एसईई दिने छात्राहरुको समस्या



यही चैत्र १० गतेदेखि शुरु भएको एसईई परीक्षा जारी छ । यो परीक्षामा कुल ४ लाख ७५ हजार ३ विद्यार्थीमध्ये आधाभन्दा बढी छात्रा सहभागी छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि फलामे ढोकाको रुपमा लिइने यो परीक्षामा सामेल हुन ग्रामीण क्षेत्रका अधिकांश विद्यार्थीले घर छोड्नुपर्ने बाध्यता छ । परीक्षा केन्द्र घरभन्दा टाढा हुने र आफू अध्ययनरत विद्यालय नभई अन्यत्र विद्यालयमा परीक्षा केन्द्र हुने भएकाले विद्यार्थीलाई बसोबास, आउजाउको समस्याले पिरोलेको छ । छात्रको तुलनामा छात्राहरुलाई अझ बढी समस्या भएको पाइएको छ । हुम्लामा हिमपातका कारण एसईई दिने विद्यार्थी समस्यामा परेको खबर आएलगत्तै अछाममा चिट लुकाउने आशंकामा महिनावारी हुँदा प्रयोग गरिने प्याड लैजान नदिएका कारण छात्रा समस्यामा परेको खबर सार्वजनिक भएको छ । अन्यत्र जिल्लामा पनि घर छोडेर परीक्षा दिन आएका छात्राहरुमा यो समस्या छ ।

सुन्दा साधारणजस्तो लागे पनि छात्राहरुको लागि यो समस्याले परीक्षामा नै असर पारेको छ । घर छोडेर परीक्षा दिन बसेका कतिपय छात्राहरुलाई परीक्षाको तयारीमा भन्दा पनि परीक्षा दिँदै गर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने होला भन्ने चिन्ताले सताएको पाइएको छ । यस्तो बेला परीक्षामा सामेल शिक्षक–शिक्षिकाहरुको सहयोग नपाएको गुनासोहरु पनि आइरहेको छ । परीक्षाको लागि मात्र घर छोड्नुपरेको समयमा खाने, बस्ने तथा महिनावारी हुँदा अपनाउनुपर्ने सावधानीबारे पर्याप्त पूर्वतयारी भएको पाइँदैन । अछामको एक छात्रालाई परीक्षा हलभित्र छिर्दा प्याड लान नदिएको र परीक्षामा सामेल भएको केही मिनेटमै महिनावारी भएकाले आफू समस्यामा परेको खबरले पनि एसईई परीक्षाको लागि आएका छात्राहरुको समस्या इंगित गर्छ ।

महिनावारी हुँदा छात्राहरु शारीरिकरुपमा मात्र हैन मानसिकरुपमा पनि कमजोर भएको देखिन्छ । परीक्षा केन्द्र टाढा भएको कारण घर छोड्न बाध्य भएका छात्राहरु स्वयम् आफ्नो सुरक्षाको लागि पनि विशेष चनाखो हुनुपर्ने भएकाले परीक्षाको तयारीमा पर्याप्त ध्यान पु¥याउन सक्दैनन् । छात्राहरुमा देखिएको यो समस्या समाधानका लागि परीक्षा अवधिभर शिक्षक, शिक्षिका तथा सुरक्षाकर्मी मात्र हैन अभिभावकले समेत विशेष ध्यान दिनुपर्छ ।

खास गरी सुरक्षाकर्मीहरुले परीक्षाका लागि छात्राहरु बसोबास गरेको क्षेत्रमा विशेष निगरानी बढाउनुपर्ने, परीक्षा केन्द्रमा शिक्षक–शिक्षिकाहरुले छात्राहरुका लागि महिनावारी हुँदा तुरुन्त प्याड उपलब्ध हुने व्यवस्था मिलाउने, उचित शौचालयको व्यवस्थापन गरिदिने, अभिभावकहरुले पनि नियमित हालखबर बुझेर कुनै समस्या भएमा तुरुन्त समाधान गरिदिन पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्