प्रदेशको राजधानी कहिले ?



प्रदेश सरकार गठन भएको एक वर्ष बितिसक्दासमेत सातवटा प्रदेश सरकारमध्ये अझै चारवटा प्रदेशले स्थायी राजधानी र नामकरण टुंगो लगाउन सकेका छैनन् । स्थायी राजधानी र नामकरणको निर्णय गर्न प्रदेश सरकार स्वतन्त्र भए पनि अझै सहमति जुट्न सकेको छ्रैन । साझा सहमति जुटाउने नाममा राजधानीको टुंगो लगाउन ढिलासुस्ती हुँदै आएको छ । स्थायी राजधानी नहुँदा जनप्रतिनिधि र कर्मचारीको मानसिकता पनि अस्थायी खालको भएको छ । अस्थायी राजधानीमा भौतिक पूर्वाधार निर्माणको काममा कठिनायी भएको छ भने प्रशासनिक काममा पनि अवरोध पुगेको छ ।

सातमध्ये तीनवटा प्रदेशले प्रदेशको स्थायी राजधानी र नामकरण सर्वसम्मत ढंगले टुंगो लगाइसकेका छन् तर चारवटा प्रदेश सरकारले भने सक्रियता देखाएका छैनन् । प्रदेशसभा सदस्यहरुलाई आ–आफ्नो ठाउँमा स्थायी राजधानी राख्नुपर्ने स्वार्थ छ । यता प्रदेश सरकारमा निर्णय गर्ने अधिकार हुँदाहुँदै पनि केन्द्र सरकारको पर्खाइमा बसेका छन् । प्रश्न उठेको छ– एक वर्षमा स्थायी राजधानी र नामकरण टुंगो लगाउन नसक्ने प्रदेश सरकारले बाँकी काम के गर्ला ? राजधानीको विषयमा बहस एवम् छलफल हुनु अस्वाभाविक होइन । तर संघीयताको मर्म र भावनाअनुसार प्रदेशभित्रका सबै नागरिकलाई सेवाप्रवाह गर्न सहज हुने स्थानको छनोट गर्नुपर्ने हुन्छ ।

प्रदेश नम्बर २ मा दुई तिहाइ बहुमत प्राप्त सरकार भए पनि अझैसम्म स्थायी राजधानी र नामकरणको विषयमा सहमति जुट्न सकेको छैन । अन्य प्रदेशमा पनि समस्या उस्तै खालका छन् । प्रदेश नम्बर ३ मा नेकपाको दुई तिहाइ बहुमत भएर पनि नाम र स्थायी राजधानीको टुंगो लाग्न सकेको छैन । प्रदेश सरकारको केन्द्रमुखी मानसिकता र राजनीतिक दलको पनि आ–आफ्नो स्वार्थ भएको कारणले समेत महत्वपूर्ण विषयमा न सहमति जुटन सकेको छ, न संविधानअनुसार मतदानबाट टुंगो लाग्न सकेको छ ।

समयमा प्रदेशको राजधानीको टुंगो लाग्न नसक्दा नागरिकहरुमा निराशा बढ्दै गएको छ । नामकरण र केन्द्रको टुंगो लगाउनुपर्ने प्रदेशसभाका सदस्यहरु पनि गम्भीर बन्न सकेका देखिँदैनन् । स्थायी राजधानी र केन्द्र तोक्ने विषयमा आएका समस्याको सही समाधान गर्नु प्रदेश सरकारको काम हो । बहानाबाजी गर्ने, सहमतिको नाममा वर्षौं नामकरण र केन्द्रको टुंगो नलगाउनु सकारात्मक पक्ष मान्न सकिँदैन । त्यसैले चारवटा प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको केन्द्र टुंगो लगाउने विषयमा गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्