रूस–नेपाल मित्रताको बाटोमा



मास्को। रूसको राजधानीस्थित राष्ट्रिय जनजाति भवनमा ‘रूस–नेपाल मित्रताको बाटोमा’ भन्ने विषयवस्तुमा गोलमेच सम्मेलन हालै सम्पन्न भयो। विशेष अतिथिका रूपमा मास्कोस्थित नेपाली राजदूतावासका उपनिकाय प्रमुख खिमानन्द भुसालको उपस्थिति रहेको थियो। आयोजकका तर्फबाट रूस–नेपाल सहयोग तथा मैत्री समाजको संरक्षक परिषद्का उपाध्यक्ष एभ्गेनीको जोरेजोभले सम्मेलनमा उपस्थितहरूको स्वागत गर्दै नेपालमा गतवर्ष रूसका जनकवि रासुल हाम्जातोभको प्रतिमा स्थापना भएबाट रूस–नेपाल सम्बन्धको विकासमा उत्प्रेरणा जागेको बताउनुभयो।

विशेष अतिथि खिमानन्द भुसालले सोभियत संघले नेपालको भौतिक विकास तथा बौद्धिक विशेषज्ञहरूको तयारीमा पुर्याएको योगदान नेपालीहरूले कहिल्य नबिर्सने उद्घोष गर्नुभयो। दागेस्तानी कवि रासुल हाम्जातोभको प्रतिमा अनावरण कार्यक्रममा भाग लिन नेपाल पुग्नुभएका दानेस्तानका विश्वविख्यात जनकविका भतिजा, रूस महासंघका राष्ट्रपतिअन्तर्गत दागेस्तान गणतन्त्रको स्थायी प्रतिनिधिका प्रथम सहायक गाम्जात गाम्जातोभले नेपाल र दागेस्तानका पहाड मात्र उस्तै नभई मानिसहरूको मनोभावनासमेत समान रहेको जनाउनुभयो। उहाँले नेपालमा पाइएका आतिथ्य सत्कारको प्रशंसासमेत गर्नुभयो। दागेस्तानको स्थायी प्रतिनिधिका सहायक हाजिमुरातका ज्लाएभले आफूलाई नेपालको यात्रा गर्ने अवसर नमिले पनि भविष्यमा अवश्य नेपाल पुग्ने चाहना व्यक्त गर्नुभयो।

सोही अवसरमा नेपालका लागि रूसका पूर्वराजदूत सेर्गेई भेलिच्किनले रूस–नेपालबीच सम्बन्धका विविध पक्षका साथै बुद्धको देशका जनताका शान्तिप्रिय चरित्रको सुपरिणामको ज्वलन्त उदाहरणसहित नेपालबारे आफ्नो गहन अध्ययनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभ, काल्मिकिया गणतन्त्रका स्थायी प्रतिनिधिका सल्लाहकार भालेरीको शाएभ, रूसको सामाजिक सदनका सदस्य एवं फार्मरहरूको संघका अध्यक्ष अलेक्सान्द्र सिपुलिन, दागेस्तानकी नृतकी रुभाएत लातिनोभा, रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष दिनानाथ राजभण्डारी, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष शिव भुर्तेलले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्