बसमा लुकाएर कुखुराको मासु भित्र्याउन थालियो



नेपाल समाचारपत्र
पर्वत
साविकको धौलागिरी अञ्चलमा बस र ट्रकमा बोरामा लुकाईछिपाई मासु आयात गरेको पाइएको छ। छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धौलागिरीमा कुखुरा आयातमा रोक लगाइएपछि व्यवसायीले तयारी मासु बोरामा लुकाएर आयात गरेका हुन्।

धौलागिरी अञ्चलको प्रवेशबिन्दु पर्वतको डिमुवामा बसमा चेकजाँच गर्दा शुक्रबार दिउँसो बोरामा लुकाएर ल्याउँदै गरेको छ बोरा तयार मासु जफत गरिएको छ। ना ६ ख ७१८० नम्बरको बसमा लुकाएर बिक्रीका लागि मुस्ताङ लैजादै गरेको मासु डिमुवामा प्रहरीले जफत गरेको हो। पोखराबाट बिक्रीका लागि लैजाँदै गरेको २ सय किलोभन्दा बढी मासु जफत गरेर नष्ट गरिएको पर्वत प्रहरीले जानकारी दिएको छ। जफत गरिएको मासु मोदी गाउँपालिकाका जनप्रतिनिधि, पशु प्राविधिक र प्रहरीको रोहबरमा नष्ट गरिएको छ।

केही दिन यता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धौलागिरीका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको थियो। पोखरा– बागलुङ सडकको धौलागिरी प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पन्छीजन्य वस्तु आयातमा रोक लगाइएको कुस्मा नगरपालिकाका पशु चिकित्सक रामजीप्रसाद पौडेलले जानकारी दिनुभयो। कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ।

पर्वत जिल्ला कुखुराको मासुमा आत्मनिर्भर भएपछि पर्यटकीय सिजन भएका कारण मुस्ताङ र म्याग्दीका पर्यटकीय क्षेत्रमा पोखरा, चितवन लगायतका जिल्लाबाट ठुलो मात्रामा कुखुरा र अण्डा बिक्री वितरण हुँदै आएको छ। पछिल्लो समय मुक्तिनाथ, उपल्लो मुस्ताङ, जोमसोम, म्याग्दीको पुनहिल, कास्कीको घान्द्रुकलगायतका पर्यटकीय गन्तव्यमा उल्लेख्य मात्रामा आन्तरिक पर्यटकहरू जाने गरेका छन्। आन्तरिक पर्यटकको रोजाईमा मासु समेत पर्ने भएकाले ठूलो मात्रामा बिक्री बितरण हुँदै आएको व्यवसायी बताउँछन्। पर्यटकीय सिजनमा बर्डफ्लु देखिएपछि व्यवसाय धरापमा परेको चिन्ता व्यवसायीको छ।

डिमुवाबाट बुधबारमात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई वटा गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको थियो। कुस्मा र म्याग्दी तथा जोमसोमतर्फ बिक्रीका लागि लगिँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको थियो। कास्कीमा बर्डफ्लू देखिएपछि पर्वत सहितका छिमेकी जिल्ला पनि उच्च जोखिममा रहेका छन। छिमेकी जिल्लाबाट पन्छाीजन्य उत्पादनहरू बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्