हुम्लामा पुनः हिमपात, एसइई परीक्षार्थी समस्यामा



काठमाडाैं । चैतको दोस्रो साता हुम्लामा पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ ।

हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए । जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरु भएको छ ।

चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ । सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ । जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसइई परीक्षा दिने विद्यार्थीलाई समस्या बनाएको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्