट्किलो मानिने गर्छ । यो तहको परीक्षामा विगतमा पनि प्रश्नपत्रमा त्रुटी भएका, नक्कली विद्यार्थी सामेल भएका, चिट चोर्ने र चोराउनेहरु बाक्लै संख्यामा पक्राउ परेका उदाहरण प्रशस्तै थिए । यसपटकदेखि परीक्षाको अभ्यास संघिय ढाँचामा बदलिएको छ । प्रदेश अनुसार प्रश्नपत्र छपाई गरीएको छ भने ६ वटा विषयका फरक–फरक बनाइएको छ । प्राविधिक र संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र रहने छन् । परीक्षालाई समय सापेक्ष बदल्दै ग्रेडिङ प्रणालीमा रुपान्तरण पनि गरिएको छ तर परीक्षासँग जोडिएका प्रवृति र बेथिति पुरानै छन् ।

२ नं प्रदेशको घटनाले प्रदेशलाई परीक्षा सञ्चालन गर्ने जिम्मेवारी सुम्पिनु हतार भयो भन्ने बहस पनि हुन थालेको छ । यो तहको परीक्षालाई आवश्यकता भन्दा बढी हाउगुजी बनाइदा पनि पुराना बेथिती तोडिन सकेका छैनन् । परीक्षालाई मर्दादित र अनुशासित बनाउन संघ र प्रदेशले पहल गर्नै पर्छ तर विद्यार्थी र अभिभावक पनि अनुशासित नभएसम्म बेथितीलाई जरै उखेल्न गाह्रो छ । एकले अर्कालाई देखाएर पन्छिनु मात्रै दीर्घकालिन समाधान हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्